नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। नेपालीहरूको महान् चाड विजया दशमी तथा शुभ दीपावलीको अवसरमा कोलोराडोमा बसोबास गर्ने नेपालीभाषीहरू एक ठाउँमा जम्मा भई एकआपसमा शुभकामना आदान-प्रदान, देउसी-भैलो र सांस्कृतिक कार्यक्रमका साथ महान् चाड मनाएका छन्।
नेपालीहरूको साझा संस्था रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालको आयोजना तथा यहाँका सबै नेपालीभाषीहरूको सहभागितामा यही अक्टोबर १९ तारिख, आइतबार, नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा शुभकामना आदान-प्रदान, देउसी-भैलो र सांस्कृतिक कार्यक्रमका साथ दशैं-तिहार शुभकामना कार्यक्रम सम्पन्न भएको हो।
नेपालीभाषीहरूबीच भाषा, संस्कृति, पहिचान र रीति-रिवाजलाई निरन्तरता दिँदै आएको साझा संस्था रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालले हरेक वर्ष दशैं-तिहार शुभकामना साँझ कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष भने मातृभूमि नेपालमा हालै भएको जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्मान र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सांस्कृतिक साँझ कार्यक्रम स्थगित गरी एकता, भाइचारा र संस्था सुदृढीकरणका लागि शुभकामना आदान-प्रदान, देउसी-भैलो र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो।
जन्मभूमि र कर्मभूमिको राष्ट्रिय गान गाउँदै सुरु गरिएको कार्यक्रम दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको थियो। कार्यक्रममा रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालकी प्रथम महिला अध्यक्ष नीलम श्रेष्ठको प्रमुख आतिथ्य, हेल्पिङ ह्याण्डका अध्यक्ष नारायण श्रेष्ठ र समाजसेवी प्राध्यापक डा. विजयराज शर्माको विशेष आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि र विशेष अतिथिहरूले संयुक्त रूपमा पानसमा बत्ती बालेर गरेका थिए।
कार्यक्रममा मातृभूमि नेपालमा हालै भएको आन्दोलनमा ज्यान गुमाएका वीर सपूतहरूको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो। संस्थाका कार्यसमिति पदाधिकारीहरूले प्रमुख अतिथि नीलम श्रेष्ठलाई सम्मान गरेका थिए भने विशेष अतिथिहरूलाई खादा र पुष्पगुच्छाले स्वागत गरिएको थियो। साथै, प्रमुख अतिथि, विशेष अतिथि र अन्य अतिथिहरूले आ-आफ्नो मन्तव्य राख्दै महान् चाडको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रमको दोस्रो चरणमा गीत-सङ्गीतसहितका मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको थियो। जहाँ स्मृति पाण्डेलगायतका कलाकारहरूले गीत र नृत्य प्रस्तुत गरेका थिए भने मनोजकाजी तुलाधरले कुशलतापूर्वक स्याक्सोफोन बजाएर दर्शक-श्रोताको मन जित्न सफल भएका थिए। कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न सहभागीहरूबीच क्विज प्रतियोगिता पनि आयोजना गरिएको थियो।
संस्थाकी अध्यक्ष आकृति राईको अध्यक्षतामा सम्पन्न कार्यक्रम संस्थाका बोर्ड अफ डिरेक्टर विष्णु विवेकले सञ्चालन गरेका थिए। उपाध्यक्ष हरि गुरुङले कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए। कार्यक्रमको अन्त्यमा संस्थाका पदाधिकारीहरूले घर-घरमा तयार पारिएका सेलरोटीलगायतका मिठा परिकार वितरण गरेका थिए।