हाम्रो रिलेसन टुटेको मुख्य कारण नै पैसा हो- खुश्वु
दिनेश अधिकारी ‘चरी’ का प्रेमिका खुश्वु ओलीले पैसाकै कारण अर्पण कोइरालासँग सम्बन्ध विग्रिएको बताएकी छिन्। कोइराला उनको पूर्व प्रेमि हुन्। पैसाको कारोबारले अर्पणलाई विगारेको उनले दाबी गरेकी छिन्। नयाँपत्रिकासँग अन्तर्वाता दिदै उनले भनेकी छन् ‘मेरो बुवाले अर्पणलाई दिनु भनेर हस्ताक्षरसहितको खाली चेक दिनुहुन्थ्यो। त्यत्ति विश्वास गर्नुहुन्थ्यो। तर उसले ड्याडीको पैसा फिर्ता गर्दा २५ लाखको बाउन्स चेक दियो। उसले विश्वासघात गर्यो।
खुश्वुले भनेकी छन् ‘मेरो भिनाजुसँग वीरंगज गएर १ करोड क्यास लियो, तिरेन। तिर्ने मनसाय पनि देखाएन। अर्पणको आजसम्म न व्यापार छ न पैसा नै छ, हाम्रो रिलेसन टुटेको मुख्य कारण यही हो।’
यस्तो छ पूरा अन्तर्वार्ताः
दिनेश अधिकारी चरी ‘इन्काउन्टर’मा मारिएपछि उनकी प्रेमिका खुश्बु ओली आक्रोशित छिन् । घटनाको निष्पक्ष छानबिनको माग गर्दै सडकदेखि अदालतसम्म पुगिन् । उनले नयाँ पत्रिकाका नेत्र पन्थी र प्रवीण बुढाथोकीसँग भनिन्, ‘छानबिनको रिपोर्ट स्विकार्छु, छानबिनको रिपोर्ट यस्तो हुनुपर्छ त भनेकी छैन नि मैले ।’ विशालनगरस्थित उनको बालगृहको ग्यालेरीमा पूर्णकदको फोटो लिन खोज्दा उनको प्रतिक्रिया थियो, ‘प्रेमीको मृत्यु–शोकमा फोटोसेसन गरेको अर्थ नलागोस् है।’
दिनेश अधिकारी चरी ‘इन्काउन्टर’मा मारिएपछि तपाईं र अर्पण कोइरालाको व्यक्तिगत सम्बन्ध सामाजिक चर्चाको विषय बनेको छ, अर्पण र तपाईंको सम्बन्ध कसरी जोडियो?
२००६ मा मिस टिन भएँ । त्यतिवेला अर्पण नार्कोनन् नेपालमा रिकभरिङ ड्रग्स एडिक्ट रहेछन् । कीर्तिपुर क्षेत्रमा गाँजाका बोटबिरुवा फँडानी गर्नुपर्छ भनेर स्कुलको स्पटमा क्यान्पियन सुरु गरेँ । गाँजा फँडानीको अभियानमा सहयोग गर्न मैले नार्कोनन् नेपाललाई कन्ट्याक्ट गरेँ, अर्पण कोइरालालाई होइन । अर्पणले नार्कोनन्का तर्फबाट फलोअप गरेका थिए । नार्कोनन् नेपालको सहकार्यमा हामीले गाँजा फँडानी गरेका हौँ । एउटै अभियानमा काम गरेपछि सामान्य बोलचाल त भइहाल्छ नि, तर त्यस्तो केही थिएन।
म बच्चैदेखि कीर्तिपुरको चिल्ड्रेन क्वालिटी सर्कल प्रोजेक्टमा थिएँ । त्यसको ‘एनुवल कन्फरेन्स’ भारतमा हुँदै थियो । त्यहाँ स्कुलबाट मैले प्रतिनिधित्व गरेकी थिएँ र नार्कोनन् नेपालको एकजना स्टाफलाई अफर गरेकी थिएँ । उहाँ नजाने भएपछि अर्पण कोइराला जाने भए । ड्रग एडिक्टको रिहाबमा बसेका व्यक्तिलाई राम्रो एक्स्पोजर हुन्छ भनेर उहाँलाई लग्यौँ । भारतबाट फर्केपछि दुई/चारपटक भेट भयो, कुरा भए । त्यसपछि मात्र हाम्रो राम्रो चिनजान र बोलचाल भएको हो । त्यसपछि उहाँ मेरो फ्यामिलीमा आउने–जाने हुन थाल्यो।
