सुधीर शर्माका कृतिमाथि साहित्यिक संवाद

पोखरा, र्यान्डम रिडर्स सोसाइटीले शनिबार पोखरामा लेखक सुधीर शर्माका दुई कृतिमाथि विमर्श गरेको छ। शर्माका हालै प्रकाशित ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’ नामक कृतिहरूमाथि विमर्श गरिएको हो।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले चीन र नेपालबीचको कूटनीतिक सम्बन्ध सुमधुर भएमा दुवै पक्षले फाइदा लिन सक्ने धारणा राखे। कृतिले नेपाललाई चीन र चीनलाई नेपाल चाहिनुका कारणबारे पुस्तकमा शर्माले चर्चा गरेको बताउँदै मुल्मीले सन्तुलित कूटनीतिलाई बढावा दिनुपर्नेमा कृतिले जोड दिएको बताए। नेपाल अर्को सिक्किम नहोस् भन्ने कुरामा चिनियाँहरूको चासो रहेको उनले बताए। भारत र चीनलाई जोड्ने कडीका रूपमा नेपालले भूमिका खेल्नुपर्ने धारणा किताबमा आएको मुल्मीले चर्चा गरे।

साहित्यकार सरस्वती प्रतीक्षाले विशाल अर्थतन्त्र भएका चीन र भारतका बीचमा रहेर नेपालले कसरी आर्थिक फड्को मार्न सक्छ भन्ने सन्दर्भमा सुधीर शर्माले कृतिमा चर्चा गरेको बताइन्। मध्यस्थ व्यापारको केन्द्रमा रहेर दुवै छिमेकी देशलाई जोड्ने रेलसेवा सञ्चालन गर्ने हो भने नेपालले आर्थिक विकास गर्न सक्ने विचार कृतिमा आएको उनको भनाइ थियो। नेपाल–चीन–तिब्बतको सम्बन्धमा इतिहासदेखि वर्तमानसम्मका पाटाहरूलाई केलाएर दुई गम्भीर किताब शर्माले लेखेको उनले बताइन्। इतिहास लेखनको शास्त्रीय सिद्धान्तलाई अतिक्रमण गरेर आफूलाई साहित्यको नजिक उभ्याएर लेखिएका हुनाले दुवै कृतिहरू आम पाठकका लागि पठनीय रहेको प्रतीक्षाको ठम्याइ थियो।

पत्रकार तथा लेखक शर्माले आफूले कृतिमा आफ्नो ‘भ्युज’ नभई अध्ययन र अनुसन्धानको निष्कर्ष प्रस्तुत गरेको बताए। यसअघि ‘प्रयोगशाला’ लेखेका उनले सो कृतिमा दक्षिणतिर हेर्न खोजेको र यी दुई कृतिमा चाहिँ उत्तरतिर हेर्न खोजेको जानकारी दिए। लेखन सुरु गर्दा दुइटा किताब लेख्ने विचार नभए पनि लेख्दै जाँदा दुई कृति लेख्नुपर्ने विषयवस्तु आएकाले दुई कृतिका रूपमा प्रकाशन गरिएको उनले बताए। चीनलाई आम नेपाली र अनुसन्धाताका रूपमा बुझ्न खोजेको र बुझेको कुरा प्रस्तुत गरेको उनको भनाइ थियो। कतिपय विषयलाई आगामी अनुसन्धाताका लागि बाटो खोल्ने गरी छोइएको बताउँदै उनले खोज गर्नुपर्ने इतिहासदेखिका थुप्रै विषयवस्तु रहेका अनुभव सुनाए।

शर्मासँग सोसाइटीका निवर्तमान अध्यक्ष केशवशरण लामिछानेले संवादसमेत गरेका थिए। पुस्तक छनोट समितिका संयोजकसमेत रहेका लामिछानेले पोखरावरपरका पाठकका लागि रुचिकर विषय भएकाले पनि कृति छनोट गरिएको जानकारी दिए।

‘पढौँ र ज्ञान बाँडौँ’ भन्ने मान्यतासहित क्रियाशील सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै कृति वा विषयवस्तुमाथि परिचर्चा गर्दै आएको छ भने समय सन्दर्भअनुसार विशेष कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।





Comments

comments

126505