हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा २३ वर्षीय युवकको मृत्यु

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ८ डिसेम्बर। हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान तला (डिपार्चर लेभल) बाट खसेर आइतबार साँझ एक २३ वर्षीय चिनियाँ नागरिकको मृत्यु भएको छ।

-

प्रहरीका अनुसार साँझ ७ बजेको आसपास विमानस्थल कर्मचारीले टर्मिनल नजिकैको चिओङ होङ रोडमा ट्याक्सी स्ट्यान्ड अगाडि एक व्यक्ति अचेत अवस्थामा भुइँमा खसेको रिपोर्ट गरेका थिए।

उद्धार टोलीले तत्काल घटनास्थल पुगी घाइतेलाई नर्थ लान्ताउ अस्पताल पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषित गरे। मृतकको थर चेन रहेको र उनी दुईतर्फी अनुमतिपत्र लिएर हङकङ आएका पर्यटक भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट उनी डिपार्चर तहको सडक छेउबाट खसेको देखिएको छ। घटनास्थलमा आत्महत्यासम्बन्धी कुनै पत्र भेटिएको छैन। मृत्युको सही कारण पत्ता लगाउन शव शव परीक्षण गरिने भएको छ।

स्रोतका अनुसार मृतकमा पहिलेदेखि भावनात्मक रोगको इतिहास रहेको थियो। प्रहरीले घटनालाई दुर्घटना वा आत्महत्या दुवै कोणबाट अनुसन्धान गरिरहेको बताएको छ।





Comments

comments

134570