अोली सरकार गिराउने सुत्रधारहरुः महरादेखि खड्कासम्म

काठमाडौं, २३ वैशाख । एमाले अध्यक्ष केपी ओली नेतृत्वको वर्तमान सरकार फाल्नका लागि एमाओवादी र कांग्रेसका केही नेताहरूको प्रमुख भूमिका रहेको स्पष्ट देखिएको छ ।

उनीहरूलाई एमालेकै केही नेताहरूले गोप्य रुपमा साथ दिएका छन् । ओली सरकार फाल्नका लागि कांग्रेसबाट विशेष गरेर नेता कृष्णप्रसाद सिटौला, डा.शेखर कोइराला र बालकृष्ण खाँड सक्रिय छन् ।

एमाओवादीबाट महासचिव कृष्णबहादुर महरा, जनार्दन शर्मा, वर्षमान पुनलगायतका नेताहरूले अभियान नै चलाए । उनीहरूले चलाएको गोप्य अभियानले अन्ततः खड्गप्रसाद ओली नेतृत्वको अलोकप्रिय सरकार बाहिरिने भएको छ।

ओलीलाई सत्ताच्युत गर्न एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको पनि ठूलो भूमिका छ । ओलीलाई अप्ठ्यारोपर्दा नेपाल समूहले कहिल्यै पनि बचाउ गरेन ।

बरु ओलीलाई राष्ट्रिय सहमतिको सरकारको प्रधानमन्त्री बनाउने भनेर हावा भाषण गर्दै आए । ओलीलाई गिराउन भारत पनि चाहन्थ्यो । भारतको चाहनालाई प्रमुख विपक्षी दल नेपाली कांग्रेसले ज्यान दिएर सहयोग गरिरहेको खबर यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ।

सरकार फाल्नका लागि विशेष गरेर एमाओवादीका महासचिव कृष्णबहादुर महराले चाहेका थिए । अख्तियारका कारण चिन्तामा डूबेका महरालाई एमालेका नेताहरूले अख्तियारमा बयानका लागि लैजाने तयारी गरेको थाहा पाएपछि उनले ओलीलाई सत्ताबाट हटाउन सुरुवात गरेका हुन् ।

ओली सरकारले द्वन्द्वकालिन मुद्दा ब्यूत्याएर एमाओवादीका नेताहरुलाई जेल हाल्न लागिएको समेत महराले खुलासा गरिसकेका छन् ।

त्यसो त अख्तियारले नेताहरुमाथि गर्न लागेको छानविनका सम्बन्धमा एमाले नेता सुरेन्द्र पाण्डे र राजेन्द्र पाण्डेले सहयोग गर्ने बताइसकेका छन् ।

पाण्डे दाजुभाईको अभिव्यक्तिसँगै महराले एमाओवादी नेताहरुलाई छानी–छानी जेल हाल्न लागिएको खुलासा गरेका हुन् ।

ओलीसँग रिसाएका कांग्रेसका अर्का सांसद तथा नेता अमरेशकुमार सिंह पनि सरकारविरुद्धको अभियानमा लागेका छन् । झण्डै एक महिना नयाँदिल्लीमा अड्डा जमाएर आएका सिंहले सरकार गिराउन भित्रभित्रै अभियान नै चलाए ।

अमरेशले यसपटक प्रचारमा भन्दा पनि भित्रभित्रै ओलीलाई ठूलो असहयोग गरे । सरकार गिराउने खेलमा कांग्रेस नेता खुमबहादुर खड्काले पनि राम्रै भूमिका खेलेका छन्।

भारतमा उपचारका लागि गएका बेला शक्तिकेन्द्रसँग छलफल गरी ओलीलाई सत्ताबाट हटाउन उनले दबाब दिएका थिए।





Comments

comments

Leave a Reply

12320