फ्रेन्डभन्दा माथि बेस्ट फ्रेन्ड थियौँ हामी । एक समय एकदमै माया गरेका मान्छे पनि हुन् उनी । उसको मेरो परिवारसँग राम्रो सम्बन्ध थियो । उसको ममीड्याडीसँग मेरो पनि त्यस्तै सम्बन्ध थियो । अर्पण र मबीच यत्तिकै राम्रो सम्बन्ध भएको भए भविष्यमा बिहे पनि हुन सक्थ्यो । हामीबीच एकदमै स्पेसल रिलेसन थियो, असल साथीका रूपमा । तर, मेरो घरमा उसलाई ज्वाइँ भन्थे, उसको घरमा मलाई बुहारी भन्थे भन्ने बकवास हो।
खुश्बुलाई अक्सफोर्ड पुर्याउने त अर्पण हुन् भन्ने चर्चा छ, कुरो के हो ?
पहिलो कुरा, अर्पण कोइरालाले अहिलेसम्म लन्डनमा कामै गर्नुभएको छैन । मैले चिन्दा उहाँको बिजुलीबजारमा एउटा घर थियो, त्यो पनि उहाँको होइन, बुबाको । अनि उहाँले मलाई पढाउन त्यत्रो पैसा कहाँबाट कमाउनुभयो ? उनले ‘व्यापारको सिलसिलामा बेलायत आउने–जाने गर्थँे, त्यसै क्रममा मैले खुश्बु ओलीलाई बेलायत लगेको हुँ’ भनेका रहेछन् । यो सब झूटो हो । म उनीभन्दा अगाडि बेलायत पुगेकी हुँ।
तपाईंहरू एउटै फ्ल्याटमा बस्नुहुन्थ्यो रे नि, लिभिङ टुगेदर रिलेसनसिप भएका जोडीबीच यति तिक्तता किन ?
बेलायतमा सुरुका दिनमा एकजना दाइसँग बस्थेँ । उनी पनि आएपछि साथीभाइ मिलेर एउटै घरमा बसेका हौँ । मेरो भाइ पंकज हामीसँगै बस्थ्यो। स्विकृति, मुकेश भाइ पनि हामीसँगै बस्थे । अर्पणका दाइभाउजू आउनुभयो, उहाँहरू पनि हामीसँगै बस्नुभयो । लिभिङ टुगेदर होइन, हामी सँगैचाहिँ बस्थ्यौँ । उनीभन्दा म अघि पुगेकी हुँ बेलायत । त्यसैले चिनजानका नाताले पनि मैले उहाँलाई हेल्प गर्नै पथ्र्यो।
अर्को कुरा, बिजुलीबजारमा उनको एउटा घर थियो, चारआना जग्गामा । त्यसवेला त्यसको मोल कति थियो र ? धोबी खोला गन्हायो भनेर घर बेचेका हुन् । घर बेचेर बालकोट जानुभयो, बालकोटको घर पनि बेच्नुभयो । घर कसरी तीनवटा भयो ? बेच्दै/किन्दै गर्दा १० वटा पनि घर पुग्छ, मान्छेको।
कलंकीको घर उहाँकी ठूलीममी विष्णु रेग्मीको थियो । त्यही घर धितो राखेर ७० लाख अर्पणले झिकेका रहेछन् । त्यो पैसा क्यासिनो, मस्ती र भारत घुमेर सके । उनले काठमाडौंमा अरू केटाहरूको पनि पैसा चलाएका रहेछन् । ती केटाहरूले पोखराको होटल ग्रान्डबाट पक्रेपछि त्यही पैसा तिर्न त्यो घर पास गरिदिएछन् । उनको घर यसरी गएको हो, खुश्बु ओली कहाँबाट आई त्यो कुरामा?
