म्याग्दी । कोरोना महामारी फैलिएपछि विसं २०७६ चैतदेखि भएको लकडाउन (बन्दाबन्दी) का समयमा घुम्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले पुगेका बेनीका ब्यवसायी विकास श्रेष्ठलाई त्यही जग्गा किनेर घर र बगैचा बनाउने सोच आयो ।
बेनीमा पोल्ट्रि र घरजग्गा ब्यवसाय गर्दै आएका विकासले सोखका लागि गाउँमा घर बनाएर बस्नका लागि किनेको दोसल्ले गाउँको शिरमा रहेको जङगलछेउको भिरालो पाखोबारी अहिले हराभरा भएको छ । ‘बुढेशकालमा शान्त वातावरणमा बस्नका लागि भनेर दोसल्लेमा जग्गा किनेको थिए,’ उनले भने, ‘काम गर्दा गर्दै सुन्तला बगैचा पो भयो ।’
रोजगारीका लागि पोर्चुगलमा रहेका जग्गाधनीका परिवार र आफन्त पोखरामा बसाईसराई गरेपछि विकासले किनेको जग्गामा रहेको सुन्तला बगैचाले स्याहार पाउन छाडेको थियो । पाखोबारी झाडीमा परिणत भएको थियो । श्रेष्ठले सञ्चालन गरेको अन्नपूर्ण फलफुल, तरकारी तथा कृषि फार्ममा पुराना एक सय ५० बोट सुन्तलाले मलजल, स्याहार सुसार पाएपछि उत्पादन दिन थालेका छन् । थप सात बिरुवा बगानमा हुर्किरहेका छन् ।
पाखोबारीलाई घेराबार गर्ने, गह बनाउने, खाडल खनेर सुन्तलाका बिरुवा लगाउने, गोडमेल, मलजल गर्न, संरचना बनाउन र जग्गा खरिद सहित फार्ममा रु। तीन करोड ५० लाख लगानी भएको श्रेष्ठले बताए । ‘यसपाली रु. १५ लाखको सुन्तला बिक्री भयो,’ उनले भने, ‘कृषिबाट यति राम्रो कमाई होला भनेर सोचेको थिइन्, गर्न सकेमा हुदो रहेछ भन्ने मैले महशुस र अनुभव गरे । थप चार रोपनीको बगैचा किनेर फार्म विस्तार गरेको छु ।’
दिवंगत हजुरबुवा सुर्यनारायण श्रेष्ठको जीवनबाट प्रभावित भएर कृषि ब्यवसायमा जोडिएको विकासले बताए । उनको फार्ममा तीन जनाले नियमित रोजगारी पाएका छन् । सुन्तलाखेतीसँगै उक्त फार्ममा लोकल र ब्रोइलर जातका कुखुरा पनि पालिएको छ ।
सुन्तलाका लागि कुखुराको सुलीको मल उपयोगी हुने श्रेष्ठको अनुभव छ । कृषि फार्मका लागि सरकारी निकायबाट हालसम्म अनुदान नलिएको श्रेष्ठले बताए । काठमाडौँको बल्खुका ब्यापारीसँग सिधै सम्पर्क गरेर सुन्तला पठाउन थालेपछि उचित मूल्य पाएको र बजार सुनिश्चित भएको उनले बताए ।
घरजग्गा ब्यापार छाडेर कृषि ब्यवसायमा लागेका श्रेष्ठले बेनीमा दाना र चल्लाको ब्यापार गर्ने जलेश्वर पोल्ट्रि फर्म सञ्चालनको जिम्मा छोरा आदेशलाई जिम्मा लगाएका छन् । अवसर, सुविधा र रोजगारीका लागि विदेश र सहर पस्ने क्रम बढिरहेको अवस्थामा बजारबाट गाउँ गएर कृषि ब्यवसाय गरेका श्रेष्ठ कृषकहरुका लागि उदाहरणको पात्र बनेका छन् ।
दोसल्लेका अगुवा कृषक खगबिर पाईजाले बेनीबाट आएर श्रेष्ठले सुन्तलाखेती सुरु गरेपछि गाउँ छाडेर गएकाहरु फर्किएर सुन्तला खेती गर्न थालेका बताए । ‘उहाँ (विकास)ले बाँझिएको जग्गालाई सदुपयोग मात्र गर्नुभएको छैन,’ पाइजाले भने, ‘गाउँमा सुन्तला खेतीका लागि नयाँ प्रबिधि भित्र्याउनुभएको छ । उहाँको सिको गरेर बजार झरेकाहरु गाउँ फर्किएर सुन्तला खेती गरेका छन् ।’
सुन्तला खेतीका लागि जग्गा किन्न आउनेहरु बढेका र खेतबारीको भाउ पनि बढेको पाइजाले बताए । विकासको सुन्तला बगैचा अवलोकनका लागि बेनी र आसपासका ठाउँबाट कृषक तथा ब्यवसायीहरु आउने गरेका छन् । उक्त बगैचाबाट पृष्ठभूमिमा निलगिरि र धौलागिरि हिमाल देखिन्छ । बगैचाको बिच भागमा पाहुना र आफु बस्नका लागि घर बनाएका श्रेष्ठको फार्मलाई कृषि पर्यटनसँग जोड्ने योजना छ ।
समुन्द्रि सतहदेखि एक हजार पाँच सय मिटरको उचाईमा रहेको दोसल्लेका कृषकले सुन्तला खेतीलाई मुख्य आयस्रोत बनाएका छन् । यहाँ रहेका ४२ घरपरिवार सबैले सुन्तला खेती गरेका दोसल्ले सुन्तलाजात कृषक समूहका अध्यक्ष प्रेम पाइजाले बताए । गत वर्ष रु. ८० लाखको सुन्तला बिक्री भएको दोसल्लेबाट यसपाली रु। एक करोड ८० लाख मूल्य बराबरको सुन्तला फलेको उनले बताए । रासस