काठमाडौं, कात्तिक ३, २०८२ – महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जयन्तीका अवसरमा त्रिमूर्ति निकेतनले सञ्चारग्राममा विशेष काव्यसभा र माल्यार्पण कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रममा त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईले महाकवि देवकोटाको पूर्णकदको सालिकमा माल्यार्पण गर्नुभयो। साथै, उहाँले कविशिरोमणि लेखनाथ पौड्याल र नाट्यसम्राट् बालकृष्ण समको सालिकमा पनि माल्यार्पण गर्नुभएको थियो।
कार्यक्रममा कविहरू ललिता दोषी, यादव भट्टराई, भगवती बस्नेत र रश्मि रिमालले आ-आफ्ना कविता वाचन गर्नुभएको थियो। काव्यसभाले उपस्थित साहित्यप्रेमीहरूलाई नेपाली साहित्यको समृद्ध विरासतप्रति गौरवान्वित बनायो।
कार्यक्रममा बोल्दै त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौड्याल काव्य सभाका संयोजक प्रा.केशव सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ, कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्ति अर्थात् कविशिरोमणि लेखनाथ, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि देवकोटाले देखाएको साहित्यिक बाटोमा हिँड्नु नै उहाँहरूप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो।
त्रिमूर्ति निकेतनको स्थापना सन् २०६१ मा नइ प्रकाशनको संयोजनमा कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानार्थ गरिएको हो। यो संस्था नेपाली साहित्यको संरक्षण र प्रवर्द्धनमा सक्रिय रहँदै आएको छ।
महाकविको जीवनी
महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपालमा जन्मनु अभिशापजस्तै थियो। नेपालमा उनलाई बुझ्ने मानिस त्यति थिएनन्। नेपालमै जन्मेकाले उनलाई मानसिक तनाव भएको थियो। मानसिक आघातको सिकार भएकाले उनलाई राँचीसमेत लगिएको थियो। उपचारका क्रममा डा. बर्कले हिलले भनेका थिए, ‘देवकोटाजस्तो मानिस नेपालमा जन्मनुहुन्न। उनी नेपालमा जन्मनु भूगोलको गल्ती हो।’
देवकोटा यति ठूला कवि थिए कि उनी कविहरूका पनि कवि अर्थात् महाकवि थिए। भारतीय महापण्डित डा. राहुल साङ्कृत्यायनले भनेका थिए, ‘मैले देवकोटालाई मानवअवतारका रूपमा लिएको छु।’ साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निरालासँग बराबर एक जना देवकोटा हुन् भनेका थिए।
लक्ष्मीप्रसाद देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते शुक्रबार काठमाडौँ, डिल्लीबजारको झिँगटी घरमा भएको थियो। उनको जन्मस्थानलाई धोबीधाराको कुमारीथान भनिन्थ्यो। उनको न्वारानको नाम तीर्थमाधव देवकोटा हो। तर तिहारको लक्ष्मीपूजामा जन्मेकाले उनलाई लक्ष्मीप्रसाद भनियो।
तीलमाधव देवकोटा र अमरराज्यलक्ष्मी देवकोटाका छ भाइ छोरामध्ये लक्ष्मीप्रसाद साइँला छोरा थिए। लक्ष्मीप्रसादका सात जना दिदीहरू थिए। उनी आफ्ना बाबुआमाका परम भक्त र दाजुहरू र दिदीहरूका अति आज्ञाकारी थिए।
