नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाको नवनिर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण तथा वार्षिक साधारण सभा कार्यक्रम गत नोभेम्बर ३० का दिन भव्य रूपमा सम्पन्न भएको छ।
कार्यवाहक अध्यक्ष विजयदेव अधिकारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा निर्वाचन समितिका संयोजक डा. भीमप्रकाश कट्टेलले निर्वाचन प्रक्रियाका बारेमा मन्तव्य राख्दै नवनिर्वाचित पदाधिकारीहरूको नाम घोषणा गरे। सोही अवसरमा उनले नवनिर्वाचित पदाधिकारीहरूलाई शपथ ग्रहण गराए।
यसरी हालै सम्पन्न निर्वाचनमा निर्विरोध निर्वाचित हुने पदाधिकारीहरूमा अध्यक्ष किरण अधिकारी, उपाध्यक्ष निर्मला शर्मा, कोषाध्यक्ष शर्मिला शर्मा रहेका छन्। त्यस्तै संस्थाका सदस्यहरूमा देव भट्टराई, सिर्जना अर्याल, रन्जु आचार्य रहेका छन्। अनेसास कोलोराडो शाखाको विधान अनुरूप अन्य रिक्त पदहरू कार्यसमितिले पूर्ति गर्ने बताइएको छ।
नवनिर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समितिका सदस्य सुदेश शर्माले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरे। संस्थाका कार्यवाहक अध्यक्ष विजयदेव अधिकारीले निर्वाचन सम्पन्न गर्न योगदान पुर्याउनु भएका निर्वाचन समितिका संयोजक डा. भीमप्रकाश कट्टेल तथा सदस्यहरू डा. संगीता श्रोत्रिय र सुदेश शर्मालाई प्रशंसापत्र प्रदान गरे।
कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई अनेसास बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्मा र केन्द्रीय कार्यसमितिका महासचिव राजु सिटौलाले पुष्प गुच्छा तथा खादा लगाई बधाई दिए। समारोहमा कोलोराडोस्थित दिदीबहिनी समूह लगायत विभिन्न संघसंस्थाहरूबाट नवनिर्वाचित पदाधिकारीहरूलाई खादा, माला, अबिर लगाई बधाई दिइएको थियो।
कार्यक्रममा अनेसास बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्मा, केन्द्रीय कार्यसमितिका महासचिव राजु सिटौला, पूर्वअध्यक्ष ज्ञानेन्द्र गदाल लगायतले अनेसास कोलोराडो शाखाको स्थापना, संस्थाले नेपाली साहित्यको क्षेत्रमा पुर्याएको योगदान र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा गरेको योगदानका विषयमा चर्चा गर्दै नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिए। यसैगरी कार्यक्रममा रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष अर्जुन बगाले र नेपाली घरका उपाध्यक्ष गंगा चौलागाईंले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिए।
कार्यसमितिका नवनिर्वाचित अध्यक्ष किरण अधिकारीले अनेसास कोलोराडो शाखाको यस समितिले नेपाली भाषा, साहित्यको संरक्षण तथा विकासमा सक्दो प्रयास गर्ने वचनबद्धता प्रकट गर्दै सबैबाट सहयोगको अपेक्षा राखेका थिए।
कार्यक्रममा अनेसासका ट्रस्टीहरू डा. विजयराज शर्मा, नारायण श्रेष्ठ, प्रमिला शर्मा, सुनिल पाठक, मनोज तुलाधर, अनेसास कोलोराडो शाखाका पूर्व अध्यक्ष, आजीवन सदस्य लगायत कोलोराडोस्थित विभिन्न संघसंस्थाका अध्यक्ष, प्रतिनिधि, बुद्धिजीवी, समाजसेवीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा संस्थाका नवनिर्वाचित पदाधिकारीहरूसहित उपस्थित सबै अतिथि एवं सहभागीहरूलाई स्वागत गर्दै अनेसास कोलोराडो शाखाका सचिव लालप्रसाद चौलागाईंले कार्यक्रम सञ्चालन गरेका थिए। संस्थाको वार्षिक साधारण सभामा शाखाको वार्षिक प्रगति तथा आय-व्ययको विवरण शाखाका महासचिव किरण अधिकारी र कोषाध्यक्ष सेनुप्रसाद तिवारीद्वारा प्रस्तुत गरिएको थियो। सभाले उक्त प्रतिवेदनहरू सर्वसम्मतिले पारित गरेको थियो।