सन्तोष थलङ / एचकेनेपाल डट कम-
आम गोरखाली/ नेपाली समुदायमा ‘गोरखा सत्याग्रह आन्दोलन’ को आमरण अनशनकारीहरुका बिषयमा एउटा जिज्ञासा र कौतुहलता अवश्य हुनपर्दछ! त्यो के हो भने, गोरखाहरुका लागि भनेर आमरण अनशन बसेका ब्रिटिश नागरिक को हुन्? किन अनशन बस्ने निर्णय गरे? अनि किन अनशन पुरा गर्न सकेनन्? हो, उनैको बिषयमा, उनले २६ मार्चका दिन हाउस अफ पार्लियामेन्टमा APPC लाई दिएको बयानको आधारमा सबैका लागि संक्षिप्त जानकारी गराउने जमर्को गरेको छु।
डा. डेभिड ओ’ हलोरान उर्फ “डा• टोम्मी रिओर्डन,” अवकास प्राप्त बरिष्ठ बेलायती चिकित्सक हुन्। हाल उनी वरिष्ठ स्वास्थ्य परामर्श दाता (Senior medical consultant) का रुपमा कार्यरत छन्। उनी स्वभावत: उद्धार, सहयोगी र दयालु मान्छे। उनले सेवानिवृत्त भएपछि निजी श्रोतबाट गरिव, अल्पबिकसित देशका असहाय र निमुखा जनताहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने योजना बनाए। यसै सिलसिलामा केही वर्ष अघी उनी अफ्रिकाको कुनै एउटा अल्पबिकसित देशमा कुनै एउटा कल्याणकारी संस्थामार्फत त्यहाँका जनताहरुलाई स्वास्थ्य सेवा प्रदान गरिरहेका थिए।
एउटा अनौठो संयोग, डा. डेभिडले काम गर्ने संस्थामा एकजना पूर्व ब्रिटिश गोरखा सैनिक पनि कार्यरत रहेछन्। दुवै बिदेशी त्यसमा अझ एकजना बेलायती नागरिक अर्का बेलायती पूर्व सैनिक, उनीहरुको घनिष्टता स्वत: स्थापित हुने नै भयो। ति गोर्खा अति मिलनसार र अदम्य साहसी थिए। त्यसैले उनलाई स्थानीय भाषामा “बापोला”(साहसी, लडाकु)भनेर सबैले चिन्ने बोलाउने गर्दथे। उनीहरु कार्यरत त्यो देशमा सरकार र सरकार बिरोधी सशस्त्र आन्दोलनकारी (मिलिसिया) हरु बिच साना तिना झडपहरु भईरहेको थियो।
एकदिन डा. डेभिड ओ’हलोरान कुनै एउटा शहरमा घुम्ती स्वास्थ्य शिविर संचालन गरिरहेका थिए। बापोला केही बन्दोबस्तीका काम गरिरहेका थिए। अचानक एक लोरी ससस्त्र मिलिसियाहरु आएर जताततै शिविरमा उपस्थित जनताहरुलाई कुट्पिट गर्न थाले। सरकारको पक्षमा काम गर्ने बिदेशी संस्था र बिदेशीहरु, बिद्रोहीहरुको निसानामा नपर्ने कुरै भएन। यस्तैमा दुईजना मिलिसियाहरुले डा. डेभिडलाई हमला गर्न थाले। यो देख्नसाथ बापोला आक्रमक ढंगले आएर डा. डेभिडलाई उनीहरु बाट मुक्तगरी आफ्नो जिपमा लगाएर त्यहाँबाट भाग्न सफल हुन्छन्। तर ति मिलिसियाहरुले गाडीबाटै फलोअप गर्नथाले। दुबैले अरु कुनै उपाय देखेनन्। किन कि त्यो बिद्रोहीहरुको पकड क्षेत्र थियो। मिलिसियाहरुलाई गाडी मथि हमला गर्ने उपयुक्त ठाउँँको पर्खाइ मात्र थियो।
