कोलोराडोको लङमन्टमा आयोजना हुने नेपाली जात्रामा हिरण्य भोजपुरे दम्पत्ती स्थानीय सिटीद्वारा अभिनन्दित हुदै

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो, अमेरिका। नेपालीहरुको बाक्लो बसोवास रहेको कोलोराडोको लङमन्ट सिटीमा आयोजना हुने नेपाली जात्रामा कलाकार तथा समाजसेवीद्वय हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठलाई स्थानीय लङमन्ट सिटीले अभिनन्दन गर्ने भएको छ।

हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठ दुवै नेपाली गीत, संगीत, कला र साहित्यका बिशिष्ठ प्रतिभा हुन । दुबैले बिगत ६ दशकदेखि नेपाली गीत संगीत र साहित्यको सेवामा अनवरत लागिरहेका छन्। यी दुबै नता सम्बन्धले श्रीमान श्रीमती पनि हुन्। उनीहरूले सन् १९६७ देखि लेकाली परिवार ब्याण्डमा अबद्द भइ एकल वा संयुक्त रुपमा धेरै गीत संगीतमा स्वर भरेका छन्। नेपाली समाज र नेपाल राष्ट्रको सेवामा उनीहरुले पुर्याएको योगदानको उच्च कदर गर्दै कोलोरडोवासी नेपालीहरुको पहलमा Longmont city मार्फत उनीहरुलाई अभिनन्दन गर्न लागिएको हो।

हिरण्य भोजपुरे नेपाली गीत,संगीत र साहित्यका प्रतिष्ठित व्यक्तित्व हुन । बिसं १९९९ मा भोजपुर जिल्लामा जन्मिएका भेजपुरेले साठीको दशकमा गणेश रसिकसँग मिलेर प्रभावशाली लेकाली ब्यान्डको सह स्थापना गरे । जसले ग्रामीण विषयवस्तुहरूलाई साधारण भाषामा मिसाएर सामाजिक मुद्दाहरूलाई सम्बोधन गर्ने नेपाली संगीतको एक अनौठो शैलीको नेतृत्व गर्‍यो । लहरा पहारा छहराको देश , हर हर महादेव पानी दे जस्ता गीतहरू आजसम्म उत्तिकै लोकप्रिय छन्। संगीतसंगै उनको लेखनमा पनि उत्तिकै रूची रहेको छ । निबन्ध, उपन्यास, र छोटो कथाहरू समेटेर धेरै पुस्तकहरू प्रकाशन गरेका छन्।

त्यसैगरी पूर्वसचिव, गायिका तथा समाजसेवी उर्मिला श्रेष्ठलाई प्रेरणा र महिला सशक्तिकरणको स्रोतको रूपमा चिनिन्छ । जसले आफ्नो कलात्मक, गायन र लेखकको रूपमा आफ्नो प्रतिभालाई नेपालको सरकारी सेवामा प्रतिष्ठित करियरसँग मिश्रण गरेकी छिन्। उनले महिलाहरूको उत्थान र लैङ्गिक समानतालाई प्रवर्द्धन गर्ने विभिन्न परियोजनाहरूको नेतृत्व गरेकी छिन्। एक सफल कलाकार र गायिका रूपमा, उर्मिलाले आफ्नो सिर्जनात्मक अभिव्यक्तिहरूमार्फत नेपाली कला संस्कृतिलाई समृद्ध बनाएकी छन्। नेपाल र नेपालीहरूका लागि यस्ता अमूल्य योगदान पुर्रयाएका जोडीको उच्च कदर गर्दै लङमन्ट सिटीले अभिनन्दन गर्न लागेको जनाएको छ।

नेपाली जात्रा स्थानीय सरकार तथा स्थानीय संघ संस्थाहरूको सहयोग तथा समन्वयमा लङमन्टमा सन् २०२२ देखि आयोजना हुदै आएको छ । स्थानीय सुनन्दा डंगोलको संयोजन तथा कोलोराडोमा कृयाशिल नेवाःखलः, INLS, नेपाली घरलगायत बिभिन्न नेपाली संघ संस्थाहरुको बिशेष प्रस्तुती रहने नेपाली जात्रा यही जुलाई २० तारिख शनिबार दिउसो ३.३० देखि सांझ ७ बजेसम्म लङमन्ट डाउनटाउन आयोजना हुदैछ । जात्रामा लाखे, कुमारी, लाइभ ब्याण्ड, तथा अन्य बिभिन्न सांस्कतिक कार्यक्रमहरू प्रर्दशन गरिने योजना रहेको सुनन्दाले बताएकी छिन्। त्यसैगरी जात्रामा स्थानीय बोल्डर काउन्टीले के कस्ता सेवा तथा सुबिधाहरु दिदै आएको छ भन्ने जानाकारी दिने स्टल लगायत अन्य बिभिन्न सुचना मुलक स्टलहरु रहने छन्।

हामी नेपालीहरुले अहिलेसम्म हाम्रै समुदाय लक्षित कार्यक्रम मात्र गर्दै आएका छौ । यसबाट यहाका स्थानीय सरकारलाई हामी को हौं, काहांबाट आयौ, हाम्रा सांस्कृतिक चाल चलन के कस्ता छन् भन्ने केही थाहा हुदैन । तर यो नेपाली जात्रा कार्यक्रम भनेको यहाका स्थानीय दर्शक लक्षित कार्यक्रम हो । सबै दर्शकहरुलाई निशुल्क प्रवेश हुने कार्यक्रम भएकोले यहाँका स्थानीयको उल्लेख्य सहभागीता रहने डंगोलको विश्वास छ । जसबाट हाम्रो परिचयसंगै थोरै भएपनि नेपाली भाषा संस्कृतिको संरक्षण तथा पहिचाहनमा टेवापुग्ने उनको दावी छ।

स्थानीय आदिवासी धेरै कम भएको अमेरीकामा संसार भरीका मानिसहरुको बसोबास रहेको छ । बिभिन्न देशका मानिसहरु आउंदा उनीहरुको भाषा संस्कृतिसंगै आएको हुन्छ । त्यस्ता भाषा संस्कृतिको जगेर्ना गर्न यहाका हरेक सिटीले कार्यक्रम बनाएको हुन्छ । त्यस्ता कार्यक्रमहरु सिटीसंग समन्वय गरेर उनीहरुका माझ कार्यक्रम देखाउंदै जान सकेमात्र नेपाल र नेपालीको पहिचाहन बिश्वभर गराउन सकिन्छ।





Comments

comments

122451