पाँचखालमा शान्ति सेनाको अन्तर्राष्ट्रिय दिवस

काठमाडौँ । नेपाली सेनाले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा आज राष्ट्रसङ्घीय शान्ति सेनाको अन्तर्राष्ट्रिय दिवस मनाएको छ । नेपाली शान्ति सैनिकले विश्वशान्तिमा पुर्याएको योगदानको स्मरण गर्दै विविध कार्यक्रम गरी उक्त दिवस मनाएको हो ।

विश्व शान्ति स्थापनार्थ शान्ति सैनिकले पुर्याएको योगदानको स्मरण गर्दै संयुक्त राष्ट्रसङ्घले प्रत्येक वर्ष मे २९ मा शान्ति सेनाको अन्तर्राष्ट्रिय दिवस मनाउँदै आएकामा यसवर्ष आज मनाएको हो । यस वर्षको दिवसको नारा ‘भविष्यको लागि फिट, सँगै राम्रो निर्माण’ भन्ने रहेको थियो ।

कार्यक्रममा विश्वशान्ति स्थापनार्थ आफ्नो जीवन आहुती दिने सैनिक परिवारलाई राष्ट्रसङ्घले मरणोपरान्त प्रदान गरिएको ‘ड्याग ह्यामर सोल्ड’ पदक र प्रधानसेनापति प्रभुराम शर्माद्वारा प्रदान गरिएको प्रशंसापत्र हस्तान्तरण गरियो ।

सेनाको युद्धकार्य विभाग प्रमुख उपरथी प्रेमध्वज अधिकारीले वीरगति प्राप्त जमदार थिरप्रसाद गौतम, प्युठ दीपेन्द्र वस्ती, अमल्दार स्वर्गीय अनिल गुरुङ र हुद्दा पशुपति कार्कीका परिवारजनलाई उक्त पदक तथा प्रशंसापत्र प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कार्यक्रममा गत वर्ष शान्ति सैनिकको रूपमा तैनाथ रही विश्व शान्ति स्थापनार्थ अतुलनीय योगदान पु(याएका सह–सेनानी रुकेश नेपाली, सुबेदार नवराज गिरी र हुद्दा भुवन भुजेललाई प्रधानसेनापतिद्वारा प्रदान गरिएको कदरपत्र हस्तान्तरण गरिएको छ ।

लेबनानमा संयुक्त राष्ट्र पर्यवेक्षण समूहको मिसनमा पाँच जना नेपाली सैनिक पर्यवेक्षकको सहभागिता जनाउँदै सन् १९५८ बाट सुरुवात भएको विश्व शान्ति कार्यमा नेपाली सेनाको योगदान साठी वर्ष भन्दा पुरानो छ ।

हालसम्म विश्वका विभिन्न ४४ मिसनमा नेपाली सेनाका एक लाख ५१ हजार चार सय ९१ जना शान्ति सैनिकले विश्व शान्ति स्थापनार्थ विशिष्ट योगदान दिइसकेका छन् । सो क्रममा ७३ जनाले वीरगति प्राप्त गरेको निर्देशनालयले जनाएको छ ।

हाल पाँच हजार आठ सय ८३ जना नेपाली शान्ति सैनिक विश्वका विभिन्न ११ वटा शान्ति मिसनमा तैनाथ छन् । अहिले विश्वमा शान्ति सैनिक खटाउने मुलुकको सूचीमा र महिला शान्ति सैनिक खटाउने राष्ट्रमा नेपाल पहिलो स्थानमा छ ।

शान्ति मिसनमा छ सय ६१ जना नेपाली महिला शान्ति सैनिक छन् । हालसम्म दुई हजार छ सय ९४ जना नेपाली महिला शान्ति सैनिकले विभिन्न शान्ति मिसनमा योगदान दिइसकेको सेनाले जनाएको छ ।

रासस





Comments

comments

118304