रोशन मेवाहाङ / एचके नेपाल डट कम-
लण्डन फाल्गुन १९ । बेलायतमा कार्यरत नेपाली पत्रकारहरुको संस्था नेपाल पत्रकार महासंघ युके शाखाको आगमी ६ मार्च आइतबार लण्डनमा हुने तेश्रो अधिवेशनको चुनावी पारो तातिँदै गईरहेको छ।
अध्यक्ष पदमा नरेश खपाङ्गीमगर सर्वसम्मत भएका छन् भने वरिष्ठ उपाध्यक्ष पदमा श्याम लुइँटेल र धर्मराज अधिकारी चुनावी मैदानमा उत्रिने स्रोतले जनाएको छ।
रेडियो सगरमाथामा एक वर्ष, जनमञ्च साप्ताहिकमा डेढ वर्ष, राजधानी दैनिकमा ८ वर्ष काम गरिसकेका लुइँटेल अहिले महासंघको महासचिव पदमा कार्यरत छन् । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर सकेका लुइँटेलले करिब ८ वर्षअघि नै पत्रकार महासंघ राजधानी शाखाको सभापति चलाइसकेका छन्। उनी अहिले बेलायतबाट संचालिन वीनेपाली डटकमका समाचार संयोजक छन्। उनका प्रतिस्पर्धी अधिकारी अहिले नेपाल ब्रिटेन डटकममा समाचारदाता रुपमा रहेका छन्। उनी यसअघि नेपाली टिभीमा कार्यरत थिए।
महासचिवमा पदमा पुराना पत्रकार लीलामान शेरपुञ्जा र गजलकार नारायण गाउँले प्रतिस्पर्धामा छन् । २०४३ सालमा सूर्य साप्ताहिकबाट पत्रकारितामा प्रवेश गरेका शेरपुञ्जा युकेबाट संचालित एभरेष्ट टाइम्स साप्ताहिकका संस्थापक सम्पादक हुन्। शाखा स्थापनाकालदेखि नै महासंघमा आवद्ध शेरपुञ्जा यसअघि कोषाध्यक्ष थिए भने हाल सचिव पदमा कार्यरत छन्। महासचिवका अर्का उम्मेदवार गाउँले पत्रकारभन्दा साहित्यकारका रुपमा परिचित छन् । गजलमा स्नातकोत्तर गरेका उनी एनआरएनए युकेको भाषा सँस्कृति विभागका संयोजक बनेका छन् । चोटिलो फेसबुक स्टाटस लेख्ने गाउँले कुनै मिडियामा भने आवद्ध छैनन्।
उपाध्यक्ष पदमा ध्रुवराज अर्याल र मिलन शर्मा भिड्दैछन्। अर्याल नेपालमा एबीसी रेडियो, एबीसी टेलिभिजनमा काम गरेका थिए । युके आएपछि उनले नेपाली टिभी, नेपालीपत्र साप्ताहिक हुँदै अहिले हिमालय मेल डटकममा कार्यरत छन्। अर्का उम्मेदवार शर्मा रेडियो राइनोमा कार्यरत छन्।