भोला बिक्रम राई –
नेपालको बिकाश र नेपाली जनताको समुन्नत भविष्य सुनिश्चित गर्ने संकल्प लिएर आफ्ना सारा जीवन राजनीतिमा समर्पित गर्नु हुने मेरो प्यारो देश नेपालका सबै पार्टीका मेरा प्रिय राजनेताहरु ! सर्वप्रथम यहाँहरुलाई देशका लागि केहि गर्न नसके पनि आफ्नो परिवारको सुनिश्चित भविष्य होस् भन्ने सपना देखेर परदेशमा दशनंग्रा खियाई रहेको एक अभागी परदेशीको अभिवादन!
दुख लाग्छ, जिन्दागीको उर्वर उमेरहरु आफ्नो परिवारको पेट पाल्न आज परदेशमा घर्काई रहेकोमा र त्यति कै बिस्मात पनि लागि रहेको छ, देश विकाशमा आफ्नो पौरख खर्च गर्न नपाएकोमा। नेपालमा म मात्र होइन, लाखौ म जस्ता अभागी युवाहरु आफ्नो परिवारको सामान्य गुजारा चलाउनका लागि नै, थोरै रहर धेरै बाध्यता लिएर अरव, यूरोप, अमेरिका भासिएका छौ। र आफ्नो जीवनको उर्वर समयहरु परदेश मै वर्वाद गरिरहेका छौ। यसमा दोष हामी युवाहरुको पनि होला तर धेरै दोष त देश विकाश र जनताको भविष्य सुनिश्चित गर्ने संकल्प लिएर राजनीति गर्ने र अवसर पाउँदा पनि देश र जनताका लागि केहि गर्न नसक्ने तपाईहरु कै छ नि, होईन?
प्रिय नेताहरु, तपाईहरुले देश र जनताको नाम ठूला ठूला आन्दोलन र क्रान्तिहरु गर्नु भयो र ती आन्दोलन र क्रान्ति पश्चात मुलुकमा ठूला ठूला राजनैतिक परिवर्तनहरु पनि भए। ती क्रान्ति र आन्दोलनहरुमा जनताहरुले साथ दिए कै हुन्। तर यस्ता राजनैतिक परिवर्तनहरु, केवल तपाईहरुको सत्ता प्राप्तिको भर्या्ङ सिवाय अरु केहि बन्न सकेनन्। यस्ता परिवर्तनहरु नेपाल र नेपाली जनताको लागि ‘जुन जोगी आए, पनि कानै चिरेको’ त भयो नि, होईन?
हात्तीछाप चप्पल लगाएर गाउँ गाउँमा परिवर्तन र क्रान्तिको आवाज उठाउने तपाईहरु, यतिखेर लाखौंको पजेरो र प्राडो चढ्ने हुनु भयो र करोडौंको आलीशान महलमा बस्ने बन्नु भयो। परालको गुन्द्रिमा सुत्दा पनि मिठो निद्रा आउने तपाइहरुलाई लाखौंको पलंगमा सुत्ने पर्ने भयो। सुदूर गाउँतिर गरिव जनताहरु सिटामोल र जीवनजल खान नपाएर अकालमा ज्यान गुमाईरहेका बेला तपाईहरु यूरोप, अमेरिका र एशियाकै महंगो अस्पतालहरुमा राज्यको ढुकुटी प्रयोग गरेर सामान्य स्वास्थ्य परीक्षण र उपचार गराई रहनु भएको छ। तपाईहरु कै संरक्षण र संलग्नतामा मुलुकमा कालो बजार, भ्रष्टचार, नातावाद, कृपावाद, ढिलासुस्ती मौलाई रहेको छ। देशको अर्थतन्त्र डमाडोल छ। बजार तस्करहरुको नियन्त्रणमा छ। राष्ट्र निर्माणको मेरुदण्ड हामी युवा जमात देशमा रोजगारी नभए पछि बेदेशिनु बाहेकको अरु के बिकल्प छ, भन्नुस् त नेताज्यूहरु?
