डा. गोपाल पौड्याल ‘मण्डने’को पुस्तक ‘How to Become the Best Ambassador’ विमोचन

काठमाडाैँ । प्रज्ञा भवनस्थित लेखनाथ कक्षमा मङ्सिर २० गते उमाकान्त पौडेल स्मृति प्रतिष्ठानको आयोजनामा डा. गोपाल पौड्याल ‘मण्डने’द्वारा लिखित पुस्तक ‘How to Become the Best Ambassador?’ को लोकार्पण तथा सार्वजनिकीकरण सम्पन्न भयो।

-

वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वरिष्ठ साहित्यकार, लेखक तथा अनुसन्धानकर्ता, नेपाली सेनाका पूर्व जर्नेल डा. प्रेमसिंह बस्न्यातज्यूले डा. गोपाल पौड्यालको व्यक्तित्व तथा लेखकीय खुबीको बारेमा र नेपालको राजनीति तथा कूटनीतिको विषयमा प्रकाश पार्नुभयो।

त्यसैगरी बेलायतस्थित नेपाली साहित्य विकास परिषद् युकेका संस्थापक, समाजसेवी तथा वरिष्ठ साहित्यकार श्री सुरेशजङ्ग शाहज्यूले डा. गोपाल पौड्यालको साहित्य र समाजसेवाप्रतिको लगाव, मेहनत तथा नेपाली साहित्यप्रति उहाँले गरेको माया र योगदान बेलायती इतिहासमा सुनौलो अक्षरले लेखिएको बताउनुभयो। उहाँले हरेक विधामा कलम चलाउन सक्ने डा. पौड्यालसँग बेलायतमा सँगै साहित्यिक यात्रा गरेको स्मरण गर्दै यो पुस्तकले समस्त राजदूतहरूलाई परिष्कृत गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

उक्त अवसरमा प्रमुख वक्ताका रूपमा काठमाडौँ विश्वविद्यालयका डिन, साहित्यकार तथा वरिष्ठ लेखक प्रा. डा. उद्धव प्याकुरेलज्यूले ‘How to Become the Best Ambassador’ पुस्तकको संक्षिप्त परिचय दिँदै यसले नेपाली कूटनीतिमा ठूलो योगदान पुर्‍याउने बताउनुभयो र लेखकलाई बधाई तथा धन्यवाद दिनुभयो। पुस्तकको प्रकाशन अक्षरमार्ग प्रकाशन, पनौती, काभ्रेले गरेको हो।

प्रकाशकको तर्फबाट श्री सूर्यप्रसाद लाकोजूले पुस्तक निकाल्दा भोग्नुपरेका अफ्ठ्यारा र पुस्तकलाई बैंकिमय राम्रो तथा गहकिलो बनाउन भरमग्दुर प्रयास गरेको बताउनुभयो। साथै डा. गोपाल पौड्यालजस्तो विज्ञ व्यक्ति आफ्नो काभ्रे जिल्लाले पाएको र उहाँको पुस्तक प्रकाशन गर्ने जिम्मेवारी आफूहरूले पाएकामा गौरवान्वित भएको धारणा राख्नुभयो।

लेखकको तर्फबाट डा. गोपाल पौड्याल ‘मण्डने’ले ‘म कवि भएर किन यो पुस्तक लेखेँ’ भन्ने कुराको व्याख्या गर्दै पुस्तकमा समावेश सबै च्याप्टरहरूको संक्षिप्त व्याख्या गर्नुभयो।

उक्त अवसरमा उमाकान्त पौडेल स्मृति प्रतिष्ठानका सचिव श्री रामप्रसाद पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो। प्रमुख अतिथि डा. तुलसी भट्टराईले डा. गोपाल पौड्यालजस्ता बहुआयामिक, बहुप्रतिभाशाली तथा बहुलेखकीय भूमिका निर्वाह गर्न सक्ने स्रष्टा कमै मात्र पाइने बताउँदै यो पुस्तकले नेपाली कूटनीतिमा ठूलो योगदान गरेको र नेपाली कूटनीतिक नियोगलाई ठूलो गुण लगाएको विचार व्यक्त गर्नुभयो।

अनिल पौडेलको सञ्चालनमा सुरु भएको कार्यक्रमको समापन गर्दै सभाका सभापति तथा उमाकान्त पौडेल प्रतिष्ठानका सभापति श्री कश्यप पौडेलले लेखक आफ्ना दाइ बच्चैदेखि लेख्ने बानी भएकाले आफू पनि प्रेरणा पाएर कथाकार भएको र कान्छा भाइ राम पौडेल नाटककार भएको प्रसङ्ग निकाल्दै उपस्थित सबैलाई धन्यवाद दिँदै सभा विसर्जन गर्नुभयो।

कार्यक्रममा हास्यव्यङ्ग्य पत्रिका फित्कौलिका प्रधान सम्पादक श्री नरनाथ लुइटेल, पूर्व सुरक्षाकर्मी परिषद्का सचिवज्यू, काभ्रेली समाजका पूर्व अध्यक्ष श्री प्रल्हाद केसीज्यू, साहित्यकार छन्द विनोद निरौलाज्यू, वरिष्ठ कवि कलानिधि दाहालज्यू लगायत हलमा खचाखच उपस्थित थुप्रै लेखक तथा साहित्यकारहरूको सहभागिता रहेको थियो।





Comments

comments

134581