प्रधानमन्त्रीको बेडरुमबाट सहयोगीमध्येबाटै १२ लाख चोरी

प्रधानमन्त्री सुशील कोइरालाको बेडरुमबाट झन्डै १२ लाख रुपैयाँ चोरी भएको छ। सहयोगीमध्येबाटै चोरी भएको थाहा भएपछि करिब तीन महिनाअघिको घटना गुपचुप नै राखिएको छ।

विश्वस्त स्रोतका अनुसार कोइरालाको महाराजगन्जस्थित निवासबाट रकम चोरी भएको हो। प्रधानमन्त्री भएपछि सरकारी निवास बालुवाटार बसाइँ सरे पनि कोइरालाले त्यसअघि बस्दै आएको घर छाडेका थिएनन्। अधिकांश सामान पुरानै निवासमा थिए। सुरक्षाकर्मी पनि घरमा तैनाथ नै थिए, तर पनि चोरी भयो।

गत जेठको दोस्रो सातातिर प्रधानमन्त्री कोइराला सुत्ने कोठामा रहेको दराज फोडेर करिब १२ लाख रुपैयाँ चोरिएको हो। चोरी गरिसकेपछि दराजको लक पुनः बनाइएको थियो। ‘सुशील’दाले अप्ठ्यारो पर्दा चाहिन्छ भनेर राखेको पैसा दराज फोडेर चारिएको रहेछ,’ स्रोतले भन्यो।

घरको साँचो सहयोगीहरुका हातमा हुने गरेपनि दराजको साँचो भने कोइरालाले नै राख्ने गरेको खबर आजको नयाँ पत्रिकामा समाचार छ। आफ्नो दराजको लक फोडेर पैसा हराएको खबर भने कोइरालाले आफू अमेरिका उड्नुअघि मात्र थाहा पाएका थिए। त्यसपछि आफ्ना नजिकका सहयोगीलाई पठाएर दराज हेर्न लगाई चोरी भएको पुष्टि भएको थियो। दराजको लक फोडेर पैसा चोरी गरेपछि उक्त दराजको लक पुन बनाइएको थियो।

चोरीपछि घर छोड्ने निर्णय
प्रधानमन्त्री कोइरालाले आफू पहिलेदेखि बस्दै आएको महाराजगन्जस्थित निवास छाड्ने निर्णय गरेका छन्। बालुवाटारमा सरे पनि अमेरिका जानुअघिसम्म उनका सामान सोही घरमा राखिएको थियो।

तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निधनपछि २३ चैत ०६७ देखि सुशील सो घरमा बस्दै आएका थिए। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीबाट हटेपछि ०६५ भदौदेखि सो घरमा बस्न थालेका थिए।

गिरिजाबाबु पनि बस्नुभएको महाराजगन्जको घर परधानमन्त्रीले तत्कालै छाड्ने कुनै योजना थिएन, तर चोरी भएपछि एकाएक छाड्ने कुरा आएको हो,’ बालुवाटार स्रोतले भन्यो।





Comments

comments

1299