काठमाडौं, साहित्यको एक महत्वपूर्ण विधाको रूपमा रहेको पर्यावरणीय साहित्यलाई प्रवर्धन गर्ने उद्देश्यले नेपाली पर्या साहित्य प्रतिष्ठानले एक विशेष प्रतियोगिताको आयोजना गर्न लागेको छ। यस प्रतियोगितामा पर्यावरण र साहित्यको सुन्दर संगमलाई प्रस्तुत गर्ने निबन्धहरूलाई समावेश गरिनेछ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने निबन्धकारहरूलाई क्रमशः रु. ५०,०००, रु. ४०,००० र रु. ३०,००० नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिने छ। उत्कृष्ट २० निबन्धहरू एक विशेष संग्रहको रूपमा प्रकाशित हुनेछन्, जसमा छनोट भएका बाँकी १७ निबन्धकारहरूलाई समेत जनही रु. २,००० को सम्मान राशि प्रदान गरिनेछ।
प्रतियोगिताको नतिजा २०२५ मे ३१ मा काठमाडौंमा आयोजित हुने ‘१० औं वातावरण साहित्य गोष्ठी’मा घोषणा गरिने छ। सोही अवसरमा छनोट भएका निबन्धहरूको संग्रह पुस्तकको लोकार्पण पनि गरिनेछ।
निबन्ध २,५०० देखि ३,५०० शब्दसम्मको हुनुपर्ने छ र यसमा पर्यावरणीय साहित्यको विविध पक्षहरू जस्तै पर्या-नारीवाद, प्रकृति सौन्दर्य, जलवायु परिवर्तन, जैविक विविधता लगायतका विषयवस्तुहरू समेट्न सकिनेछ।
इच्छुक लेखकहरूले आफ्नो मौलिक र अप्रकाशित निबन्ध २०२५ फेब्रुअरी २८ सम्ममा पठाइसक्नुपर्नेछ। थप जानकारीको लागि [email protected] मा सम्पर्क गर्न सकिनेछ।
सर्त तथा नियम
1. निबन्धको विषय क्षेत्र पर्यावरण विशेष पर्यावरणीय साहित्य हुनुपर्नेछ।
2. निबन्ध नेपाली भाषामा लेखिएको साहित्यिक भाव झल्किने रचना हुनुपर्नेछ। अझ साहित्यिकता नै त्यसको पहिलो कसी हुनेछ। भाषिक शुद्धता, वैचारिक सुसङ्गति र स्पष्टतामा विशेष ध्यान दिइनेछ।
3. निबन्ध २,५०० देखि ३,५०० शब्दसम्मको हुनुपर्नेछ।
4. निबन्ध युनिकोड वा प्रिति फन्टमा टाइप गरी वर्ड फाइलमा पठाउनुपर्नेछ।
5. निबन्ध प्रतियोगितामा संसारभरिका स्रष्टाले भाग लिन सक्नुहुनेछ।
6. निबन्ध अप्रकाशित, अप्रसारित र मौलिक हुनुपर्नेछ।
7. नतिजा सार्वजनिक नहुन्जेल प्रतियोगितामा पठाइएको निबन्ध कतै पनि प्रकाशन वा प्रसारण गर्न पाइनेछैन।
8. छनोटमा परेका निबन्ध अन्य माध्यममा प्रकाशन वा प्रसारण गरेको भेटिएमा पुरस्कार निलम्बन गरिनेछ।
9. प्रतियोगीले निबन्धसँगै आफ्नो छोटो परिचय, मोबाइल नम्बर, इमेल र हालसालै खिचिएको फोटो पठाउनुपर्नेछ।
10. निबन्ध पठाइसक्नुपर्ने अन्तिम मिति: २०२५ फेब्रुअरी २८ शुक्रबार (२०८१ फागुन १६), रातको १२ बजे।
11. निबन्ध पठाउन वा सम्पर्कको लागि इमेल: [email protected]
धन्यवाद!
विजय हितान