न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २२ जनवरी। बुधबार बिहान युन लङमा भएको चक्कु आक्रमणमा घाइते भएका दुई जनामध्ये एक युवकको गम्भीर चोटका कारण मृत्यु भएको छ।
प्रहरीले प्राप्त गरेको जानकारी अनुसार बिहान करिब ५ बजे हाई यिप स्ट्रिटमा रहेको हाई यिप फ्याक्ट्री बिल्डिङ नजिक सात देखि आठ जनाको समूहले ती दुई जनामाथि आक्रमण गरेको थियो।
२४ वर्षीय चान नाम गरेका पीडितलाई धेरै ठाउँमा चक्कुले प्रहार गरिएको थियो। आक्रमणपछि उनी बेहोस भएका थिए। उनलाई पोक ओई अस्पताल लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको घोषणा गरियो।
अर्का पीडित २८ वर्षीय चेङलाई हात र पिठ्युँमा चोट लागेको छ। उनलाई ट्युन मुन अस्पताल लगिएको छ। प्रहरीले आक्रमणकारीहरूको खोजी गरिरहेको र अनुसन्धान जारी रहेको जनाइएको छ।
स्रोतहरूका अनुसार दुई पीडितहरू बिहान बारमा मदिरा सेवन गरेपछि दुई महिलासँग भवनबाट बाहिर निस्कँदै थिए। भवनबाट बाहिर निस्कने क्रममा ती दुई जनामाथि आक्रमण गरेर आक्रमणकारीहरू चार वटा गाडीमा फरार भएका थिए।