भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन

नयाँ दिल्ली । भारतीय उद्योग जगतका दिग्गज व्यक्तित्व रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ। बुधबार राति मुम्बईको एक अस्पतालमा उनले अन्तिम श्वास फेरे। टाटा समूहका वर्तमान अध्यक्ष एन. चन्द्रशेखरनले एक विज्ञप्ति मार्फत यो दुःखद समाचार सार्वजनिक गरेका छन्।

उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याका कारण रतन टाटालाई मुम्बईको प्रतिष्ठित ब्रीच क्यान्डी अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो। उनको निधनपछि राति करिब २ बजे उनको पार्थिव शरीर अस्पतालबाट निवासमा ल्याइएको थियो।

महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले रतन टाटाको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिने घोषणा गरेका छन्। उनको पार्थिव शरीरलाई बिहीबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म दक्षिण मुम्बईस्थित नेशनल सेन्टर फर पर्फर्मिङ आर्ट्सको हलमा सर्वसाधारणका लागि अन्तिम दर्शनार्थ राखिने जानकारी परिवारका सदस्यहरूले दिएका छन्।

रतन टाटाको निधनमा भारतका राष्ट्रपति, प्रधानमन्त्री लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गरेका छन्। राष्ट्रपति द्रौपदी मुर्मुले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भनेकी छिन्, “रतन टाटाको निधनसँगै भारतले कर्पोरेट वृद्धिलाई राष्ट्र निर्माण र उत्कृष्टतालाई नैतिकतासँग जोड्ने एक प्रतीक गुमाएको छ।”

प्रधानमन्त्री नरेन्द्र मोदीले रतन टाटालाई एक दूरदर्शी व्यापारिक नेता र असाधारण व्यक्तित्वको रूपमा सम्झँदै उनले भारतको प्रतिष्ठित औद्योगिक घरानालाई दिएको स्थायी नेतृत्वको प्रशंसा गरेका छन्। कांग्रेस नेता राहुल गान्धीले पनि रतन टाटाको व्यापार र परोपकारको क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गरेका छन्।

२८ डिसेम्बर १९३७ मा जन्मिएका रतन टाटाले आफ्नो ८६ वर्षको जीवनकालमा भारतीय उद्योग जगतमा अतुलनीय योगदान पुर्‍याए। उनको असाधारण योगदानको कदर गर्दै भारत सरकारले उनलाई देशको दोस्रो सर्वोच्च नागरिक सम्मान पद्मविभूषणबाट विभूषित गरेको थियो। रतन टाटाको निधनसँगै भारतीय उद्योग क्षेत्रले एक युगान्तकारी व्यक्तित्व गुमाएको छ, जसको रिक्तता लामो समयसम्म महसुस हुनेछ।





Comments

comments

126812