समाचार चोरिएको हैन

एचकेनेपाल डट कम संवाददाता-
यूएई, नेपाली एकता समाज यूएई र नेपाल पत्रकार महासंघ यूएई शाखाको बरदुबईको खलिज सेन्टरमा अगस्त १ मा आयोजना गरिएको कार्यक्रमको समाचार संप्रेषणका क्रममा उत्पन्न भएको विवादलाई समाधान गर्न संयुक्त बैठक बसेको छ।

बैठकमा नेपाली एकता समाज यूएईका तर्फबाट केन्द्रीय अध्यक्ष कृष्ण केसी, उपाध्यक्ष यमबहादुर पुन, केन्द्रीय महासचिव मेघराज खनाल र दुबई क्षेत्रीय समतिका अध्यक्ष प्रेम भण्डारी उपस्थित भएका थिए भने नेपाल पत्रकार महासंघ यूएईको तर्फबाट अध्यक्ष अर्जुन दाहाल, उपाध्यक्ष भुपराज बस्याल, सचिब निमेष गिरी, सहसचिव त्रिलोचन कोइराला, कोषाध्यक्ष एकेन्द्रबहादुर थापा र सदस्य लक्ष्मण खनाल उपस्थित हुनु भएको थियो।

बैठकमा नेपाली एकता समाज यूएईका अध्यक्ष कृष्ण केसीले समाजकै जिम्मेबार व्यक्तिले गलत र अबैधानिक रुपले समाजले गत अगस्त १ मा आयोजना गरेको अनौपचारिक कार्यक्रमको समाचार सम्प्रेषित गर्न संस्थाको लेटरप्याड पत्रकारलाई दिएर गल्ती गरेको स्वीकार्नु भएको छ। साथै नेपाली एकता समाज यूएईका अध्यक्ष केसीले समाजले आन्तरिकरुपमा गहिरो छानबिन गरी दोषीलाई कारबाही समेत गरिएको बताउनु भयो।

पत्रकार लक्ष्मण खनालले नेपाली मसालका महामन्त्री मोहनबिक्रम सिंहको उपस्थितीमा अगस्त १ मा आयोजित कार्यक्रमको समाचार आफूले लेखेको तर सोही समाचार पत्रकार उमाकान्त पाण्डेले चोरी गरेर उज्यालो अनलाईनमा प्रकाशन गराएको भन्दै नेपाल पत्रकार महासंघ यूएई र उज्यालो नेटवर्कलाई उजुरी दिनुभएको थियो।

सम्बन्धित मुद्दामा उज्यालो अनलाईनका सम्पादक सुनिल न्यौपानेले नेपाल पत्रकार महासंघ यूएई शाखालाई पत्रचार गरी नेपाली एकता समाज यूएईले नै समाजको लेटरप्याडमा समाचारको बुँदा तयार गरी समाचार बनाउन दिएको प्रमाण समाचार सम्वाददाता उमाकान्त पाण्डेले उहाँलाई उपलब्ध गराएको जानकारी गराउनु भएको थियो। साथै उहाँले सो विषयमा यूएईमा स्थानीय तवरले समस्याको समाधान गर्न समेतआग्रह गर्नुभएको थियो।

तत्पश्चात समाजको लेटर हेडप्रयोग भएको बारेमा थाहा पाएपछि नेपाली एकता समाजले समाजका जिम्मेबारी व्यक्तिले समाजको लेटरहेडको दुरुपयोग गरेको र यसमा पत्रकार उमाकान्त पाण्डेको दोष नभएको भन्दै विज्ञप्ति समेत जारी गरेको थियो।

कुनै पनि व्यक्तिले संस्थाको लेटरहेडलाई व्यक्तिगत प्रयोजनकालागि प्रयोग नगर्न र यसमा सबैलाई सचेत हुन महासंघ यूएई शाखाले हार्दिक अनुरोध गर्नुकासाथै पत्रकारहरूलाई आफ्नो समाचारको कपीराइट्सकोलागि निरन्तर प्रयासरत रहन समेत हार्दिक अनुरोध गरेको छ।





Comments

comments

1295