साजन आलेलाई छैठौँ ‘बिग आइकन’ को उपाधि

रेम बिक / एचकेनेपाल डट कम –
पोखरा, २५ फागुन । चितवन पटिहानीका साजन आले छैठौँ सँस्करणको बिग आइकन बनेका छन्। तीन जना फाईनलिस्ट सृष्टि गुरुङ, अनु गुरुङ र अम्बिका पुनलाई पछाडि पार्दै साजनले बिग आइकनको टाईटल जितेका हुन्।

बिग आइकनको टाईटलसँगै साजनले १ लाख ७५ हजार रुपैयाँ बराबरको हिरो ड्यास स्कुटर र दुई हप्ते बेलायतको साँगीतिक यात्रा गर्ने अवसर प्राप्त गरेका छन्।

खचाखच दर्शकमाझ मंगलबार पोखरा सभागृहमा भएको ग्राण्ड फिनालेमा अभिनेत्री करिश्मा मानन्धरले साजनलाई विजेता घोषणा गरेकी थिईन्।

साजनलाई नेपाल जनरल मार्केटिङ ज्योती ग्रुपकी प्रबन्ध निर्देशक सुरुची ज्योतीले हिरो ड्यास स्कुटरको साँचो हस्तान्तरण गरिन्। त्यस्तै केहि समयपछि साजन साँगीतिक यात्राका लागि काठमाण्डौ थापाथलीस्तिथ द ब्रिटिश कलेजको प्रायोजनमा बेलायत भ्रमणमा निस्कनेछन्।

विजेता बनेसँगै साजनले आफूलाई भोट गरेर जिताउने सम्पूर्ण शुभचिन्तक र स्रोतालाई धन्यवाद दिए। विजेता बन्न आफ्नो लागि ठुलो उपलब्धि भएको बताउँदै बिग आइकन जस्तो ठूलो मञ्च प्रदान गर्ने बिग एफएमप्रति उनले आभार व्यक्त गरे। साथै नेपाली साँगीतिक क्षेत्र आफूले अझै धेरै गर्नु बाँकी रहेको भन्दै बिग आइकनको साख जोगाउन हरप्रकारको प्रयत्न आफूले गर्ने उनले उद्घोष गरे।

त्यस्तै बिग आइकनको फस्ट रनरअप पोखरा मालेपाटनकी अनु गुरुङ बनिन् । टाईटलसँगै उनले नगद ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।

अम्बिका पुन सेकेन्ड रनरअप भएर ५० हजार रुपैयाँ पुरस्कार हात पारिन् भने थर्ड रनरअप हुँदै सृजनाचोककी सृजना गुरुङले २५ हजार रुपैयाँ जितिन्।

फाईनलमा पुगेका सम्पूर्ण प्रतिस्पर्धीले बिग आइकनको कारणले साँगीतिक क्षेत्रमा आफूहरुको छुट्टै पहिचान भएको भन्दै बिग एफएमलाई धन्यबाद दिए । साथै उनीहरुले फाईनलसम्म पुग्न सहयोग गर्ने स्रोता र निर्णायकहरुलाई पनि धन्यबाद दिए।

यो पटकको बिग आइकनमा श्यामसुङ तामाङ, कर्ण दास, विवेक श्रेष्ठ, सुनील थापा र विनोद बाँनिया निर्णायक रहेका थिए । मंगलबार भएको छैठौँ बिग आइकनको ग्राण्ड फिनालेमा उत्कृष्ट १० प्रतिस्पर्धीले पनि आफ्नो प्रस्तुती राखेका थिए । प्रतियोगीहरुले गीत प्रस्तुत गर्दै गर्दा यो पटक कोरसहरु स्टेजमा नाचेका थिए। सम्पूर्ण गीतमा राखिएका नृत्यलाई रोहन नेपाली ‘शिव’ले कोरियोग्राफी गरेका थिए।

बिग आइकनको प्रमुख अतिथिको रुपमा कार्यक्रममा आएकी अभिनेत्री करिश्मा मानन्धरले साँगीतिक प्रतिभाहरुको लागि यति वृहत मञ्च खडा गरिदिएकोमा बिग एफएमलाई धन्यबाद दिईन् । मोफसलमा रहेको एउटा एफएमले राष्ट्रियस्तरमा प्रभाव राख्ने यस्तो खाले कार्यक्रम गर्नु निकै सुखद कुरा भएको उनले बताईन् । साथै उनले यस्तो खाले कार्यक्रमलाई निरन्तरता दिन आग्रह समेत गरिन्।





Comments

comments

Leave a Reply

11551