यस्तैमा गाडी चलाईरहेका बापोलाले बीरता र धैर्यताकासाथ भने, “डाक्टर अब हामी दुबै यिनीहरुको निशानाबाट बाँच्ने सम्भावना छैन। हामी दुईमध्ये एकजना बाँच्न सक्ने एउटैमात्र बिकल्प छ। त्यो के भने म तपाईंलाई गाडीबाट झारिदिन्छु, तपाईं जङगलमा लुकेर भाग्नुस्।” गाडी द्रूत गतिमा कुदि रहेको हुन्छ। डाक्टर उनलाई छोडेर भाग्न मानेका हुदैनन्,यस्तैमा बापोलाले गाडी स्लो डाउन गरेर डाक्टरलाई गाडीबाट झरेर भाग्न भन्छन्। डाक्टर अन्योलमा परिरहेका हुन्छन्। यस्तैमा उनले डाक्टरलाई गाडीबाट धकालेर बाटोमुनी झारिदिन्छन्। अनि “गूड् वाई एण्ड टेक केयर डाक्टर” ! भनेर जिप अगाडि बढाउँछन्। डाक्टर बाटोमुनि झाडीमा लुकेका हुन्छन्! मिलिसियाको ट्रकले बापोलाको जिपलाई पछयाउदै डाँडा काट्छ। केही क्षणमै गोली चलेको आवाज आउँछ।
अब डाक्टर खतरा मुक्त भए। उनी लुक्दै लुक्दै आफ्नो कार्यालय आईपुगे। तर बापोला फर्केनन्। अन्तत: त्यही भयो जे बापोलाले भनेका थिए। डाक्टर बाँच्न सफल भए। बापोलाले मिलिसियाको हमलाबाट शहादत प्राप्त गरे। त्यसपछि डा. डेभिड ओ’हलोरान ति बहादुर गोरखा ‘बापोला’ को बहादुरीता, बुद्धिमानिता र बलिदानबाट अति नै प्रभावित भए। उनले वीर गोरखाहरुको गाथा स्मरण गरे। दुई सय वर्षदेखि बेलायत र बेलायती जनताका लागि जीवन वलिदान गर्ने ति वीरहरुको त्यागलाई सम्झे।
गोरखाहरुप्रतिको श्रद्धा उनीभित्र चुलियो। उनलाई लागेको छ; यो उनको जीवन ति बहादुर गोरखा(बापोला) ले दिएको “उपहार” हो। त्यसर्थ “मैले मेरो बाँकी जीवन यि वीर गोरखाहरुको भलाईका लागि समर्पण गर्नु नै मेरा लागि सही अर्थमा ती जीवनदाताप्रतिको सच्चा सम्मान हुनेछ”; भन्ने आत्मा निर्णयमा पुगेका थिए उनी।
त्यो घट्नापछि अफ्रिकामा उनको अभियानलाई निरन्तरता दिन सम्भव भएन। त्यस कारण उनी स्वदेश (बेलायत) फर्किए। उनले नेपाल गएर आफ्नै श्रोत साधनले पीडित गोरखाली/नेपालीहरुलाई आफूले सकेको स्वास्थ्य सेवा निशुल्क दिने योजना बनाएका थिए। र उनी यसै गृहकार्यमा जुटि रहेका थिए। अर्को संयोग ठीक त्यही समयमा गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले बिभिन्न ५ सुत्रिय माग राखेर बेलायत सरकारलाई ‘छ’ महिने अल्टिमेटम दिएको अवस्था थियो।
बिभिन्न सञ्चार माध्यमबाट डा. डेभिडलाई गोरखा आन्दोलनका बिषयमा थाहा भयो। उनले यसलाई गम्भीररुपले अध्ययन गरे। किन कि यो (गोरखा) उनको चासोको बिषय बनि सकेको थियो। गोरखाहरुलाई बेलायत सरकारले गरेका बिभेदहरु उनलाई असह्य भयो। उनको गहन चिन्तन मननपछि, उनले नेपाल गएर स्वास्थ्य क्षेत्रमा सहयोग गर्न भन्दाअघि गोरखाहरुलाई यो आन्दोलनमा सहयोग गर्न आवश्यक ठाने। अनि उनले आफ्नै तरिकाले सम्बन्धित एम.पी. मन्त्री र मन्त्रालयहरुमा गोरखाहरुका माग तत्काल समाधान गरियोस् भनेर निबेदनहरु पेश गरे। तर उनले आफ्नो कृयाकलाव प्रचारप्रसारमा ल्याएनन्। यहाँसम्म कि उनको अभियानको जानकारी एवम सम्पर्क गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिसंग पनि थिएन। उनलाई लागेको थियो कि, अल्टिमेटमको समयसिमाभित्रै बेलायत सरकारले गोरखाहरुको मागहरुका सम्बन्धमा कम्तिमा पनि वार्ता आरम्भ गर्नेछ।