तपार्इं आफूलाई मध्यम परिवारकी छोरी भन्नुहुन्छ । छोरीलाई अक्सफोर्ड पढाउन बुबाआमासँग पैसा थियो त? अक्सफोर्डमा केही छात्रवृत्ति पनि पाएकी हुँ । ड्याडीले मलाई पढाउन झापा र मोरङमा रहेको जग्गा बेच्नुभएको थियो । मसँग यो सबै रेकर्ड छ, बैंक स्टेटमेन्ट छ । अर्पणजीलाई एकपटक प्रश्न सोधिदिनुस् न, तपार्इंले बैंक स्टेटमेन्ट देखाउन सक्नुहुन्छ त ? त्यतिवेला उहाँ पनि लन्डनमा हुनुहुन्थ्यो, अनि कसरी पठाउनुभयो मलाई यहाँबाट पैसा ? करोडौँको सम्पत्ति कहिल्यै पनि अर्पण कोइरालासँग थिएन।
अक्सफोर्ड पढ्दा विभिन्न देशका राजकुमारलगायत उच्च घरानाका मानिससँग संगत भएकाले तपाईंको खर्च गर्ने बानी बढेको थियो भन्ने आरोप छ, खासमा तथ्य के हो?
त्यस्ता मानिससँग मेरो संगत भएको सही हो। युएई, साउदी अरबलगायत देशका रोयल मेम्बरसँग मेरो संगत थियो। तर, उनीहरूको संगतका कारण मेरो खर्च बढेको भन्ने कुरा वाहियात हो। किनकि हामी सबै होस्टेलमा बस्थ्यौँ। होस्टेलमा सबैलाई खानपिनलगायतमा समान व्यवहार गरिन्थ्यो।
तपाईंले अर्पणलाई विश्वासघात गरेर चरीलाई माया गर्न थालेको कुरा अस्ट्रेलियामा बस्ने एकजना साथीलाई सेयर गरेपछि तपाईंहरूको दोस्ती दुस्मनीमा परिणत भयो भन्ने कुरा आएको छ, सत्य हो ?
उहाँले जुन फेसबुक म्यासेजको कुरा गर्नुभएको छ, त्यो पनि गलत हो । मेरो फेसबुक उहाँले कसरी हेर्नुभयो त ? अर्पण कोइरालाले मेरो इमेल, फेसबुक, युनिभर्सिटी अकाउन्ट सबै ह्याक गर्यो भनेर उजुरी दिन एकपटक हनुमानढोका गएँ । साइबर क्राइममा उजुरी दिन लागेकी थिएँ, भाउजूको सल्लाहमा एकपटक वार्निङ दिएर छाडिदिएँ । त्यतिवेला हाम्रो झगडा भएको ताजाताजै थियो । फोनमा मुद्दा हाल्ने धम्की दिँदै पासवर्ड फिर्ता मागेँ। तर उसले दिएन । त्यसपछि युनिभर्सिटीबाट रिट्राइभ गरेर फेसबुक, इमेल चलाएकी हुँ । दिनेश अधिकारीसँग त्यतिवेला मेरो सम्बन्ध नै थिएन। उहाँ आफैँले त्यो म्यासेज बनाउनुभएको हो।
अर्पणसँग सम्बन्ध टुट्नुको खास कारण त्यही हो कि अरू पनि छन् ?
