सिर्जनशील युवा पुरस्कारद्वारा एनवि गुरुङ सम्मानित

खडकराज पौडेल / एचकेनेपाल डट कम-
भदौ २१, पोखरा/यस बर्षको सिर्जनशिल युवा कला पुरस्कारद्वारा कलाकार एनवि गुरुङ सम्मानित हुनुभएको छ। शनिबार महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालेरीमा भएको एक कार्यक्रमकाबिच प्रमुख अतिथि अशोक पालिखेले उनलाई सम्मानपत्र, नगद पुरस्कार र दोसल्ला ओढाई सम्मान गरेका हुन्।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पालिखेले कलाकार एनबिको पानी रङ्गमा देखिएको प्रयोगधर्मिताको तारिफ गरे। पोखराको कलाको श्रीबृद्धिका लागि निरन्तर साधाना र अध्ययन गर्नु जरुरी रहेको उनले बताए। कार्यक्रममा बोल्दै बरिष्ठ कलाकार दूर्गा बराल वात्सायनले विश्वविद्यालयमा अध्ययन गर्दादेखि नै गुरुङमा एक प्रतिभावान कलाकारको छाप देखिईसकेको बताउँदै हाल गुरुङको प्रगति निकै आशाजनक रहेको बताए ।

कलापारखी विश्वरत्न शाक्य एवम् उनको परिवारद्वारा दिवंगत मातापिता सिद्धिरत्न र सेतुलिमाया शाक्यको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशी रु. सात हजार रहेको छ। यस अघि उक्त पुरस्कारबाट सुनिल सिग्देल, डि. राम पाल्पाली, पदम घले, सञ्जय गुरुङ, विश्वराज पराजुली, गणेश जिसी र इन्द्र खत्री सम्मानित भैसकेका छन्।

कास्की लेखनाथको सैनिकबस्ती निबासी एनबि गुरुङ हाल राजधानीमा क्रियाशिल छन् । विशेषगरी उनका पानी रङ्गमा चित्रित कलाकृतिहरू उल्लेखनीय छन् । गुरुङ हालै मात्र २०७० सालको क्षेत्रीय प्रतिभा पुरस्कार एवम् अन्तराष्ट्रिय वाटर कलर सोसाइटीबाट समेत सम्मानित भैसकेका छन्। उनले सन् २००२, २००३ र २००५ मा गरी तीन एकल कला प्रदर्शनी गरेका छन् भने थुप्रै सामुहिक कला प्रदर्शनी एवम् कलाकार्यशालाहरूमा सहभागिता जनाई सकेका छन्।

सिर्जनशिल कलाकार समूहका अध्यक्ष पदम घलेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पुरस्कार छनौट समितिका संयोजक रमेश श्रेष्ठ, उपाध्यक्ष विश्वराज पराजुली र संस्थाका संरक्षक सदस्य क्षेत्रलाल कायस्थले शुभकामना मन्तव्य राख्नु भएको थियो भने उक्त कार्यक्रमको सञ्चालन सचिव सूर्य वराइलीले गरेका थिए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

1297