एकै रातमा प्रचण्डले कोल्टे फेरेपछि…

काठमाडौं, एकीकृत नेकपा (माओवादी)ले बुधबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेपछि एकाएक तातेको राजनीतिक वृत्तले २४ घण्टामै कोल्टे फेरेको छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दाहाललाई समर्थन गर्ने जनाएपछि नयाँ सरकार गठनमा अग्रसरता देखाएको एमाओवादी बिहीबार बिहान आइपुग्दा त्यसबाट पछि हटेको हो । बिहीबार बिहान एमाले वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम दाहाललाई भेट्न उनको लाजिम्पाटस्थित निवास पुगेका थिए।

उनीहरूले नीति तथा कार्यक्रम र बजेट ल्याउन दिन आग्रह गर्दै त्यसपछि प्रधानमन्त्रीले राष्ट्रिय सरकारका लागि मार्गप्रशस्त गर्नेमा आश्वस्त पारेको एमाओवादीका एक नेताले जानकारी दिए। आजको कारोबार दैनिकमा खबर छ।

खनाल र गौतमपछि लाजिम्पाट पुगेका कांग्रेस सभापति शेरवहादुर देउवालाई भने दाहालले तत्काल आफ्नो नेतृत्वमा सरकार बनाउन नसकिने बताएका थिए । ‘प्रधानमन्त्री र हाम्रो पार्टी अध्यक्षबीच बुधबार राति भएको भेटवार्तामा प्रधानमन्त्री भावुक तरिकाले प्रस्तुत हुनु र बिहीबार बिहान बजेटपछि राष्ट्रिय सहमतिको सरकारका लागि एमालेले मार्गप्रशस्त गर्ने सहमति भएकाले अध्यक्ष पछि हट्नुभएको हो,’ दाहालनिकट एक नेताले बताए।

एमाओवादी केन्द्रीय सदस्य हेमराज भण्डारीले पनि तत्काल राष्ट्रिय सहमतिको सम्भावना नदेखिएकाले दाहाल पछि हटेको जानकारी दिए । ‘विदेशी शक्तिले दाहाल–देउवा मिलाउने र प्रधानमन्त्रीलाई उक्साएर संसद् भंग गर्ने अनि राष्ट्रिय सहमति हुन नदिनेसम्मका खेल खेलेपछि राष्ट्रिय सहमतिबिना मुलुकमा झन् अस्थिरता बढ्ने देखियो,’ उनले भने।





Comments

comments

Leave a Reply

12330