काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले बुधवार बिहान देशमा लगाइएको मार्शल ल फिर्ता लिएको घोषणा गरेका छन्।
राष्ट्रिय सभामा उपस्थित १९० सांसदहरूले सर्वसम्मतिले यो निर्णयको विरोध गरेपछि मार्शल ल हटाइएको हो। राष्ट्रपति युनले भने, “राष्ट्रिय सभाको मागमा मार्शल ल हटाइएको छ र सेनालाई फिर्ता बोलाइएको छ। म राष्ट्रिय सभाको माग स्वीकार्छु।”
मार्शल ल हटाइएको केही घण्टामै देशभर विरोध प्रदर्शन सुरु भएका छन्। प्रदर्शनकारीहरूले राष्ट्रपति युन सुक-योलको राजीनामाको माग गरिरहेका छन्।
मंगलबार साँझ राष्ट्रपति युनले देशमा मार्शल ल घोषणा गरेका थिए र देश विरोधी तत्वहरूलाई समाप्त पार्न यो कदम चालिएको बताएका थिए।