आम्भु जेठा –
हङकङ । याक्थुङ लिम्बु चलचित्रकर्मीहरुको संस्था “याक्थुङ मुनचइत चोक सयङ हङकङ” बुधबार हङकङमा गठन भएको छ । जोर्डनस्थित चुम्लुङ हलमा निर्देशक एवं कलाकार मौसम इम्बुङ उर्फ फुल्लेन्देको अध्यक्षतामा भएको अधिवेशनले १९ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
नेपाली तथा लिम्बु चलचित्रका निर्माता, निर्देशक एवं कलाकारहरुको भेलाले हङकङ चाइना प्रथम अधिवेशन गर्दै चलचित्र सुगुपका निर्माता एवं कलाकार रबिन कुमार नाल्बोको अध्यक्षतामा नयाँ कार्यसमिति “याक्थुङ मुनचइत चोक सयङ हङकङ” गठन गरेको हो ।
संगठनमा चलचित्र “चे” तथा “के.टु”का कलाकार तथा निर्माता भवेन्द्र थाम्सुहाङ बरिष्ठ उपाध्यक्ष रहेका छन् भने केशाङला चलचित्रका नायक एवं निर्माता भिम प्रसाद तुम्बाहाङफे उपाध्यक्ष रहेका छन् ।
लोपोन्मुख लिम्बु संस्कार संस्कृतिका हाक्पारे ख्याली भित्रका तामआके, लाङबाउङमा, तुरुपे, केशाम भाका, तथा पहिलो लिम्बु उपन्यास थकथामाका कलाकार एवं ३०० भन्दा बढी लिम्बु पालाममा निर्देशन गरिसकेका निर्देशक एवं कलाकार हाङ चेम्जोङ संगठनका महासचिव पदमा चुनिएका छन् ।
लिम्बु तथा नेपाली चलचित्र एवं म्युजिक भिडियोका नायिका, कलाकार सुक्मिता केरुङ सचिव पदमा चुनिएका छिन् भने कार्यक्रम प्रस्तोता समेत रहेका नायिका एवं कलाकार संगीता लावोती कोषाध्यक्ष रहेकी छन् ।
त्यस्तै सक्रिय सदस्यमा दर्जनौं गीतका गीतकार, लेखिका, साहित्यकार एवं कलाकार जानुका काम्बाङ र कलाकार मोडल हेमराज अन्छङबो रहेका छन्।
संगठनका सदस्यहरुमा कलाकार सन्जु लिम्बु, चलचित्र माङगेनाका निर्माता एवं कलाकार टिका माखिम, निर्माता एवं कलाकार प्रकाश आङबुहाङ, यमुना नेम्बाङ चेम्जोङ रहेका छन्।
सस्तो लगानीमा चलचित्र निर्माण गर्दा निर्देशक तथा केही कलाकारहरुको पारिश्रमिकको लागि मात्र काम भएको हुने र निर्माण सम्पन्न पछि सर्वसाधारणमा जबरजस्ती टिकट बिक्री गरेर प्रदर्शन गर्नु आफैंमा राम्रो संस्कार नभएको आदिवासी जनजाति महासंघका सदस्य रबिन लिङदेनले शुभकामना मन्तव्य दिँदै भनेका थिए।
सस्तो लोकप्रियताको लागि मात्र नभएर दर्शक श्रोता तान्ने खालको चलचित्र निर्माणमा निर्माता एवं निर्देशकहरुले ध्यान दिनुपर्ने बताउँदै अधिवेशनबाट निर्वाचित सबै पदाधिकारीहरुलाई प्रमुख अतिथिको हैसियतबाट किरात याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष समशेर तुम्बाहाङफेले शुभकामना व्यक्त गरेका थिए।
भावनामा डुबेर चलचित्र निर्माण गर्दा विदेशमा वस्ने चलचित्र निर्माताहरुको भावना संगै लगानी पनि डुब्ने भएकोले आउने दिनहरुमा सवै क्षेत्रमा सम्मनन्व गर्दै काम तथा कार्यक्रमहरु अगाडि बढाइने अध्यक्ष रबिन कुमार नाल्बेले बताए ।
याक्थुङ मुनचइत चोक सयङको केन्द्रीय समितिमा समेत रहेका अनुभवी संगठनका महासचिव हाङ चेम्जोङले हङकङमा यो अधिवेशन पहिले हुनु पर्नेमा अहिले हङकङको चाइनिज नयाँ वर्षको अवसरमा अधिवेशन गरी छुट्टीको सदुपयोग गरिएको बताए। चेम्जोङले चलचित्र निर्माण मात्र नभएर अहिले ताप्लेजुङको मुक्कुमलु क्षेत्रलाई समेत ध्यान दिँदै सुरक्षाकर्मीको गोली लागेर घाइते भएकाहरुलाई व्यक्तिगत सहयोगको लागि समेत संगठनले काम गर्ने बताए।
अधिकांश लिम्बु निर्माता, निर्देशक एवं कलाकारहरु रहेको संगठनले हङकङमा प्रदर्शन गरिने लिम्बु चलचित्रहरुमा सेन्सर सिप गर्नुपर्ने उपाध्यक्ष भिम तुम्बाहाम्फेले बताए।
संगठनमा चलचित्र निर्माता एवं कलाकार विष्णु कुमार थेवे, हस्त लिबाङ, हेमन्त कृष्ण पन्धाक, रमेश सिंघक “याक्थुङ मुनचइत चोक सयङ हङकङ”का सल्लाहकार रहेका छन्।
वि. सं. २०६६ सालमा स्थापना भएको याक्थुङ मुनचइत चोक सयङ केन्द्रीय समिति नेपालको मातहतमा रहेको संगठन सन् २०१४ देखि हङकङमा चलचित्र निर्देशक एवं कलाकार मौसम इम्बुङ उर्फ फुल्लेन्देको बाह्र संयोजक रहेर काम गरिरहेका थिए।