कोलोराडोमा सक्रिय संस्था रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको २२ औं साधारणसभा सम्पन्न

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
अमेरिका, कोलोराडो। कोलोराडोमा रहेका नेपाली समुदायबीच सक्रिय जेठो संस्था रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको २२ औं बार्षिक साधारणसभा एक समारोहबीच सम्पन्न भएको छ।

नेपालीहरुको आस्थाको केन्द्र नेपाली घरमा शनिबार बिहान १० बजेदेखि दिउसो १ बजेसम्म आयोजित साधारण सभा बिभिन्न कार्यक्रमका साथ सम्पन्न भएको हो । कार्यक्रममा कोलोराडोमा सक्रिय संघ संस्थाका पदाधिकारी, बुद्धिजीवी, समाजसेवी, कलाकार, व्यवसायी ,पत्रकार, गन्यमान्य तथा नेपालीभाषी बाआमा, दाजुभाइ, दिदीबहिनीहरुको उपस्थिति रहेको थियो ।

समाजसेवीद्वय रोहीणीकुमार शर्मा र विजयराज शर्माको विशेष उपस्थितिमा सम्पन्न २२ औं साधारण सभाले संस्थाका उपाध्यक्ष बिकाश त्रिपाठीद्धारा पेश गरिएको आर्थिक प्रतिवेदन र अध्यक्ष अर्जुन बगालेद्धारा पेशगरिएको संस्थाको प्रगती प्रतिवेदन तथा भावी कार्ययोजना बिभिन्न सुझावसहित पारित गरेको थियो।

संस्थाका अध्यक्ष अर्जुन बगालेको अध्यक्षतामा सम्पन्न साधारण सभामा उपस्थित बिभिन्न संस्थाका पदाधिकारी तथा बुद्धिजीवी समाजसेवीहरुले संस्थाको बार्षिक साधारणसभाको सफलताको कामना गर्दै भावी कार्ययोजनाकालागि बिभिन्न सुझाव तथा सहयोगको प्रतिबद्धता जनाएका थिए । वक्ताहरुले बिशेषगरी यहींको रहनसहनमा हुर्के बढेका दोश्रो पुस्ताका युवाहरुलाई संगढ्दै अघि बढ्न, युवा लक्षित र्कायक्रमहरु बनाउन, कार्यसमितिमा उनीहरुको उल्लेख्य प्रतिनिधित्व हुने वातावरण सृजना गर्न, तथा संस्थाको स्थापना कालदेखि निरन्तर आयोजना गरिदैआएको दशैं तिहार, नेपाली नयांबर्ष तथा समर पिकनिकलाई परिमार्जन गदै युवा लक्षित बनाई उनीहरुको सहभागिता बढाउदै पुस्तान्तरण गर्ने बतावरण सृजना गर्न सुझाव दिएका हुन् । यदी अब रणनीतिका साथ अघि नबढे हाम्रो भाषा संस्कृति बिस्तारै लोप हुने भन्दै कोलोराडोकै सबैभन्दा पुरानो संस्थाबाट पुस्तान्तरणको लागि बिशेष पहल गर्न सुझाव दिएका थिए।

संस्थाका निवर्तमान अध्यक्ष टिका पौडेलद्धारा अतिथिहरुलाई स्वागत गरिएको कार्यक्रम पब्लिक रिलेशन अफिसर तेजप्रसाद ढकालले सञ्चालन गरेका थिए । कार्यक्रममा अन्तर्राष्ट्रिय साहित्य समाजको हालै सम्पन्न निर्वाचनमा महासचिव र कोषाध्यक्ष पदमा निर्वाचित कोलोराडो निवासीद्धय राजु सिटौला र तारा अधिकारीलाई सम्मान गरिएको थियो। त्यसैगरी सोही समारोहमा कोलोराडोमा सक्रिय संस्था नेपाली घरको हालै सम्पन्न निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचित गंगा चौलागाई र रिसोर्स तथा फेसीलिटी अफिसर पुस्कर बस्नेतलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा बल्ड डोनर्स अफ अमेरीका कोलोराडो च्याप्टरले आयोजना गरेको रक्तदान कार्यक्रममा रकी माउन्टेन फ्रेन्डस् अफ नेपालले बिशेष योगदान गरेको भन्दै संस्थाका अध्यक्ष डा. शारदा काफ्ले त्रिपाठीले रकी माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष अर्जुन बगालेलाई मायांको चिनो प्रदान गरी सम्मान गरेकी थिईन्।

कार्यक्रममा संस्थाका अध्यक्ष बगालेले यहां बसोवास गर्दै आएका नेपाली भाषी दाजुभाइ दिदीबहिनीहरुबीच एकता, सद्धभाव र एक आपसमा सहयोगको भावना बिकास गर्न, हाम्रो भाषा संस्कृतिको जगेर्ना गर्दै भावी सन्ततीमा पुस्तान्तरण गर्ने वातावरण सृजना गर्न संस्थाले स्थापना कालदेखि बिभिन्न र्कायक्रम आयोजना गर्दै आएको भन्दै आगामी दिनमा पनि यहाँहरु सबैको सल्लाह सुझावलाई आत्मसात गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले बार्षिक साधारणसभामा उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए।





Comments

comments

121997