तीन जनालाई ‘वानीरा पुरस्कार’

काठमाडौं, २०८० चैत ९ गते-
सात दशकदेखि सिर्जनामा समर्पित रही विशेषतः कविता, कथा, उपन्यास र समालोचनाको संवृद्धिमा उल्लेख्य योगदान पुर्याएबापत प्रा.पुष्कर लोहनीलाई ‘वानीरा प्रज्ञापुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ।

यसै गरी नेपाली रङ्गमञ्च तथा चलचित्रकलामा विगत छ दशकदेखि निरन्तर समर्पित रही नाट्यकलाको विकासमा विशिष्ट योगदान गरेबापत नाट्यभूषण श्री मदनदास श्रेष्ठलाई ‘वानीरा शङ्कर पुरस्कार’ समर्पण गर्ने निर्णय भयो।

यी दुवै पुरस्कारका राशि जनही एक लाख रुपियाँ रहेका छन्।

साथै कथा र कविताको सिर्जनामा समर्पित रही नेपाली साहित्यको संवर्धनमा उल्लेख्य योगदान दिएबापत श्रीमती अनिता तुलाधरलाई पचास हजार रुपियाँ राशिको ‘वानीरा पुरस्कार’ समर्पण गर्ने निर्णय भयो।

नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीको ८१ औँ जयन्तीका अवसरमा आगामी वैशाख २८ गते काठमाडौंको मीनभवनस्थित वानीरा फाउन्डेसनको सभाकक्षमा यी पुरस्कारहरु समर्पण हुनेछन्।

वानीरा फाउन्डेसनका संस्थापक, संरक्षक तथा दाता ई.शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको वानीरा फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको हो।

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
वानीरा फाउन्डेसन





Comments

comments

110838