देवकोटा जन्मेदेखि नै रोगी थिए। उनको जन्मपछि उनको घरमा अनेक कष्टहरूको प्रवेश भइरहन्थ्यो। उनको घरको व्यवस्थापकीय ढाँचा अत्यन्त दयनीय थियो। साथै, उनको घरले गरिबीको रेखा नाघ्न सकेको थिएन। त्यसैले उनले सानैमा भन्थे, ‘म अङ्ग्रेजी पढ्छु र धेरै पढेपछि ट्युसन गरेर पैसा कमाउँछु।’
देवकोटाले बाल्यकालमा नै अमरकोश घोकेका थिए र स्तोत्रमाला पढेका थिए। उनी सानैदेखि आफ्ना बाबुका कविता साफी गर्थे। बाबुका कविता साँर्दासाँर्दै उनमा साहित्यको रस बस्न थाल्यो। उनलाई उनका बाबुले पण्डित बनाउन खोजेका थिए। तर परिवारले त्यस विचारको विरोध गरेपछि देवकोटालाई अङ्ग्रेजी पढाउन दरबार स्कूलमा भर्ना गरियो।
देवकोटा दरबार स्कूल पढ्दा प्रायः दौरा, सुरुवाल र टोपी लगाएर जान्थे। उनको हाउभाउ, मिजास र स्वभाव देखेर उनका साथीहरूले उनको गिल्ला गर्थे। तर उनी निर्भीकताका हर्कुलस थिए। उनले आफ्नो रुचि साथीहरूमाझ प्रस्तुत गर्थे। तैपनि साथीहरूले उनको खिल्ली उडाउन छाड्दैनथे। स्कूल पढ्दैदेखि उनी साथीहरूलाई कविता सुनाउँथे। उनका प्रायः साथीले ती कविता देवकोटाले नै लेखेका हुन् भनेर स्वीकार्दैनथे। यसै क्रममा एक दिन सबै विद्यार्थीले उनको बेइज्जत गर्ने हिसाबले कविता लेख्ने परीक्षा लिए। उनले सबै विद्यार्थीमाझ कविता लेखे। त्यसै घडी शिक्षकहरूले उनलाई ‘कोपिलाउँदो कवि’को दर्जा दिए।
देवकोटाले आफ्ना बाबुका कविता पढेर नै कविता लेख्ने प्रेरणा पाए। उनले कविशिरोमणि लेखनाथ पौड्यालका कविता पनि सानैमा पढेका थिए। दस वर्ष नपुग्दै उनले कविता लेखे। त्यतिबेला आफ्नी जेठी भाउजू सोमकुमारीको व्यथामा डुबेर ‘म त अभागी पो भएँ’ शीर्षकमा कविता लेखेका थिए। उनले छिप्पिँदै जाँदा वर्ड्सवर्थ र सेलीजस्ता पाश्चात्य कविहरूको प्रभावमा पनि कविता लेखनले गति लियो।
देवकोटा टुप्पीमा डोरी कसेर पढ्थे। अथवा, उनले पढ्न थालेपछि किताबमा नै बास बस्थे। उनको पढाइ राम्रो भएकाले दरबार स्कूलमा आठौँ कक्षाबाट एकैपटक दसौँ कक्षा पढे। विविध प्रपञ्चका कारण उनले १७ वर्षको उमेरमा मात्र म्याट्रिकुलेसनको परीक्षा दिए। त्यसबेला नेपालमा दस कक्षापछिको परीक्षाको व्यवस्था थिएन। त्यसैले उनले भारतको पटनाबाट परीक्षा दिए।
देवकोटाले त्रिचन्द्र कलेजमा आइएस्सी पढे। आइएस्सी पढ्दा लेखेको ‘वसन्तषोडसी’ शीर्षकको कविता ‘लक्ष्मी, टीसी कलेज, नेपाल’का नामबाट गोरखापत्र साप्ताहिकमा छापिएको थियो। त्यसैबेला उनले घरमा ट्युसन पनि पढाउन थाले। उनले प्राइभेट परीक्षार्थीका रूपमा भारतको पटना विश्वविद्यालयबाट बीए र बीएल पास गरे।
पटनामा बीएल पढ्दा देवकोटामा रोमान्सको हरियाली पलायो। उनी केटीप्रेमीका रूपमा पनि देखिए। केही सुन्दरीसँग लहसिए। उनले केटीसँग प्रेम गर्दा भटाभट कविता लेखिदिन्थे। उनले केहीसँग मानसिक प्रेम गरे भने केहीसँग शारीरिक प्रेम पनि गरे। पछि उनले प्रेमविषयक कविताहरू बढी लेख्न थाले।
