न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ३ डिसेम्बर। ताई पो क्षेत्रमा बक्सियान रिजमा चार जना पदयात्रीमाथि माहुरीको आक्रमण भएको छ। घटनामा एक ६० वर्षीय पुरुषको मृत्यु भएको छ।
आज बिहान करिब ९ बजे दुई पुरुष र दुई महिला गरी चार जना पदयात्री ब्राइड्स पुल, ताई पोबाट प्याट सिन लेङ प्राकृतिक शिक्षा पदमार्ग हुँदै विल्सन ट्रेलको नवौं खण्ड जोड्दै पो पिक शानसम्म पुग्ने योजनाका साथ हिँडेका थिए। दिउँसो साढे ३ बजेतिर चारै जना बक्सियान रिज पुग्दा अचानक माहुरीको झुण्डले आक्रमण गरेको थियो। एक ५४ वर्षीया महिलाको कानमा माहुरीले टोकेपछि उनले तत्काल प्रहरीलाई सूचना दिएकी थिइन्।
माहुरीको आक्रमणबाट बच्न भाग्ने क्रममा ६० वर्षीय एक पुरुष बेपत्ता भएका थिए। उद्धारकर्मीहरूले करिब चार घण्टापछि उनलाई फेला पारेका थिए। तर त्यतिबेला उनी बेहोस अवस्थामा थिए। उनलाई तत्काल चाई वानस्थित पामेला युडे नेथरसोल पूर्वी अस्पताल लगिएको थियो। जहाँ चिकित्सकले उनलाई मृत घोषित गरे ।
घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।