अफसोस, बेलायत सरकारले न माग पुरा गर्यो न वार्ता ! १३ जना गोरखा भि.सि हरुका नाममा १३ दिने रिले अनशन सुरुभयो। उनलाई लाग्यो “अनशन” बेलायतको लागि अलि नौलो अभ्यास नै मानिने भएकाले, रिले अनशनसँगै बेलायत सरकार पनि समस्या समाधान तर्फ सकृय हुनेछ, तर त्यसो भएन। उनले फेरी सम्बन्धित एम.पि हरु, रक्षा मन्त्रालय (MoD),उप प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालयको अवधारणा बुझ्ने प्रयास गरे, तर कुनै प्रतिकृया आएन। रक्षा मन्त्री मार्क फ्रान्स्वालाई मात्र ३६ पल्ट सम्पर्क प्रयास गरे। तर सबै निष्कृय रहेको पाए। अरु भन्दा प्रधानमन्त्री यो बिषयमा चिन्तित पाए उनले। रिले अनशनको एक साता बितिसक्दा पनि बेलायत सरकारले कुनै पहल नगरेपछि डा. डेभिडलाई अति असह्य भयो। उनले बडो भावुक भएर सोचे, हजारौं गोरखाहरुले हामी बेलायतीहरुका लागि जीवन समर्पण गरेका छन् भने म एकजनाले सारा गोरखाहरुका लागि जीवन समर्पण गर्न किन नसक्नु?
उनलाई बापोलाले भनेका वाक्यांश झलझली याद आयो। बापोलाले सँधै भन्थे ” मेरो मृत्युले कुनै अर्थ राख्छ भने, म मृत्युसंग रत्तिभर डराउँदिन।” अनि उनले आफू पनि अमरण अनशनमा जाने धृढ निर्णय लिए। उनलाई लाग्यो, उनी शारिरीक रुपमा पनि कमजोर भएकाले “म अनशनकारीमध्ये मर्ने पहिलो व्यक्ति बनेर एकजना गोरखा (ज्ञानराज राई)को जीवन बचाउन र हज्जारौं गोरखाहरुलाई न्याय दिलाउन सकें भने मेरो मृत्यु स्वर्णिम हुनको साथै मेरो वलिदान अमूल्य सावित हुनेछ।”
र यो उनलाई “बापोला” को ऋण चुकाउने उपयुक्त अवसर हो भन्ने पनि लाग्यो। ७ नोभेम्बर २०१३ बाट आमरण अनशन आरम्भ हुने पक्कापक्की भयो। उनले ३० अक्टोवरदेखि उनका मुटुलगायत सबै प्रकारका औषधीहरु खान बन्द गरे। र उनले ४ नोभेम्बरका दिन अन्तिम ठोस खाना खाए। उनले, आफ्नो मृत्युपछि उनका चल-अचल सम्पत्ति श्रीमती र छोराले पाउने “ईच्छा पत्र” बनाए। उनलाई एउटा ठूलो समस्या थियो, त्यो के भने, उनको आमरण अनशन बस्ने निर्णय उनका निकटस्थ परिवारका सदस्यहरुले कुनै हालतमा स्वीकार्ने स्थिती थिएन। उनका परिवारमा उनलाई अति माया गर्ने बृद्धाआमा, जीवनसंगिनी र दुई छोराछोरी थिए। घरका परिवारलगायत आफन्तहरुलाई अनशन वार कि पार नभएसम्म कुनै जानकारी नदिने स्वनिर्णयमा पुगेका थिए उनी।
त्यसका लागि उनले उनको नाम परिवर्तन गरेर ‘डा. डेभिड ओ’ हलोरान’ बाट “डा. टोम्मी रिओर्डन” बनाए। त्यसपछि उनले एकदिन अन्तिम डिनरका लागि परिवारका चारैजना सदस्यलाई बाहिर कतै रेष्टुरेण्टमा लगे। त्यही अवसरमा उनले सबैलाई एक्लै एक्लैमा “आफू बिशेष कामले ६ हप्ताको लागि अफ्रिका जान परेको र आफूले काम गर्ने ठाउँमा फोन, इन्टरनेट उपलव्ध नभएकाले सम्पर्क प्रयास नगर्नु, मपछि आँफै सम्पर्क गर्नेछु” भने। तर कहिले जाने, मिती केही बताएका थिएनन्।
अनशन आरम्भ हुनु भन्दा अघिल्लो दिन मात्र उनले गोरखा सत्याग्रहका गोरखादूत डा. रामनारायण कन्दङ्वालाई फोन मार्फत भोलि (७ नोभेम्बर) बाट आमरण अनशन बस्न आउने जानकारी गराए। त्यो खबरले सञ्चार जगतमा एउटा तहल्का मच्चायो, “एकजना बेलायती नागरिक “डा. टोम्मी रिओर्डन” गोरखाहरुका माग सम्बोधन गराउन गोरखासंगै आमरण अनशन बस्दैछन” भनेर। तर ‘डा. टोम्मी रिओर्डन’ को हुन्? कसैलाई थाहा भएन।