पैसाको कारोबारले बिगार्यो, अर्पणलाई । मेरो बुबाले ‘अर्पणलाई दिनू’ भनेर हस्ताक्षरसहितको खाली चेक दिनुहुन्थ्यो । त्यति विश्वास गर्नुहुन्थ्यो। तर, उसले ड्याडीको पैसा फिर्ता गर्दा २५ लाखको बाउन्स चेक दियो । अर्को चेक त झन् हामीले बाउन्स नै गराएका छैनौँ । उसले विश्वासघात गर्यो । मेरो भिनाजुसँग वीरगन्ज पुगेर एक करोड क्यास लिएर आएको थियो । तिरेन । तिर्ने मनसाय पनि देखाएन । अर्पणको आजसम्म न व्यापार छ, न पेसा नै छ । हाम्रो रिलेसन टुटेको मुख्य कारण यो पनि हो । केटाहरू लिएर हिँड्ने, खुवाउने । ‘अर्पण दाइ तपाईं त’ भन्दै केटाहरू फुक्र्याउँथे । ऊ त्यत्तिमै रमाउँथ्यो । दरबारमार्गको एउटा फोन पसलबाट ५० जनाभन्दा बढीलाई आइफोन किनिदियो । त्यहाँ मात्र १५/२० लाख तिरेको होला । क्यासिनोमा झन् कति पैसा उडायो । जहिले गएर फाइभस्टारमा खानलाई त दिगो आउने आयस्रोत हुनुपर्यो नि । जो मान्छेसँग आफ्नो स्ट्यान्ड छैन, करिअर छैन, त्यस्तो मान्छेलाई मैले कतिचोटि चान्स दिने?
दिनेशको गाडी किन्दा पनि पैसा दिएको भनेर अर्पणले भन्नुभएको छ, के यो पनि झूटो हो?
दिनेशलाई गाडी किन्न ३५ लाख दिएको र घर बनाउन पनि पटक–पटक पैसा दिएको भनिरहेको छ। ३५ लाख घरमा गाडेर त राखिँदैन, बाक्सामा राखिँदैन, तिजोरीमा राखिँदैन। कुन बैंकबाट दिनेश अधिकारीलाई अर्पण कोइरालाले ३५ लाख लगेर दिएको छ भन्ने देखाओस्, म उसलाई उल्टै ३६ लाख दिन्छु। मेरो बिल तिरेको वा भरपाई गरेको कुनै प्रमाण पेस गर्छ भने दोब्बर दिन्छु।
अर्पणले खुश्बुलाई बिजनेस क्लासको टिकटमा ट्राभल गराउँथे भन्नुभएको छ । अर्पण वा अरू कसैले खर्च बेहोरेका थिएनन् भने मिडल क्लास फ्यामिलीकी छोरी बिजनेस क्लासमा कसरी उड्नुहुन्थ्यो?
कतार एयरवेयजको प्रिभिलेज्ड कार्डमेम्बर थिएँ। धेरै ट्राभल गरिराख्दा कहिलेकाहीँ बोनस प्वाइन्ट जोडिएर बिजनेस क्लासको टिकट आउँथे, त्यसमा ट्राभल नगर्नु ? अन्य देशका साथीले आफ्नो ठाउँमा इन्भाइट गर्दा बिजनेस क्लासको टिकट पठाउने गर्थे । अर्पणसँग कहाँ त्यत्रो पैसा थियो र मलाई दिन सकोस् ? उसको बुबा रिटायर्ड भइसक्नुभएको थियो, आमा राष्ट्रबैंकको सेकेन्ड क्लास अफिसर। जो मान्छेसँग व्यवसाय छैन, काम गर्दैन, उसले कसरी दिन्छ पैसा?
भनेपछि तपाईंका लागि अर्पणले एक पैसा पनि खर्च गरेनन् त ?
