हराए सैँतिस हजार परीक्षार्थी

काठमाडौँ, यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मङ्गलबार सकिँदै छ तर यस पटक एसइईमा सहभागी हुन परीक्षा फाराम भरेका ३७ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित रहेका छन्।

यति धेरै परीक्षार्थी किन अनुपस्थित भए भन्ने विषयमा सरोकारवाला निकायसमेत अनभिज्ञ छ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा सहभागी हुन पाँच लाख चार हजार विद्यार्थीले फाराम भरेका थिए । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले चार लाख ७५ हजारले मात्रै प्रवेशपत्र लिएको बताउनुभयो । उहाँले प्रवेशपत्र लिएकामध्ये पनि आठ हजार जनाभन्दा बढी परीक्षामा अनुपस्थित रहेको जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षामा मुलकभरबाट चार लाख ६७ हजार जना मात्रै उपस्थित भएका छन् । “यति धेरै परीक्षार्थी किन अनुपस्थित रहे भन्ने हाम्रो लागि पनि चासोको विषय बनेको छ । जिल्लागत रूपमा बुझ्ने कोसिस गरेका छौँ तर यस विषयमा निष्कर्ष निकाल्न निकै कठिन देखिएको छ,” उहाँले भन्नुभयो।

एसइईमा सहभागी हुने विद्यार्थीले कक्षा नौमा रजिस्ट्रेसन फाराम भर्नु पर्छ । त्यसरी फाराम भरेकामध्ये केही विद्यार्थी कक्षा नौको वार्षिक परीक्षा नतिजामा चित्त बुझेन भने सोही कक्षा दोहोर्‍याउन चाहन्छन् । जसले गर्दा एसइईमा सहभागी हुने तथ्याङ्क घट्छ । त्यस्तै कतिपय निजी स्कुलले कमजोर नतिजा भएका विद्यार्थीलाई आफैँ कक्षा नौमा दोहोर्‍याउन पनि लगाउँछन्। यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।





Comments

comments

112388