उनले बडो संयमता अपनाएर परिवारलाई बिदाई पत्र (Good bye letter) लेखेपछि आफ्नो मोबाइल फोन ट्र्याक गरिन्छ भनेर स्विच अफ गरी घर छाडेका थिए। निर्धारित समयमा अर्थात ७ नोभेम्बर २०१३ को अपरान्हबाट बृहत आमसभासहित आमरण अनशन आरम्भ भयो। जसमा ज्ञानराज राई, डा. टोम्मी रिओर्डन अनि बवी वास्सन थिए। नोभेम्बर महिनाको जाडो अनि प्रतिकूल मौसम, डाउनीङ स्ट्रिटको छेउमा खुल्ला आकाशमुनी, साँच्चि नै कष्टकर थिए ति जीवनका प्रत्येक पलहरु।
उनी अचानक बेखबर भएपछि, उनका परिवार चकित र चिन्तित भए, अनि तत्काल पुलिसमा रिपोर्ट गरे। पुलिसले बिभिन्न तरिका र प्रविधि अपनाएर खोज्न थाल्यो उनलाई। यसै क्रममा उनको मोबायल स्विच अफ हुनअघिको अन्तिम कलबाट ट्र्याक गरियो, त्यसबाट डाउनिङ स्ट्रिट लोकेट भयो। पुलिसले गोरखा सत्याग्रहका पदाधिकारीहरुलाई सम्पर्क गरेर अनशनमा “डा• डेभिड ओ’ हलोरान” नामका व्यक्ति छन् कि ? भनेर सोधे। जवाफमा त्यो नामका कोही व्यक्ति नभएको तर “डा. टोम्मी रिओर्डन” नामका व्यक्ति चाँही अनशनरत रहेको जानकारी गराइयो। यो कुरा सुनेपछि पुलिस र उनका परिवारले शंका गरे।
अनशनको दोश्रो दिन अनशनस्थल डाउनिङ स्ट्रिटमा अचानक उनकी श्रीमती र छोराछोरी पुलिससंगै आईपुगे। डाक्टर डेभिड धर्मसंकटमा परे। उनका छोराछोरी र श्रीमतीको अनुनय विनयका बावजुद पनि अनशन त्याग्न नमानी उनीहरुलाई सम्झाएर घर फर्काउन सफल भए। तर त्यसको भोलिपल्ट अनशनको तेश्रोदिन उनका लागि एउटा दु:खद खबर आयो हस्पिटलबाट! उनकी मामतामयी आमा अचानक सिकिस्त बिमारी भएर सघन उपचारकक्ष (आईसियू)मा पुगिसकेकी छिन भनेर। उनी ठूलो धर्मसंकटमा परे। अनशन तोडुँ, जीवनको सबैभन्दा महत्वपूर्ण कार्यबाट चुक्न पर्ने; अनसन नतोडुँ, आफ्नो ममतामयी आमाको जीवन- मरणको सवाल! उनले कुनै निर्णय लिनै नसकिरहेको बेलासंगै अनशन बसिरहेका ज्ञानराज राईले भने, “डाक्टर तपाईं आफ्नो जन्मदिने आमाको लागि जानैपर्छ। अनशन म पुरा गर्छु ।” यो कुरा उनलाई परिस्थिती अनुसार ठिकै लाग्यो। अनि अनशन छोडेर हस्पिटलतिर दगुरे। अत: यसरी तोडियो डा. डेभिड ओ’ हलोरान, उर्फ डा• टोम्मी रिअोर्डन को “आमरण अनशन” ३ दिनपछि।
अनशनको माध्यमबाट सबैभन्दा पहिला आफू मरेर अनशनकारी एक गोरखाको जीवन रक्षा गर्दै बाँकी आम गोरखाहरुलाई न्याय दिलाउने, उनको त्याग र बलिदानीपूर्ण निर्णय कार्यान्वयन हुन त पाएन। तर। त्यो नै आज हाम्रो लागि अति खुशीको बिषय बन्न पुगेको छ। किन कि हाम्रा लागि जीवन बलिदान गर्ने डाक्टर डेभिड ओ’ हलोरान, जस्ता अदम्य साहसी व्यक्ति हाम्रा असल मित्र गुमाउन परेन।
संक्षेपमा उनका बयानमा यि तलका तर्कहरु सशक्त र विस्तृत रुपमा एपिपिसी समक्ष प्रस्तुत गरेका थिए!
