विभिन्न सांस्कृतिक कार्यक्रमका साथ कोलोराडोमा ‘तमु ल्होसार’ सम्पन्न..

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। तमु ल्होसारको अवसरमा कोलोराडो निवासी तमुहरूले विभिन्न सांस्कृतिक कार्यक्रमका साथ नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै शनिवार ल्होसार सम्पन्न गरेका छन्। तमु धी कोलोराडोको आयोजनामा कोलोराडो निवासी तमु समुदायले आफ्नो संस्कृति परम्परा अनुसार गिद्ध बर्गलाई बिदा गर्दै सर्प बर्गलाई स्वागत गरेका हुन्।

तमु धी कोलोराडोका उपाध्यक्ष पुष्पा गुरुङको अध्यक्षतामा बोल्डर नगरमा सम्पन्न कार्यक्रम संस्थापक अध्यक्ष अरुण गुरुङ र हरिशोभा गुरुङद्वारा पानसमा बत्ती बालेर उद्घाटन गरिएको थियो। कार्यक्रमको सुरुमा नेपाली, अमेरिकी र गुरुङ राष्ट्रिय गान गाइएको थियो। कार्यक्रममा कोलोराडोमा सक्रिय संघ संस्थाका प्रतिनिधि, गण्यमान्य, व्यवसायी, पत्रकार तथा नेपालीभाषी बा आमा, दाजुभाइ दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित अतिथिहरूलाई खादा लगाइदिई सम्मान गरिएको थियो।

गौप्रसाद गुरुङ र प्रकाशजंग गुरुङद्वारा संयुक्त रूपमा सञ्चालित कार्यक्रममा भुवन गुरुङले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए। यसैगरी कार्यक्रमकी अध्यक्ष पुष्पा गुरुङले कार्यक्रमको महत्व र आवश्यकताबारे प्रकाश पारेकी थिइन्। उनले हाम्रो भाषा संस्कृति हराए हाम्रो पहिचान नै हराउने छ भन्दै यसलाई आफ्नो सन्ततिमा जस्ताको तस्तै हस्तान्तरण गर्ने वातावरण सृजना गर्न सबैलाई अनुरोध गरिन्। स्थानीय समुदायलाई तमु संस्कृतिको पहिचान गराउनुको साथै तमु संस्कृति जोगाइराख्न कार्यक्रम आयोजना गरिएको उनले बताइन्।

कार्यक्रममा गुरुङ भाषा र नेपाली भाषाका गीतमा स्थानीय कलाकारहरूले कौडा नृत्यलगायत अन्य कुशल नृत्य प्रस्तुत गरेर सहभागी दर्शकहरूको मन जितेका थिए। कार्यक्रममा उपस्थित धेरै सहभागी तथा कलाकारहरू आफ्नै सांस्कृतिक पहिरनमा सजिएर आएका थिए। तमु समुदायका सदस्यहरूले कार्यक्रम सुरु हुनुअघि लामा गुरुद्वारा विधिपूर्वक पूजाआजा गराई आशीर्वाद थापेका थिए।

नेपालमा मूलतः तीन किसिमको ल्होसार मनाइन्छ । गुरुङहरूले तमु ल्होसार, तामाङहरूले सोनाम ल्होसार र शेर्पाहरूले ग्याल्पो ल्होसार मनाउने चलन छ । उनीहरूले यस वर्ष गिद्ध बर्गलाई बिदाइ गर्दै सर्प बर्गलाई स्वागत गरेका छन् । ल्होसारमा परम्परा अनुसार पुरोहितबाट पुस १४ गते रातको १२ बजे दुःख, दोषको ग्रह दशा शान्ति गराउँछन् र भोलिपल्ट नयाँ दिनको झुल्के घामसँगै नयाँ वर्षको स्वागत गर्दछन् । उनीहरू आ-आफ्नो समुदायका गण्यमान्यको घरघरमा गएर आशीर्वाद लिने गर्दछन् ।





Comments

comments

128594