अनेसास कोलोराडो शाखाको नयाँ कार्यसमिति निर्वाचन: नोभेम्बर १२ मा मतदान

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। १९ अक्टोबर । अनेसास कोलोराडो शाखाको नयाँ कार्यसमितिको निर्वाचन आगामी नोभेम्बर १२ तारिखमा सम्पन्न हुने भएको छ।
डा. भीम प्रकाश कट्टेलको संयोजकत्वमा डा. सङ्गीता श्रोत्रिय र सुदेश शर्मा रहेको तीन सदस्यीय निर्वाचन समितीले सामाजिक सञ्जाल मार्फत निर्वाचन कार्यक्रम घोषणा गरेको हो।

अनेसास कोलोराडो शाखाको २०२४-२०२६ कार्यकालका लागि अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ४ सदस्यका लागि निर्वाचन हुन लागेको समितीले जनाएको छ।

अनेसास कोलोराडो शाखाको विधानको परिच्छेद २ को दफाहरू ६ र ७ मा उल्लेख गरिए बमोजिमको निर्वाचन कार्यविधि अनुरूप निर्वाचन प्रक्रिया हुने समितीले जनाएको छ। जस अनुसार इच्छुक आजीवन सदस्यहरूले तोकिएको ढाँचामा उम्मेदवारीका लागि आवेदन दर्ता गर्नु पर्नेछ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाको कार्यकारिणी समितिको निर्वाचनमा मत खसाल्न योग्य हुन कम्तीमा ३ महिना अगाडि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाको साधारण, आजीवन वा संस्थागत सदस्यता लिएको तथा कम्तीमा ३ महिनादेखि संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा बसोबास गर्दै आएको हुनुपर्नेछ। यसैगरी दफा ५ (ख) र (ई) बमोजिम स्थानान्तरण भई आएका आजीवन सदस्यहरूको हकमा बसाइँ सरेको ३ महिना पश्चात शाखाको निर्वाचनमा मतदानको लागि योग्य हुनेछन्। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाको कुनै पनि पदाधिकारीको उम्मेदवार हुन संयुक्त राज्य अमेरिकामा कानुनी रूपमा बसोबास गरेको हुनु पर्नेछ।

अध्यक्ष पदको हकमा संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा कम्तीमा २ वर्षदेखि नियमित बसोबास गर्दै आएको तथा कम्तीमा २ वर्ष अगाडि शाखाको साधारण वा आजीवन सदस्यता लिएको हुनु पर्नेछ। दुई पटक अध्यक्ष भइसकेको व्यक्तिले तेस्रो कार्यकालको लागि उम्मेदवारी दर्ता गर्न पाउने छैन। साथै कुनै पनि प्रमाणित कानुनी सजाय पाएको हुनु हुँदैन। उम्मेदवारी दर्ता विद्युतीय माध्यमबाट निर्वाचन आयोगको इमेल ठेगाना [email protected] मा अक्टोबर २५ तारिखको राति ११:५९ बजेसम्ममा प्राप्त भएको हुनु पर्ने छ।

निर्वाचन विद्युतीय माध्यमबाट गोप्य मतदानद्वारा हुनेछ। मतदाताहरूले आफ्नो छनौट इमेलबाट पठाउनु पर्नेछ। नोभेम्बर १५ तारिखको राती १२ बजेदेखि नोभेम्बर १६ को राती ११:५९ बजेसम्म मतदान खुला रहनेछ। सो अवधिमा प्राप्त इमेल मतहरू मतगणनामा सामेल गरिनेछन्। कसैले पनि नक्कली मतदान वा अन्य कसैको नाममा मतदान गर्न पाइने छैन। उम्मेदवारी दर्ता भइसकेपछि सम्पूर्ण उम्मेदवारहरूको अन्तिम नामावली अद्यावधिक प्रक्रियाअनुरूप यथासमयमा सार्वजनिक गरिनेछ।

उम्मेदवारी दर्ता गर्नका लागि स्पष्टसँग भरिएको फारमलाई स्क्यान गरी अक्टोबर २५ तारिखको राति ११:५९ बजेभित्र [email protected] मा प्राप्त भैसक्नु पर्ने छ। उम्मेदवारी फारमसँगै उम्मेदवारले नेपाली वा अंग्रेजी भाषामा लेखिएको आफूलाई भोट हाल्नु पर्ने कारण सहितको विवरण उल्लेख भएको हुनुपर्ने छ।

अनेसास कोलोराडो शाखा निर्वाचन २०२४ कार्यतालिका यस प्रकारको रहेको छ। अक्टोबर २० मतदाता नामावली प्रकाशन, अक्टोबर २५ उम्मेदवारी दर्ताको अन्तिम दिन, अक्टोबर २६ उम्मेदवारहरूको प्राथमिक सूची प्रकाशन, अक्टोबर २७ उम्मेदवारी दर्ताको प्रमाणीकरण एवं उम्मेदवारी फिर्ता लिने अन्तिम दिन, अक्टोबर २८ उम्मेदवारहरूको प्रमाणित सूची प्रकाशन, अक्टोबर ३० दावी विरोध गर्ने अवधि रातीको ११:५९ सम्म, अक्टोबर ३१ उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन, नोभेम्बर ११ विद्युतीय माध्यमबाट चुनाव प्रचारप्रसार बन्द, नोभेम्बर १५ मतदान विद्युतीय माध्यमबाट राती १२ बजेदेखि नोभेम्बर १६ को राती ११:५९ सम्म र नोभेम्बर १७ निर्वाचन परिणाम घोषणा हुनेछ।

निर्वाचनमा भाग लिएका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता विपरीत क्रियाकलाप गरेमा निर्वाचन समितिले निम्नबमोजिमको कारबाही गर्न सक्नेछ। पहिलो पटक लिखित चेतावनी दिइनेछ र यो चेतावनीको तथ्य निर्वाचन समितिको दस्तावेजमा सुरक्षित राखिनेछ। निश्चित समयभित्र पनि उस्तै क्रियाकलाप रही सुध्रिएको नपाइएमा दोस्रो पटक लिखित चेतावनी दिइनेछ। दोस्रो पटक लिखित चेतावनी दिँदा पनि निश्चित समयसम्म पनि उस्तै क्रियाकलाप गरी सुध्रिएको नपाइएमा उम्मेदवारी रद्द गरिनेछ।

निर्वाचन समितीले अनेसास कोलोराडो शाखाको विधान र निर्वाचन कार्यविधि अनुरूप निष्पक्ष र पारदर्शी ढंगले निर्वाचन सञ्चालन गर्न आवश्यक नियम तर्जुमा गर्न सक्ने छ। निर्वाचन सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार निर्वाचन समिति, २०२४ मा निहित रहने छ। यसरी निर्वाचन समितीले निर्वाचनसँग सम्बन्धित कार्यक्रम प्रकाशन गरेको छ।





Comments

comments

127132