भर्खरै समाचारमा देख्न सुन्न पाईयो, एउटा छिमेकी मुलुकले कुर्सी ओगटेर बसिरहेका एक पक्षीय तपाईहरुलाई कुर्सीबाट हुत्याउन खोज्यो र अर्को पक्षलाई कुर्सीमा राख्न खोज्यो । तर अर्को छिमेकी मुलुकको आशिर्वादले बसिरहेकोहरुको कुर्सी जोगाई दियो अर्थात तेसो हुन दिएन। यसमा छिमेकीहरुलाई के दोष दिनु! तपाईहरु नै आखिर आफ्नो सत्ता अभीष्टको खातिर छिमेकीहरुको अगाडी धनुष्टंकार बन्नु हुन्छ। कहिले दिल्ली कार्ड भन्नु हुन्छ, कहिले चाईना कार्ड खेल्नु हुन्छ। अनि मुलुकलाई छिमेकीहरुको राजनैतिक खेल मैदान बनाउनु हुन्छ। आखिर कहिलेसम्म? चीन र भारत यतिखेरका बिश्वका ठूला अर्थतन्त्र भएको मुलुकहरु हुन्। र यी दुबै मुलुकमा बिकाशको गती तीब्ररुपमा भईरहेको छ। यस्ता मुलुकहरुको बिचमा रहेको हाम्रो मुलुकले दुवै देशको सम्बन्धलाई सत्ता प्राप्तिको कार्डको रुपमा नखेलेर दुवै देश संगको सम्बन्ध सन्तुलित समदुरीमा राख्दै दुवै देशमा भईरहेको विकाशको फाईदा लिने सद्बुद्धि तपाईहरुमा कहिले आउँछ?
केहि दिन अगाडी एकजना पत्रकारलाई गैर कानूनी ढंगले अकूत सम्पति जोडेको र भ्रष्टचार गरेको आरोपमा आम जनताको भावना बिपरित तपाईहरुले नै नियुक्त गरेको बिवादस्पद छवि भएको लोकमान सिंह कार्की प्रमुख भएको अख्तियार अनुसन्धान आयोगले समात्यो। ती पत्रकार पनि कम बाठा थिएनन्। अख्तियारको हिरासतमा रहनुको वदला बिसन्चो भएको बाहानामा हस्पिटलको क्याविनमा आराम गर्न पुगे। हस्पिटलको क्याविनमा उनी आराम गरिरहदा तपाईहरु लामबध्द भएर भेट्न गएको दृश्य कम्ती शर्मनाक थिएन। भ्रष्टचार जस्तो गंभीर नैतिक आरोप लागेको ब्यक्तिप्रति तेति धेरै सहानुभूति र आशक्ति राख्न जरुत थियो?
प्रिय नेताज्यूहरु मैले माथि तपाईहरुले जोड बलले नियुक्ति गरेको अख़्तियार प्रमुखको नियुक्तिलाई जनभावना बिपरित भने र लोकमान सिं कार्कीलाई बिवादस्पद छविको भने। माफी चाहन्छु, यसमा म थोरै उनीप्रति पूर्वाग्रही बनेहुँला। मलाई पनि लागेको थियो, लोकमानलाई अख्तियार प्रमुख नबनाएको भए हुने थियो भनेर। किनभने जुनबेला राजाले प्रत्यक्षरुपमा शाषणको बागडोर आफ्नो हातमा लिए र त्यस कदमको बिरुद्धमा तपाईहरुले नै नेतृत्व गरेको ६२/६३को आन्दोलन उत्सर्गमा रहदै थियो । त्यो बेला यिनै लोकमान सिंह कार्की स्थायी सरकारको रुपमा लिईने कर्मचारितन्त्रको प्रमुख थिए। तिनले पनि आन्दोलनलाई दवाउन र अनावश्यक बल प्रयोग गर्न प्रत्यक्ष भूमिका खेलिरहेका थिए। र जसको कारण धेरै नेपालीहरुले असामयिक मृत्युबरण गरेका छन्। पछि आन्दोलनको सफलतापछि लोकतन्त्र स्थापना भयो र लोकतान्त्रिक सरकारले छानविन समिती बनायो। त्यो समितीले तिनै लोकमानलाई कार्वाही गर्ने सिफारिस गर्यो। तर आन्दोलन दवाउन भूमिका खेल्ने र छानविन समितीले पनि कारवाहीको सिफारिस गरेको ब्यक्तिलाई कुन चाहि अदृश्य शक्तिको दवावमा अख़्तियार जस्तो संवेदनशील संवैधानिक आयोगको प्रमुखको जिम्मेवारी दिनु भयो? जनतालाई उत्तर दिन सक्नुहुन्छ?
