नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोमा देउसी भैलो कार्यक्रमको आयोजना हुँदै

फाइल फोटो

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोका विभिन्न शहरमा देउसी भैलो कार्यक्रम आयोजना हुने भएको छ। कोलोराडोमा क्रियाशील संस्था नेपाली घरको संयोजन तथा स्थानीय संघ संस्थाहरूको सहयोगमा नेपालीहरूको दोस्रो ठूलो महान चाड शुभ दीपावलीको अवसरमा देउसी भैलो कार्यक्रम आयोजना हुन लागेको हो।

यस अघिका वर्षहरूमा जस्तै यस वर्ष पनि शुभकामना आदान प्रदान सहित देउसी भैलो कार्यक्रम आयोजना हुन लागेका स्थानहरूमा नोभेम्बर १ तारिख शुक्रबार साँझ ५ बजेदेखि राति ९ बजेसम्म नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा देउसी भैलो खेलिने कार्यक्रम रहेको छ। त्यसैगरी सोही दिन कोलोराडोको दक्षिणी क्षेत्र अरोरा सेन्टेनियलमा पनि साँझ ५ बजेदेखि ९ बजेसम्म देउसी भैलो खेल्ने कार्यक्रम रहेको नेपाली घरका अध्यक्ष बसन्त लम्सालले बताएका छन्। यसैगरी लङमन्ट स्थित एभरेस्ट रेस्टुरेन्टमा अक्टोबर ३० तारिख बुधबार साँझ देउसी भैलो खेल्ने कार्यक्रम रहेको प्रेमकाजी श्रेष्ठले बताएका छन्।

नेपाली सांस्कृतिक केन्द्र भवनको देउसी भैलोलाई भव्यताका साथ सम्पन्न बनाउन शान्ति भुषाल संयोजक तथा रामचन्द्र पन्तको सह-संयोजनमा बासु खनाल, प्रकाश पौडेल, सुरेश रेग्मी लगायतका सदस्य रहेको मूल समिति गठन भएको छ। त्यस्तै कार्यक्रमलाई भव्य तथा सभ्यताकासाथ सफल बनाउन विभिन्न विषयगत समितिहरू गठन भएका छन्। यसरी गठित समितिहरूमा दिनेश कार्कीको संयोजनमा देउसी भैलो सांगीतिक समिति, बंशी थापाको संयोजनमा नृत्य तथा मनोरञ्जन समिति, बिकास त्रिपाठीको संयोजनमा अर्थ समिति, कृष्ण थापा मगरको संयोजनमा खाना व्यवस्थापन समिति, नातिबाबु भट्टको संयोजनमा प्रचार प्रसार समिति, हरि गुरुङको संयोजनमा स्वयंसेवक समिति तथा बसन्त लम्सालको संयोजनमा कार्यक्रम स्थल समिति गठन भएको छ भने कार्यक्रम सञ्चालन दिनेश कार्की र भोला कटुवालले संयुक्त रूपमा गर्ने भएका छन्।

त्यसैगरी अरोरा सेन्टेनियलको देउसी भैलोलाई भव्यताका साथ सम्पन्न बनाउन कुमारजंग कार्कीको संयोजनमा मूल समिति तथा अन्य विषयगत समितिहरू गठन भएका छन्। यसरी गठित समितिहरूमा, गंगा चौलागाईंको संयोजनमा कार्यक्रम स्थल समिति, जगदीशचन्द्र ढकालको संयोजनमा अर्थ समिति, दिनेश थापाको संयोजनमा खाना व्यवस्थापन समिति, सञ्जय शाक्यको संयोजनमा मिडिया प्रचार प्रसार समिति, दीपक ढकालको संयोजनमा स्वयंसेवक समिति गठन भएको छ भने, कार्यक्रम सञ्चालनको जिम्मा अर्जुन बगालेले लिएका छन्।

विशेष गरि नयाँ पुस्तालाई हाम्रो रहनसहन, भाषा, संस्कृति तथा भेषभूषाको जानकारी गराउन तथा यहाँका स्थानीय बासिन्दाहरूलाई नेपालीको भाषा र संस्कृतिको पहिचान गराउन कार्यक्रम आयोजना गरिन लागिएको हो। कार्यक्रमले मातृभूमि प्रतिको कर्तव्य स्मरण गराउने तथा कर्मथलोमा जन्मथलोको संस्कृति पहिचान गराउने नेपाली घरका अध्यक्ष बसन्त लम्सालले बताएका छन्। यस्ता कार्यक्रमले नेपालीभाषी समुदायको आस्थाको धरोहर नेपाली सांस्कृतिक केन्द्र भवनको मर्मत सम्भार तथा मर्गेज तिर्न समेत सहयोग पुग्ने भएकोले कार्यक्रममा सहभागी भई यथासक्य दान गरिदिनुहुन सबैलाई अनुरोध गरेका छन्।

देउसी भैलो कार्यक्रममा कोलोराडोमा बसोबास गर्नुहुने गण्यमान्य, समाजसेवी, कलाकार, पत्रकार, बुद्धिजीवी, व्यापारी तथा नेपालीभाषी बाआमा, दाजुभाइ, दिदीबहिनी सबैलाई आमन्त्रण गरिएको छ। हाम्रो धर्म, संस्कृति संरक्षण र पहिचान गराउन पाइने यस्तो अवसरमा, आयोजकहरूले सकेसम्म सबैलाई आ–आफ्नो जातीय पहिरन लगाई, बालबालिकाहरूलाई पनि सहभागी गराई संस्कृति सिक्ने र सिकाउने वातावरण बनाई दिनुहुन आग्रह गरेका छन्। छुट्टै जातीय पहिरन नहुनेहरूले सकेसम्म पुरुषहरू दौरा सुरुवाल र महिलाहरू साडी चोलो लगाएर सहभागी भई कार्यक्रमको शोभा बढाई दिनुहुन समेत अनुरोध गरिएको छ।

कोलोराडोमा नेपाली घरको संयोजन तथा स्थानीय संघ संस्थाको सहभागितामा हरेक वर्ष देउसी भैलो कार्यक्रमको आयोजना हुँदै आएको छ।





Comments

comments

127135