“२०० वर्षदेखि यो देश (बेलायत) को लागि जीवन वलिदान गरेका गोरखाहरुले बृद्धावस्थामा जीवन जिउन र आफ्ना नेपालमा रहेका सन्ततीलाई खर्च जुटाउन फेरी अर्को जीवन बलिदान गरिरहेका छन्। यो बेलायत सरकारको अति घृणित र मानव अधिकार हननको पराकाष्ट नै हो। बेलायत सरकारको गलत नीति नियमका कारण हाम्रा राष्ट्रसेवक वीर गोरखाहरु सधैंं पीडित र अपमानित हुँदै आएका छन्, भने हामी बेलायती नागरिकहरुको विश्वसामु शिर झुकेको छ।
पहिलो र दोश्रो विश्व युद्धमा मात्र २००,००० गोर्खाहरुले यो देशका लागि विश्वको बिभिन्न मुलुकहरुमा लडेका छन भने ४३,००० ले जीवन बलिदान गरेका छन्। घाइते र बेपत्ताहरुको यकिन तथ्याङ्क पनि छैन।
मैले यि सव कुराहरु भावनात्मक भएर भनिरहेको छैन। र म भावनामा बहकिएर आमरण अनशनमा गएको पनि हैन। यो यथार्थ र वाध्यता दुबै हो। त्यसैले गोरखाहरुलाई बेलायत सरकारले, यो वा त्यो बढाउने, मिलाउने हैन कि; ब्रिटिश सेनाहरुलाई जुन किसिमको सुविधा उपलव्ध छ त्यही सम्पूर्ण सुबिधाहरु क्षतिपूर्तिसहित तत्काल उपलव्ध गराउन जोड्दार माग गर्दछु।” भनेर उनले बयान टुङ्ग्याए।
उनका यि बयानमा एपिपिसीकी अध्यक्ष जेकी डोयल प्राइस र अर्का एमपीको गम्भीररुपमा ध्यानाकर्षण भईरहेको अनुभूत गर्न सकिन्थ्यो।
अन्त्यमा, गोरखा सत्याग्रह आन्दोलनलाई सही प्रमाणित गर्न र २०० वर्षदेखि बिभेदमा परेका गोरखाहरुलाई उद्धार गर्न, ‘कर्णल ह्यामिश आडम’ र ‘डाक्टर डेभिड ओ’ हलोरान’ जस्ता उच्च कोटिका बेलायती नागरिकहरुको अबर्णनीय साथ सहयोग, त्याग र बलिदानले एेतिहासिक भूमिका खेल्नेछ। र उहाँहरु सम्पूर्ण गोर्खाहरुको मन, मस्तिस्कमा सदा-सदा अमर बनेर रहिरहनु हुनेछ।
(लेखक गोरखा सत्याग्रह संयुक्त संघर्ससमिति (यूके, नेपाल)का प्रमुख संयोजक हुन्। सं. एचकेनेपाल डट कम)
यो पनि पढ्नुहोला
गोरखाली हृदय भएका कर्णल ह्यामिशले रुवाए हाउस अफ पार्लियामेण्टमा सबैलाई