मालिस अर्थात् थेरापीमा जनसाधारणको आकर्षण बढ्दै गएको पाइन्छ।
शरीरिक स्वास्थ्य कायम राख्न तथा लागिसकेको रोग निको पार्न पनि मालिस उपयोगी हुने विज्ञहरू बताउाछन्। तर, मालिस गर्ने गलत तरिकाले शरीरमा थप समस्या ल्याउन सक्ने खतरा पनि रहन्छ।
आखिर, के हो मालिस ? र, किन गर्ने ? होलिस्टिक हेल्थ अभियन्ता डा. डिबी सुनुवार भन्छन् : मालिसले शारीरमा रोगप्रतिरोधी क्षमता बढाउँछ। आफूले आफैँलाई र एकले अर्कालाई गर्ने गरी दुई प्रकारका मालिस बढी चलनमा देखिन्छन्।
कतिपय विज्ञले मालिसलाई सर्जरीसँग तुलनासमेत गरेका छन् । सर्जरीले शरीरको भित्री भागको विकार फालेजस्तै मालिसले पनि शरीरको विकार रगतद्वारा फालेर शरीर बलियो बनाउँछ।
तालसहित मोल्नु, थुम्थुम्याउनु, दुई औँलाले रगड्नु, दुई हातले चुरा आकारमा बटार्नु, कुइना वा हत्केलाले दबाउनु, हलुका हातले मांसपेशीलाई हल्लाउनु, अंगलाई चलायमान बनाउन ठाडो थपडी हान्नु, औँलाले ठोक्नु, ताली बजाएजस्तो आवाज निकालेर थप्थपाउनु, अञ्जुलीले हान्नु तथा कम्पन दिनुजस्ता हातका विभिन्न कला प्रयोग गरी मालिस गर्ने चलन चलिआएको छ । रोगको प्रकृतिअनुसार मालिसका शैली अपनाइन्छ।
रोगअनुसार चिसो मालिस, तातो मालिस, चिसो–तातो मालिस, सुक्खा मालिस, पाउडर मालिस, तेल मालिस, माटो मालिस तथा बिजुली मालिससमेत अपनाइन्छ । मालिसले अनिद्रा, दम, पागलपन, उच्च रक्तचाप, मधुमेह, पक्षघात, साइटिका, बाथ, मोटोपन, पातलोपन, छालाको रोग, नसारोग र मानसिक रोगजस्ता शारीरिक तथा मानसिक दुवै प्रकारका समस्यामा लाभ दिने टिप्स नयाँपत्रिका दैनिकमा छ।
शरीर रक्षाका लागि खाना आवश्यक भएजस्तै दीर्घ स्वास्थ्यका लागि मालिसको आवश्यकता हुन्छ । तर, मालिस जथाभावी गराउनु घातक पनि हुन सक्छ । तालिमप्राप्त थेरापिस्टबाट विज्ञको निगरानीमा विधिवत् उपचार गराउनुपर्छ।