सम्बन्ध राम्रो भएका बेला मेरो लागि उसले खर्च गर्यो होला, मैले उसका लागि खर्च गरेँ हुँला। कतै घुम्न गयौँ होला। ऊसँग मेरो सम्बन्ध राम्रो नहुँदा पनि आठ दिन मेरो परिवारले उसलाई केएमसी हस्पिटलमा सेवा गरिदिएको छ। उसको हरेक खर्च मैले बेहोरिदिएकी थिएँ। अब मैले त्यस्ता कुराको हिसाब गर्नु ? व्यापार गर्छु भनेर मेरो परिवारसँग पैसा लियो। तर व्यापार गरेन। क्यासिनोमा पैसा उडायो। लन्डनमा रेस्टुरेन्ट खोल्छु भन्यो, मैले नगर भनेँ। उसले खोल्यो । रेस्टुरेन्ट डुब्यो।
अब दिनेश अधिकारी ‘चरी’को प्रसंग जोडौं, सम्बन्ध कहाँबाट सुरु भयो ?
दिनेशजीसँगको चिनजान अर्पणकै माध्यमबाट भएको हो । दिनेश अधिकारीसँग ‘लभ एट फस्ट साइट’ भएको होइन । म त्यस्ती खालकी केटी पनि होइन । दिनेशसँग कसैले मलाई बाहिर देखेको थियो ? घुमेको, हिँडेको आउनुपथ्र्यो नि बाहिर, त्यस्तो रिलेसन नै होइन दिनेशसँग । अर्पणसँग मेरो रिलेसन टुटेपछि ऊ भारत गएर बस्यो । यहाँ उसले लिएको पैसा उठाउन मान्छेहरू आउन थाले । मलाई एकदमै इरिटेसन हुन थाल्यो । एक दिन दिनेशजी अफिसमा आउनुभयो । ‘दाइले यो के गरेको, दाइ यसरी भागेर बस्नुभएन, बोलाउनुपर्यो, बरु हामी साथीभाइ मिलेर के गर्नुपर्ने हो, म गर्छु’ भनेर दिनेशजीले मलाई भन्नुभयो । यस्तो कुरा सुनेपछि मलाई उहाँ एकदमै राम्रो लाग्यो । त्यतिवेला दिनेशजीसँग मेरो हाइ–हेल्लो मात्र थियो । म पनि दु:खमा थिएँ, साथी पाएँ । हामीबीच कुराकानी हुन थाल्यो । उसको व्यवहार राम्रो लाग्न थाल्यो । अर्पणसँग यसको झगडा परेको छ, यसको फाइदा लिनुपर्यो भन्ने मेन्टालिटी दिनेशमा थिएन । दिनेशजीले मलाई बिहेको प्रस्ताव राख्नुभयो । मैले स्विकारेँ । परिवारबाट अब्जेक्सन भएन । गएको भदौमा दिनेश र मबीच इंगेजमेन्टको कुरा छिनिएको हो । हाम्रो परिवारमा जुठो परेको हुनाले इंगेजमेन्टको डेट पोस्टपोन्ड भयो । त्यसपछि चुनाव आयो । उहाँ चुनावमा व्यस्त हुनुभयो । यो दसैँमा इंगेजमेन्ट गर्ने हाम्रो योजना थियो । मैले उहाँलाई भेट्दा कुनै पनि केस थिएन । त्यसपछि राधेको इन्सिडेन्ट भयो, त्यसपछि मात्रै सिचुएसन बिग्रिएको हो । उहाँ राजनीतिमा करिअर बनाउन चाहनुहुन्थ्यो । दिनेशजीसँग नजिक हुनुभन्दा आठ–नौ महिनाअघि नै अर्पण र मेरो सम्बन्ध टुटिसकेको थियो।
अर्पण र दिनेशको सम्बन्धको केन्द्रमा तपाईं हुनुहुन्छ । उनीहरूको मित्रता कसरी शत्रुतामा परिणत भयो?
