न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १५ जनवरी। सन् २०२४ मा हङकङमा ४४.५ मिलियन पर्यटक भित्रिएको छ। चीन सरकारले शेन्जेन निवासीहरूको लागि भिसा नियमहरू खुकुलो पारेपछि पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको हो।
पर्यटन मन्त्री रोजाना लले बताए अनुसार यो संख्या गत वर्षको तुलनामा एक तिहाईले बढी हो। डिसेम्बरको सुरुदेखि नै शेन्जेन निवासीहरूलाई जतिपटक पनि हङकङ आउन सक्ने सुविधा दिइएको छ। यसअघि हप्तामा एकपटक मात्र आउन पाइन्थ्यो।
गत महिना मात्रै मुख्य भूमिबाट ३.१ मिलियन भन्दा बढी पर्यटकहरू आएका थिए। यो दैनिक औसत १ लाख भन्दा बढी हो। यो नोभेम्बरको तुलनामा १७ प्रतिशतले बढी हो।
पर्यटन बोर्डका अनुसार कुल पर्यटक मध्ये १० मिलियन भन्दा बढी मुख्य भूमि बाहेकका देशहरूबाट आएका थिए। जुन गत वर्षको तुलनामा ४४ प्रतिशतले बढी हो। ४४.५ मिलियन आगन्तुकहरू मध्ये आधाले कम्तिमा एक रात हङकङमा बिताएका छन् र औसतमा तीन रात बिताएका छन्।
डीएबी विधायक ब्रेभ च्यानले सरकारलाई संयुक्त राष्ट्र संघको संस्कृति निकाय युनेस्कोको ‘विश्व खाद्य नगरहरू’ को सूचीमा हङकङलाई समावेश गर्न आग्रह गरेका छन्। हाल मकाउ, चेंगदु, शुन्दे, यांग्जौ, हुआइयन र चाओझौ सहित ५० वटा शहरहरू यस सूचीमा छन्।