तमू ट्होलाई संस्थागत गर्न कस्सिए गणेश गुरुङ (भिडियोसहित)

पशन तमू / एचकेनेपाल डट कम –
हङकङ, तमू ट्हो ह्युल हङकङलाई संस्थागत गर्न गणेश गुरुङ नेतृत्वको नयाँ कार्यसमिति कम्मर कसेर लागि परेको छ।

हालै सम्पन्न ह्युलको ८अौं अधिवेशनबाट गुरुङको प्यानल निर्बिरोध निर्वाचित भएको थियो। अर्का अध्यक्षका प्रत्याशी कोमल थापा (गुरुङ) स्याङ्जाली कान्छाले हङकङ नागरिकताको सक्कल प्रमाणपत्र (आइडी) निर्धारित समयभित्र पेश गर्न नसक्दा निर्वाचनको लागि गठित अध्यक्ष मण्डलले उनलाई निर्वाचन लड्न अयोग्य घोषणा गरेपछि गणेश गुरुङको प्यानल स्वतः निर्विरोध विजयी भएको थियो।

हङकङेली गुरुङ समुदायमा पछिल्लो पटक फैलिएको भ्रम निवारणको लागि भन्दै आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै नवनिर्वाचित अध्यक्ष गुरुङले तमु ट्होलाई संस्थागत गर्नुपर्ने बताएका हुन्। हेर्नुहोस् भिडियो…

भिडियोः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम

तमु ट्हो ह्युलको कार्यसमितिमा रहन वा उम्मेदवार बन्न गुरुङमात्र नभएर हङकङ आईडीको सक्कल प्रमाणपत्रमा समेत गुरुङ हुनु पर्ने जिकिर गरे। तमु ट्हो ह्युललाई संस्थागत गर्न यस्तो गर्न अनिवार्य भएको गुरुङले बताए। यही अवधारणा बोकेर चुनावी मैदानमा उत्रेका गुरुङको यहि बुंदालाई प्रयोग गरेर आफ्ना प्रतिद्वन्द्वी कोमल गुरुङ (आइडीमा थापा) लाई सजिलै पाखा लगाई दिएका थिए।

तमु ट्होको साधारण, मानार्थ तथा आजीवन सदस्यता लिईसकेकाहरुले पनि हङकङ आईडीको सक्कल प्रमाणपत्र पेश नगरे स्वतः खारेज हुने गुरुङले बताएका छन्। कतिले गुरुङ नभएपनि हङकङ आईडीमा गुरुङ भएको आधारमा गैरगुरुङहरुले संस्थाको सदस्यता लिएको उल्लेख गर्दै उनले तमु ट्हो ह्युललाई विशुद्ध संस्थाको रुपमा विकास गर्न शुद्धिकरणको आवश्यकता रहेको अौल्याए। त्यसै गरी, कतिले हङकङ आईडीमा अर्कै जाति भएपनि गुरुङको नाताले संस्थाको सदस्यता लिएको उनले बताए।

उनले आईडीमा गुरुङ वा गैरगुरुङ जेभए पनि कार्यसमितिमा रहन गुरुङ र अाईडीमासमेत गुरुङ नै उल्लेख हुनु पर्ने जिकिर गरे। जसरी अहिलेको नयाँकार्यसमितिले तमु ट्हो ह्युललाई संस्थागत र शुद्धिकरण गर्न कम्मर कसेर लागि परेको छ। यसले गुरुङ समुदायभित्र एक किसिमको तरंग फैलाई दिएको त छ। र पनि तमु ट्होलाई संस्थागत, शुद्धिकरण र संगठित गर्दा अझै केही महत्वपूर्ण पाटाहरु अोझलमा परेका छन्। त्यसतर्फ पनि समितिको ध्यान जाने नै होला।

तमु ट्हो ह्युलमा धेरै व्यक्तित्वहरुले संस्थालाई हाँक्ने मौका पाए पनि संस्थागत र संगठित गर्ने प्रयाश त्यति भएन। कमसेकम यसअघि पनि पूर्वअध्यक्ष एकेन्द्र गुरुङले तमु ट्होलाई नयाँ उचाईंमा पुर्याउन निक्कै कोशिस गरेका थिए। गुरुङबाट तमु ट्होभित्र विभिन्न तह र तप्काका व्यक्तित्वहरुलाई समेट्ने र केही रचनात्मक कामहरु गर्ने कोशिस भएका थिए। गुरुङको कार्यकाल सतप्रतिशत सफल नभएपनि डा. हर्क गुरुङ र डा. चन्द्र गुरुङलाई संस्थागत रुपमा स्मरण गर्ने शुरुवात उनैबाट भएका थिए। उनले त्यसबाहेक तमु ल्होछारलाई हङकङमा विभाजित भएर होइन संगठित र एकीकृत भएर मान्नु पर्छ भन्दै पहलकदमी गरेका थिए। यसमानेमा तमु ट्हो ह्युलको इतिहासमा एकेन्द्र गुरुङको प्रयाश सम्मानयोग्य रहने छ।

अहिले गणेश गुरुङको समूह अाएपछि धेरै समयसम्म सुस्ताएको तमु ट्हो ह्युल चलमलाउन थालेको र तरंगित हुन थालेको अनुभूति भएको छ। यो राम्रो संकेत हो।

गणेश गुरुङको नेतृत्वमा गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा कुमार गुरुङ, सचिवमा झम गुरुङ, सहसचिवमा मोती गुरुङ, कोषाध्यक्षमा रोशन गुरुङ, सहकोषाध्यक्षमा सुनिता गुरुङ, प्रवक्तामा गणेश गुरुङ (कलाकार) र सदस्यहरुमा निर्मल गुरुङ, नारायण गुरुङ, राम गुरुङ, दिलप्रसाद गुरुङ, नियो गुरुङ, मोहन गुरुङ, नन्द घले र पदम गुरुङ रहेका छन्।





Comments

comments

Leave a Reply

8290