‘ल नानी तेरो इच्छा, तँलाई दिनेश मन पर्यो भने ठीकै छ नि, म एसेप्ट गर्छु’ अर्पणले मलाई इमेल पठाएको थियो । त्यसपछि पनि ऊ दिनेशसँग कन्ट्याक्टमा थियो । मान्छे जब ड्रग्स खाँदै जान्छ, पैसा सकिँदै जान्छ, फ्रस्टेसन भइहाल्छ नि । मेरो इंगेजमेन्ट हुने भयो, त्यसपछि मात्र अर्पण र दिनेशजीको सम्बन्ध चिसिएको हो । ‘तँलाई मैले सेतो लुगा लगाएको देखेँ भने मिस गर्नेछु,’ जस्ता म्यासेज गर्न थाल्यो । यस्ता कुरा म दिनेशजीसँग सेयर गर्थेँ । ऊ मेरो लाइफपार्टनर हुँदै थियो, यस्ता इम्पोर्टेन्ट कुरा मैले त सेयर गर्नुपथ्र्यो । त्यसपछि उहाँहरू दुईबीच कम्युनिकेसन भयो होला।
तपाईं अर्पण प्लानमा चल्ने मान्छे होइन पनि भन्नुभाछ, अनि चरी ‘इन्काउन्टर’मा उसलाई पनि मुछ्नुहुन्छ । तालमेल मिलेन नि ? मैले अर्पण कोइरालाले पठाएको तीनवटा इमेल सार्वजनिक गरेँ । मैले यत्तिकै हावामा भनेकी होइन । उसले नयाँ पत्रिकामै पनि स्विकार्यो, मैले मार्छु भनेको हो तर मारेको होइन । हो, त्यही आधारमा त मैले पुलिसकहाँ जाहेरी दिएकी थिएँ । मैले उसको नाम लिनुको कारण पनि इन्भेस्टिगेसन होस् भनेर हो । मार्छु भनेको थियो, उसको पनि इन्भल्भमेन्ट छ कि भन्ने हो । मेरो फ्यामिली मेम्बरको डेथ भयो, मैले इन्भेस्टिगेसन होस् भनेर सरकारसँग डिमान्ड पनि गर्न नपाउने?
अर्पण, दिनेश हुँदै एक प्रहरी अधिकृत कुमोध पनि तपाईंको प्रसंगमा जोडिन आए । उनी किन जोडिए ?
कुमोधजीसँग मेरो संस्थामार्फत नै चिनजान भएको हो । उहाँलाई पहिलेदेखि नै दिनेशजीसँग रिसइबी थियो । उहाँले प्रोफेसनले गर्दा पनि दिनेशजीलाई मन पराउने कुरा भएन । जुन दिन मेरो दिनेशजीसँग इंगेजमेन्टको कुरा भयो, त्यो दिन कुमोधजीले ‘ठीकै छ, दिनेशलाई ज्वाइँ बनाएछौ, तर यो राम्रो भएन, दिनेशलाई मचाहिँ छोड्दिनँ’ भनेर सीधै भन्नुभयो । कुमोधजीको फोन रेकर्ड नै हेरे हुन्छ।
अर्पणका कारणले म समस्यामा पर्दा उहाँले मलाई के भन्नुभा’थ्यो भने, ‘मेरो सबै सम्पत्ति बेचेर भए पनि तपाईंलाई सहयोग गर्छु ।’ तर, उहाँको अपेक्षाचाहिँ मैले उहाँसँग सम्बन्ध राखिदिए हुन्थ्यो भन्ने रहेछ । उनले ‘आई लभ यू’बाहेक सबै कुरा भनेका छन् । कति कन्भरसेसन त मैले भन्नै नहुने छ, र म भन्दिनँ पनि । घटनाको खबर सुन्नेबित्तिकै यो कुमोधले नै गराएको हो भन्नेमा म विश्वस्त थिएँ । त्यसयता ऊसँग मेरो कन्ट्याक्ट भएको छैन।
तपाईं अर्पणसँग सम्बन्धमा हुनुहुन्थ्यो, दिनेशले अर्पणलाई दाइ र तपाईंलाई भाउजू भन्थे भन्ने चर्चा चलेको छ, खासमा तपाईं र दिनेश एकअर्कालाई के भन्नुहुन्थ्यो ?