प्रिय नेताज्यूहरु, यतिखेर तपाईहरुले लामो प्रकृया र बिवादको बिच मुलुकलाई एक थान संविधान दिनुभएकोछ। तर तपाईहरु मध्ये कै एक पक्षले यो संविधान पनि अपूरो भयो, हामी मान्दैनौ भन्दै हुनुहुन्छ। यिनै राजनैतिक खिचातानिको उपज भारतले लगाएको नाकाबन्दीले बनाएको अस्तब्यस्तबाट मुलुक राम्रोसंग अझै तंग्रिन नसकेको अबस्था छ। यस्तो संविधान जारी गर्नु पनि तपाईहरुलाई यति सकस भयो कि पहिलो संविधान सभाको म्याद पटक पटक थपेर पनि नपुगे पछि दोस्रो संविधान सभाको चुनाव गर्नु पर्यो। यसरी पटक पटक म्याद थप्दा, चुनाव गर्दा र तपाई नेता सभासदहरुको भत्ता सुबिधामा कति खर्च भयो? जनतालाई भन्न सक्नु हुन्छ? यो संविधानको लागि खर्च गरिएको बजेटले प्रत्येक गा.बि.स. को वडा वडामा पक्की सडक पुग्न सक्थ्यो वा जल बिद्युतमा लगानी गर्नु भएको भए मुलुक लोडसेडिङ् मुक्त बन्ने थियो। तपाईहरुले संविधानमा लेखिने शब्द शब्दको लागि बालहठ देखाएर झगडा गरेको दृश्य कम्ती हाँस उठ्दो थिएन। मुलुकको बिकाश, संविधान वा कानूनमा लेखिएको शब्दले हुदैन, वल्की मुलुक हाक्ने तपाई नेताहरुको आचरण र दृष्टिकोणबाट हुन्छ भन्ने कुरा बुझ्न तपाईहरुको बाकि जीवन कम नहोस्। यहाँहरुलाई स्मरण रहोस् प्रजातन्त्र र मानव अधिकारको जननी वेलायतमा कुनै लिखित संविधान नै नभएर पनि सु-शासन र विकाश लागि बिश्वमा उदाहरणको रुपमा लिईन्छ।
प्रिय नेताज्यूहरु, तपाईहरु कानून बनाउनु हुन्छ र आफै त्यो कानूनको उल्लंघन गर्नु हुन्छ। भर्खरै तपाईहरु केहि पक्षले संसारको उत्कृष्ट भनेर दावी गरेको र अर्को पक्षबाट अपूरो भनिएको संविधान जारी गर्नु भयो। र आफैबाट देशको मूल क़ानून संविधानको पालना नगर्ने कामको थालनी पनि गर्नुभयो। त्यस्को ज्वलन्त उदाहरणको रुपमा अहिले मौजूद मन्त्रीपरिषद्लाई लिन सकिन्छ। संघीय लोकतन्त्रिक गणतन्त्र नेपालको संविधान २९७२ को धारा ७६ को उपधारा ९ मा, “राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम प्रधानमन्त्री सहित बढिमा २५ जना मन्त्री परिषद् गठन गर्नेछ। स्पष्टीकरण- यस भागको प्रयोजनको लागि मन्त्री भन्नाले उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्री सम्झनु पर्छ” भनिएर लेखिएता पनि तपाईहरुले आफैले बनाएको संविधानको ठाडो उल्लंघन गर्दै सात जना उपप्रधानमन्त्री सहित एकचालिस सदस्यीय मन्त्री परिषद्को गठन गर्नु भयो। यसरी बदनियत ढंगले संविधानको उल्लंघन गरेर गठन गरिएको मन्त्री परिषद् बाट राज्यलाई महिना मै करोडौं आर्थिक नोक्शानी पुर्याई रहेको कुरा अख़्तियार दुरुपयोग वा भ्रष्टचार हो कि होईन? अनि अख़्तियार अनुसन्धान आयोग र तिनको प्रमुख लोकमान सिंह कार्की के हेरेर बस्दैछन्? सधै ठूलो माछा समात्ने गफ चुट्ने लोकमानले तपाईहरु जस्तो कानूनको खिल्ली उडाउने र भ्रष्टचार गर्ने ठूला माछाहरुलाई के साच्चि कै समात्न सक्ला? के तपाईहरुले जे गर्दा पनि छुट पाउनकै लागि लोकमान सिंह कार्कीलाई अख़्तियार जिम्मा दिनु भएको हो? हुन त यो बिषयमा सम्मानित सर्वोच्च अदालतमा रिट नपरेको होईन। तर पार्टीहरु कै भागबण्डामा नियुक्ति गरिएको न्यायाधीशहरुले भरिएको सर्वोच्च अदालतबाट पत्रकार दिक्षितहरुलाई रातारात हिरासतमुक्त गर्न भ्याई नभ्याई भएको बेला यस्ता गंभीर संवैधानिक प्रश्न उठेको बिषयमा बोल्ने समय नै कहाँ छ र?
