धरानमै पहिलो पटक प्याराग्लाइडिङ प्रतियोगिता

सन्तोष काफ्ले / एचकेनेपाल डट कम –
धरान, १२ चैत्र। धरानसंगै पूर्वी नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्वेश्यले धरानमा राष्ट्रिय प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसीप प्रतियोगिता शुक्रबार शुरु भएको छ।

पूर्वमै पहिलो पटक चौथो माउण्टेन स्पोर्टस् फेस्टिवल अन्तर्गत आयोजित राष्ट्रियस्तरको सो प्रतियोगिताको धरान उपमहानगर पालिका कार्यकारी अधिकृतले उद्घाटन गर्नुभएको थियो।

धरान उपमहानगर पालिकाको विषेश सहयोग तथा धरानको मंगोलिएन कफी आवोर बराह ज्वेलरीको सहयोमा सुरु भएको प्रतियोगितामा नेपाल र विदेशी प्याग्लाइडिङ चालक गरी ६० जना सहभागी रहेपनि ४० जनाले प्रतिष्पर्धामा भाग लिएका छन्।

प्रतियोगितामा नेपाललगायत चीन, जापानका पाइलटको समेत सहभागिता रहेको छ। दुईदिन सम्म चल्ने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनलाई क्रमश २५, १५ र १० हजार नगद तथा ट्रफी र मेडल पाउने छन्।

राज्यले समेत साहसिक खेल पर्यटनलाई उपेक्षित गरिरहेको समयमा स्थानीय स्तरबाट नै आयोजन गर्न लागिएको प्रतियोगिता धरान २४ शिवहाङ डाडा (चिन्डे) डाडाबाट उडान भई धरान १७ एयरपोर्ट ग्राउन्डमा आएर टुंगिने छ।

प्रतिस्पर्धीहरुले ल्याण्डिङ गर्दा तोकेको घेरामा राखेको अण्डा सहजतरिकाले जसले फुटाउंछ त्यो प्रतियोगिताको विजय हुनेछ। अत्यन्तै जोश जाँगरका साथ पाइलटहरु विजयी हुनलाई तम्तयारका साथ उडानका लागि जोशिएका छन्।

प्याराग्लाडिङलाई पोखरापछि धरानलाई पूर्वाञ्चलमै विकल्पको रुपमा विकसित गर्दै लाने उद्देश्यले आयोजना गरिएको सो प्रतियोगिताले पूर्वाञ्चललाई नै साहसिक पर्यटनको रुपमा चिनाउन मद्धत पुग्ने आयोजकले अपेक्षा गरेको छ।

राष्ट्रिय खेलकुद परिषदको सहयोग तथा राष्ट्रिय प्याराग्लाइडिङ एण्ड ह्याङग्लाइडिङ एसोसिएसनको आयोजना र एक्स्ट्रीम धरानको संयोजन तथा व्यवस्थापनमा सुरु भएको प्रतियोगिताले पूर्वको पर्यटकीय क्षेत्रको अवलोकनका साथै पूर्वेलीहरुले नया अनुभव पाउने अपेक्षा आयोजकले गरेको छ।

साहसिक खेलको प्रवर्द्धन गर्न गठन भएको एक्सिस्ट्रिम धरानको मुख्य उद्देश्यले नै पोखरामा भएका साहसिक खेलको प्रवर्द्धन पूर्वमा समेत गर्ने र यसलाई निरन्तरता दिने रहेको आयोजक समितिका संयोजक तथा एक्स्ट्रीम धरानका अध्यक्ष लेखराज जिमीले बताउनुभयो।

महोत्सवसंगै पुर्वमा साहासिक खेल प्रर्यटनको राम्रो संभावना रहेको पुष्टि गरेको बताउदै उहाले यो कार्यक्रम सगै साहासिक खेलको लागि पोखराको विकल्पको रुपमा धरान स्थापित हुने विश्वास समेत व्यक्त गर्नु भयो।

बुढासुब्बा प्याराग्लाइडिङ प्रालिका सञ्चालक समेत रहनु भएका जिमीले नेपालमा पर्यटन विकासका लागि राज्यले चासो नदिएको बताउंदै यो खेलको प्रबर्द्धनका लागि पाइलट उत्पादनमा राज्यले चासो नदिएको आरोप समेत लगाउनुभयो। पूर्वमा यस्ता साहसिक पर्यटन पवद्र्धनका लागि सबै पक्ष मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो।

धरानलाई पर्यटकीय क्षेत्र नगरीको रुपमा विकास गर्न धरान उपमहानगरपालिकाले विभिन्न काम गरेपनि सोचेजस्तो सफलता हासिल हुन नसकेको समयमा धरानमा युवाहरुले भित्र्याएको साहसिक खेलले पर्यटन विकासमा एउटा इटा थपिएको धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिका दत्त राईले बताउनुभयो।

उहाँले धरान उपमहानगरपालिकाले पनि सबैसंग सहकार्य गरेर पर्यटन विकासका लागि अघि बढ्ने नीति लिएको भन्दै केह गर्न खोज्नेका लागि नगरपालिका खुलेर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

केही समय अगाडि अत्यन्तै उराठलाग्दो डाडाको रुपमा परिचित चिन्डेडाँडाबाट उडान शुरु गरेपछि यस क्षेत्रको विकास हुनेमा सर्वसाधारणले आशा राखेका छन् । सरकारले यस क्षेत्रको विकासका लागि प्राथमिकताका साथ हेर्न उनीहरुले आग्रह समेत गरेका छन्।

विहीबार नै टेष्ट फाइट पछि पाइलटहरु समेत धरानको आकाशमा उड्न सहज रहेको र वातावरण समेत राम्रो भएको वताएका छन्। विहीबार मात्र ७० उडान भएको थियो भने शुक्रबार प्रतियोगीहरुको ४० सहित ६०भन्दा बढि उडान गरिको थियो।

फेष्टिवल अवधिभर चिन्डे डाडावाट व्यवसायिक उडान नगरिने भए पनि आयोजक तथा प्रायोजकहरुलाई भने उडाइएको थियो भने धरानमा विगत ६ महिनादेखि व्यवसायी उडान गर्दै आएको स्काई एड्भेञ्चर प्रालिले भने धरान २० छाटी मोरङवाट १० प्रतिशत छुटमा उडान गरिरहेको छ।

स्काइसंगै बुढासुब्बा प्याराग्लाइडिङ प्रालिले समेत धरानमा व्यवसायीक उडानको तयारी गरिरहेको छ। बुढासुब्बा प्याराग्लाइडिङ प्रालिले अहिले प्रतियोगिता भएको स्थान धरान २४ वाट व्यवसायीक उडानको तयारी गरेको हो।

नेपाल प्याराग्लाइडिङ एण्ड ह्याङग्लाइडिङ एशोसिएशनको टेक्निकल टोलीले उडान गर्ने स्थान (टेकअफ)को प्राविधिकरुपमा अध्ययन गरिसकेको अवस्थामा अहिलेलाई धनकुटाको भेडेटार र धरान २४ को चिण्डे डाडा उडानका लागि उपयुत्त स्थान बताइसकेपछि पूर्वाञ्चलबासी यसको विकासका लागि अझ हौसिएका छन्।





Comments

comments

Leave a Reply

11756