बेलायतमा महाकवि देवकोटा जयन्ती भव्य रूपमा मनाइयो

कोमल मल्ल –
लन्डन, १९ अक्टोबर। बेलायतमा रहेका नेपालीहरूको सबैभन्दा जेठो साहित्यिक संस्था, नेपाली साहित्य विकास परिषद् युकेले ११६औँ महाकवि देवकोटा जयन्ती प्रवचन, गीत-सङ्गीत प्रस्तुति, स्वागत सम्मान र कविता वाचनलगायतका कार्यक्रमहरू गरी भव्य रूपमा मनायो।

वेस्ट लन्डनको एक्टनस्थित एबीआई कलेजमा आयोजित समारोहमा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै परिषद्का वरिष्ठ प्रमुख सल्लाहकार तथा यति संस्थाका पूर्वअध्यक्ष डा. राघवप्रसाद धिताल (ओबीई)ले महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपालका अमूल्य निधि भएको बताए। उनले भने, “महाकविले भाषा र साहित्यको शिखरलाई उच्च बनाएका मात्र होइनन्, शिक्षामन्त्रीको रूपमा अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गरी राष्ट्रको ख्याति र प्रभाव बढाएका थिए।”

डा. धितालले आफूले महाकविलाई प्रत्यक्ष भेटेको ऐतिहासिक क्षण सम्झँदै नेपाली साहित्यलाई विश्वस्तरको मानकमा पुर्‍याउने काम महाकविको योगदानले सम्भव भएको र यो हाम्रा लागि गर्वको विषय भएको बताए। उनले बेलायतमा नेपाली भाषा, साहित्य र कला जस्ता नेपाली पहिचानलाई जीवन्त राख्न परिषद्ले गरेको प्रयासको प्रशंसा गरे।

समारोहमा नेपालबाट पाल्नुभएका विशिष्ट अतिथि पुष्पप्रसाद लुइटेलले सम्बोधन गर्दै बेलायतमा नेपाली साहित्य विकास परिषद् युकेले लामो समयदेखि विभिन्न साहित्यिक गतिविधिमार्फत नेपाली भाषा र साहित्यको समृद्धिमा ऐतिहासिक भूमिका निर्वाह गरेकोमा खुशी व्यक्त गरे। उनले आफू सम्मानित हुन पाउँदा परिषद्को यात्रा सधैँ सवल र सफल रहने विश्वास व्यक्त गरे। साथै, साहित्य, सङ्गीत र प्रवचनको मिश्रणले भरिएको यो देवकोटा जयन्ती कार्यक्रमले भावी पुस्तालाई प्रेरणा दिने बताए।

समारोहमा यति नेपाली एसोसिएसनका अध्यक्ष टङ्क भट्टराईले भावुक हुँदै आफ्नो बुबाले पाँच वर्षको उमेरमा आफूलाई मुनामदन को कथा सुनाएको सम्झना गरे। उनले महाकवि देवकोटाका अनुकरणीय कृतिका कारण नेपाल विश्व साहित्यमा विशिष्ट साहित्यकारहरूसँग तुलना हुने र ठूला देशहरूसँग गनिने गरेको बताए।

सभापतिको आसनबाट बोल्दै परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले बेलायतमा नेपाली साहित्य विकास परिषद् युकेले सन् १९९५ देखि नै आदिकवि भानु जयन्ती, महाकवि देवकोटा जयन्ती लगायतका साहित्यिक गतिविधिहरूलाई तीव्र गतिमा अगाडि बढाउँदै आएको बताए। उनले बेलायतमा नेपाली भाषा र साहित्यको विकासका लागि झन्डै तीन दशकअघि परिषद्को स्थापना गर्ने संस्थापक तथा निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहको योगदान अतुलनीय रहेको उल्लेख गरे। साथै, महाकविको असीमित योगदानले नै नेपाली साहित्य विश्वस्तरमा गनिन योग्य भएको उनको भनाइ थियो।

