पोखरा, पोखरा पर्वतीय दौडको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबका निरोज भट्ट क्षत्रीले जितेका छन्। पोखरा २२ (पुम्दीभुम्दी) मा खेल पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा क्षत्रीले ८ किलोमिटरको दूरी ३८ मिनेट २३ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन्।
पोखरा क्लिक प्रालिले आयोजना गरेको प्रतियोगितामा सल्यानको कुमाख गाउँपालिकाका रुद्र बुढाथोकीले ४१ मिनेट २२ सेकेण्डमा दूरी पूरा गरी दोस्रो स्थान हासिल गरे। पोखरा–१७ का प्रकाश थिँकले ४२ मिनेट ४२ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो स्थानमा रहे। विजेतालाई क्रमशः २५ हजार, १५ हजार र ७ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो।
दौड विश्व शान्ति स्तुपदेखि सुरु भएर पुम्दीकोट विशाल महादेवको मूर्ति, पोखरा २२ को वडा कार्यालय हुँदै बुद्ध पार्कमा समाप्त भएको थियो। महिलातर्फ काभ्रे चौताराकी नितु तामाङले उपाधि जितिन्, उनले निर्धारित दूरी ५५ मिनेट २१ सेकेण्डमा पार गरिन्। यु १६ प्रतिष्पर्धामा पोखरा–२२ का सागर देवकोटा प्रथम भए।
पोखरा–२२ स्तरीय दौडमा सुजिल परियारले ५३ मिनेट ६ सेकेण्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरे। विजेतालाई जनही ७ हजारको साथमा ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो।
उपाधी वितरण कार्यक्रममा गण्डकी प्रदेश सरकारका पूर्व अर्थमन्त्री रामजीप्रसाद बराल, पोखरा–२२ का वडाध्यक्ष हिमलाल बराल, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका अधिकृत कुन्दन मिश्र, पोखरा पर्यटन परिषद् अध्यक्ष तारानाथ पहारी, विश्व शान्ति स्तुप समिति अध्यक्ष एवं पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, शान्ति स्तुप समितिका सदस्य दुर्गाबहादुर गुरुङ, बुद्ध पार्क समिति अध्यक्ष राज गुरुङ (लाल), शुक्रराज माविका प्रचार्य नरनाथ बराल, कालावाङ होमस्टेका अध्यक्ष यामबहादुर गुरुङ, र प्रतियोगिता संयोजक दीननाथ बराल लगायतले पुरस्कार वितरण गरे।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गरेका थिए। प्रतियोगिता सफल बनाउन सिंगो पुम्दीभुम्दीवासीले टोल तथा चोकचोकमा फूलमाला र पानीले स्वागत गरेका थिए।
सो अवसरमा पर्यटन, उद्यम र समाजसेवा क्षेत्रमा विशेष योगदान गर्ने समाजसेवी तथा उद्यमी चन्द्रकान्त बराल र मलेसियाको माउन्ट किनाबालु हाफ म्याराथनमा ह्याट्रिक गर्न सफल अन्तर्राष्ट्रिय धावक कुसान गुरुङलाई विशेष सम्मान गरियो।
दौडमार्फत पुम्दीभुम्दीको थप प्रवर्द्धन गर्ने खेलकुदमार्फत समग्र पोखराको आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धनका लागि प्रतियोगिता गरिएको कार्यक्रम संयोजक दीननाथ बरालले बताए। पूर्व अर्थ मन्त्री बरालले पोखरा २२, पर्यटन र खेलकुदको अथाह सम्भावना भएकोले यस्ता खेलकुदका गतिविधिले खेल पर्यटन प्रबर्द्धन हुने विश्वास व्यक्त गरे।
प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने विभिन्न संघसंस्थाहरुलाई प्रतियोगिताका टेक्निकल डाइरेक्टर ओम लामाले धन्यवाद दिए। अनलाइन फारम भर्ने ३ देशका १ सय ४ जना मध्य शनिबारको पर्वतीय दौडमा ७९ जनाले मात्र सहभागिता जनाएका थिए।
दौडमा नर्वेका २ महिलासहित ७९ जना, प्रतियोगितामा ९ वर्षदेखि ५५ वर्ष उमेर समूहका धावकहरु सहभागी भएका थिए। प्रतियोगितामा ज्येष्ठ धावक ५५ वर्षका शिवराज बस्ताकोटीलाई मेडल प्रदान गरियो। कार्यक्रम संचालन संचारकर्मी दीपेन्द्र पहारीले गरे। नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवर्द्धन गरेको कार्यक्रममा पोखरा २२ वडा कार्यालय, पोखरा पर्यटन परिषद्, प्रदेश खेलकुद परिषद लगायतको सहयोग थियो।