अमेरिकामा नेपालीहरूले यसरी मनाए बडादशैँ (तस्बिरहरूसहित)

विजय थापा –

अमेरिकाका विभिन्न राज्य, शहर, गाउँहरूमा बसोबास गर्ने नेपालीहरूले मान्यजनहरूबाट टीका ग्रहण तथा आशीर्वाद लिएर बडा दशैँ मनाएका छन्। यो मनाउने क्रम जारी रहेको छ। अमेरिकामा केही राज्य र शहरहरूमा १, २ र ३ घण्टाको समय अन्तर रहेको हुनाले अझै टीका ग्रहण गर्ने क्रम जारी रहेको छ।

यस पटक अमेरिकामा छुट्टीको दिन टीका लगाउने दिन परेकोले नेपाली समुदायलाई अझ सजिलो भएको छ। तथापि, अझ पनि काममा छुट्टी नपाएका नेपालीहरूले साँझमा कामबाट फर्केर टीका ग्रहण गरेका छन्। यस वर्ष दशैं शनिबार परेकोले नेपाली समुदाय निकै खुशी हुनुको साथै आफ्नो संस्कृति, परम्परा तथा चाडपर्व मनाउन निकै हर्षित देखिन्थे।

अमेरिकामा नेपाली संघ/संस्था तथा नेपाली मन्दिरहरूले समुदायको लागि जमराको व्यवस्था गरिदिँदा सजिलो भएको छ। अमेरिकाका विभिन्न राज्यहरूमा दर्जनौ मन्दिरहरू स्थापना गरिसकेका छन्। नेपाली मन्दिरहरूमा घटस्थापना देखि समय व्यवस्थापन गर्दै मन्दिर दर्शन गरेका छन्। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपाल सहित ३२ देशका लागि बडा दशैँको टीकाको साइत सार्वजनिक गरेकोले अधिकांशले उक्त समयमा टीका ग्रहण गरे।

नेपालमा असोज २६ गते बिहान ११:३६ बजेको साइत शुभ परेको र प्रधानमन्त्री, राष्ट्रपतिले समेत सोही साइतमा टीका ग्रहण गरेकोले अमेरिकामा बसोबास गर्ने अधिकांश नेपालीहरूले पनि सोही समयमा टीका ग्रहण गरे। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले दिएको साइत अनुसार अक्टोबर १२, शनिबार न्यूयोर्कमा बिहान १०:०१, टेक्ससमा बिहान १०:०५, वाशिङ्टन डिसीमा बिहान ०९:५५ तथा क्यालिफोर्नियामा बिहान ०९:३९ बजे शुभ समय रहेकोले धेरैजनाले यसैअनुसार टिका लगाएका छन्।

बडा दशैको दिन मासुका विभिन्न परिकारहरूमा पक्कु, भुटेको भुडी, कलेजो, रक्ती, भित्र्यास, काक्राको खल्पी, कालो मासको दाल, तामाबोडी, सेलरोटी, केराको बुङ्गोको अचार, नेपाली शैलीका अचार तथा चिउरा आदि आफैँ, परिवार तथा अतिथिहरूलाई खुवाएका छन्।

नेपाली समुदायले टीका ग्रहण गरेका र दशैँ मनाएका तस्बिरहरू सामाजिक सञ्जालमा भरिएका छन्। अमेरिकामा रहेका नेपालीहरूको मन्दिर र सामुदायिक केन्द्रहरूले जमरा वितरण गरेका छन्। जमरालाई समृद्धिको प्रतीकको रूपमा मानी लगाउने गरिन्छ। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजया दशमी बडा दशैँकै सबैभन्दा महत्त्वपूर्ण दिन हो।

ठूलालाई भन्दा साना बालबालिकाहरूका लागि दशैँ निकै रमाइलो हुने हुनाले अमेरिकामा जन्मिएका बालबालिकाहरू टीका, जमरा र खाममा डलर पैसा पाउँदा निकै खुशी देखिन्थे। अमेरिकामा हाल ३ पुस्ते परिवार पनि धेरै भएकोले नेपाली समुदायले हजुरबा, हजुरआमा, मातापिता, सासूससुरा, पुरोहित, मान्यजन तथा ठूलाबडाबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट ऐश्वर्य वृद्धि तथा दीर्घायुको आशीर्वाद लिएका छन्।

थप फोटोहरु यहाँ हेर्नुहोस्





Comments

comments

126905