यसअघि स्वागत मन्तव्य राख्दै परिषद्का वरिष्ठ सह-अध्यक्ष तथा यति संस्थाका निवर्तमान अध्यक्ष कवि ध्रुव केसीले बेलायतमा नेपाली भाषा र साहित्यको संरक्षण र सम्वर्धनमा परिषद्ले ऐतिहासिक भूमिका निर्वाह गरेको बताए। उनले महाकवि देवकोटाको नेपाली साहित्यमा अतुलनीय योगदान रहेको उल्लेख गरे।

कार्यक्रम सञ्चालन गर्दै परिषद्का महासचिव साहित्यकार डा. सुधा श्रेष्ठले हरेक वर्ष तिहारको आरम्भसँगै परिषद्ले मनाउँदै आएको महाकवि देवकोटा जयन्तीले बेलायतमा रहेका सर्जकहरूलाई थप प्रेरणा र ऊर्जा प्रदान गर्ने गरेको बताए।

राष्ट्रिय गान र महाकविको तस्बिरमा माल्यार्पणबाट शुरू भएको समारोहमा जिएनजी आन्दोलनमा ज्यान गुमाउने ज्ञात-अज्ञात सहिदहरू तथा साहित्य चौतारीका संस्थापक साहित्यकार कवि वासुदेव शर्माको चीरशान्तिका लागि एक मिनेट मौन धारण गरिएको थियो।

समारोहको दोस्रो चरणमा मंगल धुनमा परिषद्का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्ल, डा. राघवप्रसाद धिताल, कवि ध्रुव केसी, खगेन्द्र नेपाली र हरिसिंह थापाले नेपालबाट आउनुभएका साहित्यकार पुष्पप्रसाद लुइटेल तथा नवनिर्वाचित यति नेपाली एसोसिएसनका अध्यक्ष टङ्क भट्टराईलाई ब्याज, खादा, टोपी र परिषद्को लोगो लगाएर स्वागत सम्मान गरे। साथै, साहित्यकार पुष्पप्रसाद लुइटेललाई विशिष्ट सम्मानपत्र प्रदान गरिएको थियो।

समारोहमा सारङ्गी र मादलमा मंगल धुन, महाकविका रचनाहरूमा आधारित धुन र देउसी-भैलो गीतहरू परिषद्का सल्लाहकार तथा कोसेलीका संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापा, परिषद्का सह-अध्यक्ष बसन्त रायक्षेत्री र वरिष्ठ कोषाध्यक्ष कलाकार तथा कवि मनोज अन्जानले प्रस्तुत गरे।

साहित्य र गीत-सङ्गीतको मिश्रण रहेको समारोहमा कविता वाचन गर्ने कविहरूमा बसन्त रायक्षेत्री, हरिसिंह थापा, ध्रुव केसी, खगेन्द्र नेपाली, मदन थापा, मनोज अन्जान, कृष्ण बजगाई, रेशम अर्याल, डा. सुधा श्रेष्ठ, शुष्मा भट्टराई र कोमल मल्ल थिए। साथै, वासु सापकोटा, गंगा लिगल, घनबहादुर थापा र सुरेशजङ्ग शाहका कविताहरू वाचनका लागि प्राप्त भएका थिए।

सहभागिता र सहयोगका लागि आभार प्रकट गर्दै सभापति अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले वरिष्ठ प्रमुख सल्लाहकार डा. राघवप्रसाद धिताल (ओबीई), डा. जनककुमारी धिताल, वरिष्ठ सह-अध्यक्ष ध्रुव केसी, सल्लाहकार एबीआई कलेजका प्रोप्राइटर कृष्ण भट्ट, सल्लाहकारहरू खगेन्द्र नेपाली, दौलत राई, हरिसिंह थापा, ओमेन एसोसिएसनकी अध्यक्ष आरती श्रेष्ठ, शुष्मा भट्टराई, बसन्त रायक्षेत्री, वरिष्ठ कोषाध्यक्ष मनोज अन्जान, पूर्व कार्यकारिणी सदस्यहरू ज्ञानेन्द्र राउत, कोहिनूर मल्ल र सितु खरेललाई धन्यवाद ज्ञापन गरे।





Comments

comments

133800