न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २९ नोभेम्बर। हङकङको उच्च अदालतले ताइ पोको आगलागी घटनामा एक पुरुषलाई १५ वर्षको जेल सजाय सुनाएको छ। आगलागीमा उनकी प्रेमिका र उनकी दुई साना छोरीहरुको ज्यान गएको थियो।
यो घटना १२ जुलाई २०२१ को बिहानै मेई वान बिल्डिङको एक सब-डिभाइडेड फ्ल्याटमा भएको थियो, जहाँ परिवार बस्दै आएको थियो।
६५ वर्षीय प्रतिवादी यिउ वाई-चेउङमाथि जुरीले उनको कार्य उत्तेजित अवस्थामा भएको निर्धारण गर्दै उनलाई तीन वटा मानव हत्याको दोषी ठहर गरेको हो। साथै, उनलाई आगजनीको पनि दोषी ठहर गरिएको छ।
सुनुवाईका क्रममा खुलासा भए अनुसार यिउको ४२ वर्षीया प्रेमिकासँग अस्थिर सम्बन्ध थियो। घटनाको रात, प्रेमिकाको जुवा खेल्ने बानीका कारण उत्पन्न विवादपछि यिउले उनलाई चक्कुले आक्रमण गरी सय भन्दा बढी चोट पुर्याएका थिए। ८ र १३ वर्षका दुई छोरीहरू पनि त्यहाँ थिए र त्यसपछि लागेको आगोमा उनीहरूको पनि मृत्यु भएको थियो।
ताइपोको हेउङ स्जे वुई स्क्वायर नम्बर ४ स्थित मेई वान बिल्डिङको युनिट तीन कोठामा विभाजित गरिएको थियो, जहाँ तीनै पीडित एउटा कोठामा बस्दै आएका थिए। सन् २०२० मा प्रतिवादी यिउ प्रेमिकासँग सम्बन्ध सुरु गरेपछि त्यही कोठामा सरेका थिए।