भक्तपुर । उपत्यका व्यापी परम्परागत खुला बाँसुरी बाजा प्रतियोगिता २०८३ को ट्रफी बालाजुस्थित देवीस्थान बाँसुरी खलले उचालेको छ। उसले प्रथम हुँदै रु २५ हजार प्राप्त गरेको छ।
चाँगुनारायण नगरपालिका–९ ताथली फैढोकामा आयोजना गरेको प्रतियोगितामा उपत्यकाका विभिन्न क्षेत्रबाट आएका १३ टोलीका ३०० भन्दा बढी कलाकारको सहभागिता रहेको थियो । स्थानीय मौलिक संस्कृति, परम्परागत बाँसुरी बाजा तथा साङ्गीतिक सम्पदाको संरक्षण, सवर्द्धन तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा चन्द्रागिरिस्थित झिगु नेवाः बाँसुरी खलले द्वितीय हुँदै रु २० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।
त्यस्तै ताथलीस्थित खगां दाफा भजन खलले तृतीय हुँदै रु १० हजार, ट्रफी र प्रमाणपत्र तथा सरस्वती खेलस्थित ससु माजु बाँसुरी खलले सान्त्वनासहित रु पाँच हजार र प्रमाणपत्र प्राप्त गरेको छ । अन्तिम चरणसम्म पुगेर निर्णायकको छनोटमा पर्न सफल काठमाडौँको न्युरोडस्थित पाको पुखध्या मानन्धर खललाई प्रोत्साहन स्वरूप रु दुई हजार ५०० सहित प्रमाणपत्र प्रदान गरिएको थियो।
बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईँले आइतबार सम्पन्न कार्यक्रममा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । चाँगुनारायण नगरपालिका–९ का वडाध्यक्ष गणेश त्यातले प्रतियोगितामा भक्तपुर, काठमाडौँ, चन्द्रागिरि, गोकर्णेश्वर, बालाजु, सूर्यविनायकलगायत क्षेत्रका बाँसुरी बाजा टोलीहरूले आफ्नो कला, सीप र साङ्गीतिक परम्पराको उत्कृष्ट प्रस्तुति प्रदर्शन गरेको बताए।