प्रिय नेताज्यूहरु, मुलुक गत साल बैशाखमा गएको भूकम्पले तहसनहस बनेको छ। भूकम्पमा भत्किएको संरचनाहरुको निर्माणको दीर्घकालीन योजनाहरु अझै राम्रो संग बन्न सकेको छैन र पीडितलाई राहत अझै राम्रो संग वितरण गरिएको छैन। पीडितहरु चिसो वा बर्षातको समयमा पनि एउटा पालको भरमा रात गुजार्नु परिरहेको छ। ती पीडितहरुको चुल्होमा आगो राम्रोसंग अझै बल्न सकिरहेको छैन र भुटेको एक छाक मकैको भरमा चिसो रात गुजार्नु परिरहेको छ। तर तपाईहरु मित्रराष्ट्रहरुले दिएको खाद्यान्न सहयोगलाई पनि पीडितसम्म पुर्याएर वितरण नगरिदिई गोदाम मै सडाएर कुहाएर फाल्नु हुन्छ। आखिर किन यस्तो हुन्छ नेताज्यूहरु ?
भूकम्प पछिको पुनर्निर्माणको लागि हामी बिदेशमा बस्ने नेपालीहरुले पनि आफ्नो गाँस काटेर भए पनि गच्छे अनुसारको अलि अलि गरेर उठेको करोडौ रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका थियौं। त्यसैगरी मित्र राष्ट्रहरुबाट अरबौं आर्थिक सहयोग आएको थियो। ती सहयोग रकमहरु कहाँ कसरी खर्च हुदैछ प्रिय नेताज्यूहरु ? कहिलेकाही तपाईहरु राज्यको ढुकुटी दुरुपयोग गरेर बिदेश शयर हुदा ती मित्रराष्ट्रहरुले हामीले दिएको आर्थिक सहयोगले पुनर्निर्माण किन नगरेको ? भनेर तपाईहरुलाई सोध्दा लाजले तपाईहरुको भन्दा हाम्रो गाला रातो हुन्छन्।
प्रिय नेताज्यूहरु, देशमा यस्ता बेतिथिहरु कहिलेसम्म राख्नु हुन्छ? आफ्नो परिवार पाल्न कै लागि पासपोर्ट बोकेर कहिलेसम्म देश बिकाशको मेरुदण्ड युवाहरुलाई अरव, यूरोप र अमेरिका तिर लखेट्नु हुन्छ? अनि तपाईहरु आफ्नो सत्ता अभीष्टको लागि खोक्रो राष्ट्रवादको नारा घन्काउनुहुन्छ। भोको पेटले खोक्रो राष्ट्रवादको नारा लगाउन सकिदैन नेताज्यूहरु। असली राष्ट्रवाद त्यो बेला झल्किन्छ जुन बेला परिवारको सामान्य गुजरा चलाउनका लागि अरव, यूरोप र अमेरिकातिर पलायन भएका युवा जनशक्तिलाई देश मै रोजगारी उपलब्ध गराएर देश बिकाशमा लाग्ने वातावरण सिर्जना गर्नु हुन्छ।
अन्त्यमा जादा जादै- प्रिय नेताज्यूहरु, देशमा बिद्यवान तमाम् विकृति/विसंगतिहरुको अन्त्य तपाईहरुले चाहेमा मात्र निर्मूल हुन सक्छ। नेताज्यूहरु, तपाईहरुले देश बिकाशको लागि केहि गर्न पर्दैन, खाली सुशाषण दिनुहोस्, भ्रष्टचार नगरिदिनुस् र तपाईहरुबाट नै कानूनको पालना गरिदिनुस् र जनताले तिरेको कर जनताकै सेवा, सुविधा र देश बिकाशमा खर्च गरिदिनुस्। भनिन्छ- “जनावरहरुलाई लखेट्नु पर्यो भने पछि बस्नु, मान्छे लखेट्नु छ भने अगाडि लाग्नु पर्छ” रे। हो तपाईहरु पनि असल, नैतिकवान र ईमान्दार बनेर देशको बिकाशको नेतृत्व लिईदिनुस्। हामी जनता तपाईहरुको पछि पछि लुरुलुरु पछ्याउदै आउँने छौ। सायद त्यो बेला आफ्नो परिवारको सामान्य गुजारा चलाउन पासपोर्ट बोकेर कोही युवाहरु अरव, यूरोप वा अमेरिका भास्सिन एयरपोर्टमा लाम लाग्ने छैनन्। बरु भास्सिएकाहरु पनि मातृभूमि संझेर एयरपोर्टमा फर्किरहेकोहरुको लाम बन्नेछन् र त्यो लाम लागेका मध्येहरुमा यो पंतिकार पनि एक हुनेछ। नेताज्यूहरु, त्यो बेला देशको बिकाश कसो नहोला?
सबैलाई चेतना भया!
भोला बिक्रम राई
[email protected]
हाल: संयुक्त अधिराज्य, वेलायत