मृत फेला परेकी भेनिसाले फेसबुकमा लेखेकी थिइन्: ‘मैले नि धेरै माया गर्ने मान्छे पाए हुन्थ्यो नि!’

मैले नि धेरै माया गर्ने मान्छे पाए हुन्थ्यो नि!

आइतबार माघ २४ मा फेसबुकमा रहेको भेनिसा लिम्बुको स्ट्याटस हो यो, जो २० दिनपछि नगरकोटको बाँसको झ्याङमा मृत फेला परिन्।

लिम्बुबारे महानगरीय प्रहरी अपराध महाशाखाले सार्वजनिक गरेको अनुसन्धान विवरण अनुसार जुन समय उनले धेरै मायाको आकांक्षासहित सामाजिक सञ्जाल फेसबुकमा सन्देश सम्प्रेषण गरेकी थिइन्, त्यो बेला उनी राजन राईसँग सम्बन्धमा थिइन्।

प्रायः दैनिक फेसबुकमा तस्बिर पोस्ट गर्न रुचाउने उनको राजनसँगको भेट त्यही सामाजिक सञ्जालले नै गराइदिएको थियो। फेसबुक पेजमा उनलाई पछ्याउने १३ हजार २ सय ६४ जनामध्येका एक राजनसँग उनको भर्चुअल दोस्ती ३ महिनाअघि भएको थियो। उनीहरु भर्चुअल संवादबाटै निकट बने। भेटघाटबाट आत्मीय रुपमा अगाडि बढेको सम्बन्ध फागुन ८ मा लिम्बुको हत्यासँगै दुखान्त मोडमा पुगेर टुंगियो।

कच्चा सम्बन्धले लिम्बुको ज्यान गयो। उनको हत्या अभियोगमा राजनसँगै सन्नी लामा र सजित लामा प्रहरी हिरासतमा पुगे। प्रहरी अर्का एक युवकको खोजीमा छ।

‘अहिलेसम्मको अनुसन्धानमा ४ जना युवाले भेनिसाको हत्या गरेको देखिएको छ,’ घटनाको अनुसन्धान गरिरहेको महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने, ‘तीन जना हाम्रो नियन्त्रणमा आइसके, अर्का एक जनाको खोजी भइरहेको छ।’

कपन, सरस्वतीनगर बस्दै आएकी धनकुटा, राजारानीकी २० वर्षीया भेनिसा लुम्बिनी एकेडेमीमा पढ्थिन् भने चाबहिल भत्केको पुलमा रहेको हेरिटेज स्कुलमा शिक्षिकाका रुपमा कार्यरत थिइन्। फागुन ८ गते साथीसँग घुम्न सरस्वतीनगरको घरबाट निस्केकी उनी घर फर्किइनन्।

परिवारका सदस्यले २ दिन बाटो हेर्दासमेत उनी नफर्केपछि फागुन १० गते महानगरीय प्रहरी वृत्त बौद्धमा युवती हराएको निवेदन दिए। प्रहरीले खोजतलासका लागि अन्य कार्यालयमा सर्कुलर गर्यो१। १४ गते भक्तपुरको बाँसझ्याङमा युवतीको शव फेला परेको खबर नागरिक दैनिकमा छ।

यसरी भएको थियो भेनिशाको हत्याः (अडियो रिपोर्ट)





Comments

comments

Leave a Reply

11742