एक–अर्कालाई ‘हजुर’ भन्थ्यौँ । एक–अर्कालाई कहिल्यै नामले बोलाएनौँ । भेट्दा ‘दर्शन’ भन्थ्यौँ । कहिलेकाहीँ सँगै लन्च गथ्र्यार्ैँ । इभिनिङमा कफी पिउँथ्यौँ।
दिनेशलाई सुधार्न सक्थें भन्नुभएको छ, कसरी ?
अमेरिकामा १० वर्ष जेल बसेको मान्छे अहिले सिनेटर छ। त्यो मान्छे त्यो लेबलमा पुग्न सक्छ भने दिनेशजीचाहिँ पुग्न सक्नुहुन्न त ? हाम्रो भेट हुँदा पटक–पटक उहाँले आफूलाई राजनीतिमा लैजाने कुरा गर्नुहुन्थ्यो । उहाँ मोस्ट वान्टेड भएपछि हाम्रो भेटघाट पातलियो । घटनाको दिन उहाँले बिहान साढे नौ बजेतिर भाइबरमा म्यासेज गर्नुभएको थियो । ‘भोलि म अदालत हाजिर हुन्छु,’ उहाँको म्यासेज थियो । दु:खको कुरा, उहाँ अदालत जानै पाउनुभएन।
दिनेशको नाम लिएर तपाईंले व्यापारीसँग पैसा उठाएर खर्च गर्नुहुन्थ्यो रे, प्रहरी र मिडियामा यस्ता कुरा आइरहेका छन् ? आओस् न त एकजना व्यापारी जसले भन्न सकोस्, खुश्बुले मलाई धम्क्याएर पैसा उठाएकी थिई भनेर । प्रमाणसहित आयो भने दोब्बर तिर्न तयार छु।
आफ्नो प्रेमीको मृत्युपछि तपाईं जुन शैलीले चर्चामा छाउनुभएको छ, समाजले त्यसलाई पचाउन गाह्रो मानेको छ भन्ने लाग्दैन? यो घटनाले मलाई र मेरो परिवारलाई ज्यादै दु:खी बनाएको छ । म ऊसँग बिहे गर्न ठिक्क परेर बसेकी थिएँ, कति दु:ख लागेको होला मलाई ? पत्रपत्रिकामा समाचार आए, श्रीकृष्णको शोकमा श्वेता मुर्छा परिन्, खुश्बुचाहिँ अन्तर्वार्ता दिँदै हिँडेकी छे । रोएर देखाउँदा मात्रै पिर हुन्छ भन्ने होइन । हाम्रो केस नै फरक पर्यो । श्रीकृष्णजीको कालगतिले मृत्यु भयो, दिनेशजीको हत्या भयो । मैले दिनेशजीका लागि फाइट गर्नु छ, त्यसैले अलिकति बोल्ड भएर आएकी हुँ । मैले ममीड्याडीलाई पनि सम्हाल्नुपर्छ । म नै कमजोर भएँ भने मेरो परिवारलाई कसले सम्हाल्छ ? बिहे भएको एक महिनामै श्वेताजीले पति गुमाउनुभएको छ, उहाँ कति दु:खी हुनुभएको छ, त्यो म फिल गर्न सक्छु । मेरो पनि बिहेमात्रै नभएको न हो, कुरा छिन्नु भनेको त्यो मान्छेलाई आफ्नो मान्नु पनि हो । त्यो दु:ख मसँग पनि छ । सानैदेखि म मेरो ममीड्याडीलाई पालेर बस्छु, मदर टेरेसा हुन्छु भन्ने सोच्थेँ। सायद त्यस्तै पो हुने हो कि। अब बिहे मेरो प्राथमिकतामा छैन।
यो पनिः
चरीको इन्काउन्टरपछि खुश्बुको पूर्वप्रेमी अर्पण कोइराला के भन्छन् ?