तिजले कलाकारलाई भ्याइनभ्याइ, को कलाकार कुन देशमा पुगे?

काठमाडौँ । गाउँसहरमा तिज पर्वको रौनक छाइरहँदा कलाकार पनि बेफुर्सदिला बनेका छन् । गत असारदेखि तीज गीत सार्वजनिक गर्न उछिनपछिन गरेका कलाकारलाई अहिले देशविदेशका कार्यक्रममा पुग्न भ्याइनभ्याइ छ ।

आयोजकले महिला कलाकारलाई मात्र नभएर पुरुष कलाकारलाई पनि तिजका कार्यक्रममा उत्तिकै महत्व दिएर निम्त्याउने गरेका छन् । कलाकारलाई तीव पर्व कमाइको माध्यम बन्ने गरेको छ । यो वर्ष तीन सयभन्दा बढी तिज गीत सार्वजनिक भए ।

गायिका विष्णु माझीको ‘आइन आमा यो तिजमा’ ले युट्युबमा सार्वजनिक भएको १० दिनमा एक करोड ३५ लाखभन्दा बढी पटक सुनिएको-हेरिएको छ । जुन यो वर्ष युट्युबमा सबैभन्दा बढी ‘भ्यूज’ पाएको तिज गीत हो ।

एकातिर युट्युब ‘भ्यूज’ का आधारमा कलाकारले पैसा पाउँछन् भने अर्कातिर तीजका अवसरमा हुने मेला, उत्सव पनि कलाकारका लागि आयआर्जनको बाटो बन्ने गरेको छ । अन्य गीतलाई थाँती राखेर अधिकांश लोकगायक÷गायिकाले यस समयमा तीज गीत सार्वजनिक गर्ने गरेका छन् । पछिल्लो समय विदेशमा रहेका नेपालीले पनि तिज पर्वलाई उल्लासका साथ मनाउने गर्छन् । नेपालबाट चल्तीका गायकगायिकालाई बोलाएर सँगसँगै नाच्नछन् अनि रमाउँछन् ।

गायिका शान्तिश्री परियार, रचना रिमाल, ज्योति मगर र कलाकार करिष्मा ढकाल तिजको मौका पारेर साङ्गीतिक यात्राका क्रममा यतिबेला अमेरिकामा छन् । झण्डै दुई महिने यात्राका क्रममा उनीहरुले अमेरिकाका २१ सहरमा तिज विशेष कार्यक्रम गर्ने तय भएको जनाइएको छ । अमेरिका, बेलायत, अष्ट्रेलिया, जापानलगायत देशमा कलाकार तीज कार्यक्रममा सहभागी भइरहेका छन् । युरोप र अरब देशहरुमा रहेका नेपालीले पनि तीज पर्वमा विविध कार्यक्रम आयोजना गरेका छन् ।

गायक दुर्गेश थापा गत साता अष्ट्रेलिया पुगेर फर्किए । यसपाली तिज गीत ‘बिच्चबिच्चमा–७’ सार्वजनिक गरेर चर्चामा आएका उनले एडिलेड र सिड्नीका दुई कार्यक्रममा प्रस्तुति दिएको सुनाए । “अहिलेको तीजमा विदेश र नेपालका केही सहरमा प्रस्तुति दिँदैछु”, उनले भने, “चाडपर्वका बेला कलाकारलाई पनि भ्याइनभ्याइ हुन्छ, अहिले कलाकार धानिने भनेकै यस्तै कार्यक्रमले हो ।”

गायक थापाले यही २० गते बागलुङ र २१ गते तिजका दिन पोखराको लामाचौरमा हुने तीज महोत्सवमा प्रस्तुति दिनेछन् । गायिका समीक्षा अधिकारी, गायक रामजी खाँडलगायत कलाकार पनि तिज विशेष साङ्गीतिक कार्यक्रमका लागि यतिबेला जापानमा छन् । नागोया, फुकोआकालगायतका जापानका विभिन्न सहरमा आफूहरुको प्रस्तुति रहने गायिका अधिकारीले जानकारी दिए।

गायक श्रीकृष्ण बम मल्ल तिज विशेष कार्यक्रमका लागि बेलायत पुगेका छन् । गायिका लक्ष्मी मल्ल मल्लले यतिबेला हङकङ छन् । गायिका कोमल वली, देवी घर्ती, गायक पशुपति शर्मालगायत कलाकारले पनि तीजका अवसरमा अष्ट्रेलियाका विभिन्न सहरमा प्रस्तुति दिइरहेका छन् । विदेश जान नपाएका कलाकार स्वदेशकै विभिन्न ठाउँका कार्यक्रममा पुगिरहेका छन् ।

बलेवा सेवा समाज जापानका सचिव अर्जुन लामिछानेले जापानमा रहेका नेपाली सङ्घसंस्थाले दिदीबहिनीहरु बोलाएर दर खाने, शुभकामना आदानप्रदानसहित तिज पर्व मनाउने गरेको बताए। “नेपाली बस्ने अधिकांश सहरमा तिजको कार्यक्रम हुन्छ, नेपालबाट कलाकार बोलाएर साङ्गीतिक कार्यक्रम गर्ने क्रम पनि पछिल्लो समय बढ्दो छ”, उनले भने, “प्रवासमा रहेका महिलालाई तिज पर्वको न्यास्रो नलागोस् भनेर भनेर यस्ता कार्यक्रम गर्ने गरिएको छ ।” रासस





Comments

comments

125921