लेखन नै देवकोटाको प्रिय साथी बन्यो र लेखनमा नै उनको दिनचर्या बित्न थाल्यो। उनले चौध भाषा बुझ्थे। उनले नौ भाषामा लेखेका कविताहरू शारदा मासिकमार्फत जनमाझ आए।
देवकोटा कविताका सहोदर थिए। उनलाई काव्यसागरका जलदेवता भन्दा पनि हुन्थ्यो। उनी उठ्दा, बस्दा, हिँड्दा, सुत्दा, खाँदा वा चेतन र अचेतनका कुनै पनि पलमा काव्यभन्दा बाहिर हुँदैनथे। बिहान आँखा उघारेदेखि राति आँखा चिम्लेपछिको स्वप्नसंसारमा पनि उनी काव्यसंसारमा विचरण गर्थे। उनको बाँचुन्जेलको साथी एउटा कविता र अर्को चुरोट थियो। लेख्दा उनले आफ्नै पाण्डुलिपि बालेर चुरोट सल्काएको र त्यसैले सिँगान पुछेको पनि थाहा पाउँदैनथे। उनी तास, जुवा, पासा खेल्नेदेखि रक्सी खान पनि पछि पर्दैनथे। साथै, उनी गीत गाउँथे, हार्मोनियम र तबला बजाउँथे। उनको अर्को सौख साइकल थियो।
सोह्र वर्षको उमेरमा देवकोटाको मनदेवी चालिसेसँग विवाह भयो। विवाहपछि मनदेवी उनको जीवनमा सबैभन्दा महत्त्वपूर्ण पात्र बनिन्। त्यसबेलाको दाम्पत्यप्रेमको प्रगाढतालाई दर्शाउन उनले ‘मुनामदन’ लेखे। देवकोटा र मनदेवीका पाँच छोरी र चार छोरा जन्मिए।
गरिबीका कारण देवकोटा भोकभोकै सुत्थे। जहान र परिवार पाल्न उनले दैनिक अठार घन्टासम्म ट्युसन पढाए। झन्डै तीन दर्जनलाई खान पुग्ने धन कमाउँदा पनि उनको घरमा पुगनपुग एक दर्जन मानिस भोकभोकै हिँड्थे। जति कमाए पनि उनी कङ्गालजस्तै थिए। कोसी टप्पुमा उनको खेत हुँदा पनि उनले गरिबीमै नाम कमाए। १९९० सालमा जुद्धशमशेरले उनलाई एक हजार रुपियाँ नगद र ८० बिघा जग्गा दिएका थिए।
देवकोटाकी पत्नी मनदेवी धर्ममा समर्पित थिइनन् भने देवकोटा अति अव्यवहारिक थिए। जोईपोइकै कारणले उनको घर अत्यन्त दयनीय थियो। मनदेवीलाई घरको मोह थिएन। उनी कविप्रसाद गौतमको हरिकीर्तनमा डुबेकी थिइन्। त्यसैले देवकोटाले कमाएको नगद पनि त्यतै जान थाल्यो।
देवकोटा लाउनभन्दा खानाका सौखिन थिए। उनले एउटा खसीको टाउको खान पाए भने एउटा खण्डकाव्य लेखिदिन्थे। मिठाई पनि उनलाई अति मनपर्थ्यो।
देवकोटाको उधारो खाने ठाउँ डिल्लीबजारको लप्टनको होटल थियो। त्यहाँ उनको नाममा अरूले पनि उधारो खान्थे। बगरेसँग पनि उनले उधारो मासु लिन्थे। बगरेले महिना मरेपछि तेबारेर पैसा लिन्थ्यो।
राणाकालमा देवकोटा नेपालमा पुस्तकालय खोल्न लाग्दा झन्डै कैदी भए। तर एक सय रुपियाँ जरिमाना गरेर उनलाई छोडियो।
लहडी भएकाले देवकोटा बीए, बीएल पढेको दस वर्षसम्म जागिरमा छिर्न सकेनन्। अन्ततः उनी नेपाली भाषानुवाद परिषद्मा जागिरे भए। जागिरे हुँदा बालकृष्ण समसँग उनको प्रायः बौद्धिक जुहारी चल्थ्यो। त्यसैबेला उनले त्रिचन्द्र कलेजमा प्रोफेसरको जागिर पाए। बीए पास गरेर प्रोफेसर बन्ने उनी पहिलो नेपाली थिए।
देवकोटाले पद्म कन्या कलेजमा पनि प्रोफेसरको पद पाए, तर त्यहाँ चार महिना मात्र टिके। त्यसपछि कमर्स कलेजमा पनि प्रोफेसर भए, तर त्यहाँ तीन महिना मात्र टिके। उनी कार्यालय र कलेजमा कहिले समयभन्दा धेरै पहिले पुग्थे त कहिले धेरै ढिलो।
देवकोटा लहैलहैमा बनारस गए। त्यसबेला उनले घरपरिवार र त्रिचन्द्र कलेजलाई जानकारी दिएका थिएनन्। बनारसमा उनको जीवन बौद्धिक कुल्ली, भरिया र हलीभन्दा माथिको थिएन। त्यहाँ उनको प्रमुख काम राणाविरोधी युगवाणीको सम्पादन थियो। आर्थिक रूपमा आक्रान्त भएपछि बबरशमशेरले उनलाई लिन खर्चसहित उनका भाइलाई पठाए। त्यसपछि देवकोटा आफूलाई बनारस लैजानेलाई धिक्कार्दै काठमाडौँ फर्किए।
तैपनि बनारसले नै देवकोटालाई महाकवि बनायो। २००४ सालमा बनारसबाट प्रकाशित काशीबहादुर श्रेष्ठको ‘उदय’मा ईश्वर बरालले उनलाई ‘महाकवि’ लेखेपछि उनलाई महाकवि भन्न थालियो। त्यसअघि उनलाई युगकवि भनिन्थ्यो।
प्रजातन्त्रपछि राजा त्रिभुवनले उनलाई सल्लाहकार सभाको सदस्यमा मनोनीत गरे। राजा महेन्द्रले पनि त्यसलाई निरन्तरता दिए। त्रिभुवन विश्वविद्यालयको स्थापनासँगै उनी कमिसनको सदस्य भए। उनकै हस्ताक्षरमा विश्वविद्यालयको रूपरेखा तयार भयो। महेन्द्रको चान्सलरसिपमा उनी नेपाल एकेडेमीको सदस्य भए। डा. के.आई. सिंहको प्रधानमन्त्रित्वमा गठित मन्त्रिपरिषद्मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री बने। ११० दिन मन्त्री हुँदा उनले नेपालभरिका स्कूल र कलेजमा नेपाली भाषामा पढाइ हुने व्यवस्था मिलाए।
नेपाली भाषासाहित्यमा देवकोटा रूमानी प्रवृत्तिलेखनका श्रीगणेशकर्ता भए। नेपाली साहित्यलाई अङ्ग्रेजीमा अनुवाद गरेर पश्चिमी मुलुकमा पुर्याउने पहिलो काम पनि उनैले गरे।
देवकोटा अफ्रोएसियाली लेखक सम्मेलनमा भाग लिन सोभियत सङ्घको तासकन्द गए। चिकित्सकको सल्लाहमा भाषण गर्नुअघि उनलाई दुई बोतल रगत चढाइएको थियो।
देवकोटा नेपालबाट भिसा र पासपोर्ट नबनाई तासकन्द गएका थिए। त्यसका लागि मन्त्रिपरिषद्का अध्यक्ष सुवर्णशमशेरदेखि रोयल नेपाल एकेडेमीले हरियो झण्डा देखाएर प्रेरित गरेका थिए। पछि तिनै व्यक्तिको सिफारिसमा उनको एकेडेमीको पारिश्रमिक रोक्का गरियो। रहस्य खुलेपछि एक महिनाको तलब जरिमाना गरेर राजा महेन्द्रले उनको पारिश्रमिक निकासा गरिदिए। तर राजाले त्यो एक महिनाको तलब बराबरको रकम पनि दरबारमा एक्लै बोलाएर दिए।
देवकोटा दूरदर्शी थिए। उनले ‘उद्देश्य के लिनु रु उडी छुनु चन्द्र एक !’ कविता लेख्दा धेरैले उनलाई तरङ्गी भने। तर उनी दिवङ्गत हुनुभन्दा सोह्र घन्टाअघि रूसको रकेट चन्द्रलोक पुगेको थियो।
महाकवि देवकोटा २०१६ साल भदौ २९ गते सोमबार साँझ ६:१० बजे क्यान्सरका कारण दिवङ्गत भए।
© नरेन्द्रराज प्रसाई