ठूलो दुर्घटनाबाट बच्यो हङकङ एयरलाइन्सको विमान, आगलागी भएपछि फुजोउमा आपतकालीन अवतरण..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २० मार्च। हङकङ एयरलाइन्सको एक विमान बिहीबार दिउँसो सामान राख्ने र्‍याकमा आगो लागेपछि फुजोउमा आपतकालीन अवतरण गर्न बाध्य भएको छ। हाङ्जोउबाट हङकङतर्फ उड्दै गरेको उडान नम्बर HX115 मा यो घटना भएको हो।

-

HX115 उडान नम्बरको यो विमान दिउँसो १२:५६ बजे हाङ्जोउ शियोशान विमानस्थलबाट हङकङतर्फ उडेको थियो र दिउँसो २:५६ बजे हङकङ पुग्ने तालिका थियो।

आगलागीको घटनामा कुनै मानवीय क्षति भएको छैन। पावरब्याङ्क (चार्जिङ डिभाइस)मा आगो लागेको आशंका गरिएको छ।

सामाजिक सञ्जालमा साझा गरिएका भिडियोहरूमा क्याबिन क्रु र यात्रुहरूले ओभरहेड कम्पार्टमेन्टमा रहेको एक झोलामा पानीका बोतलहरू खन्याइरहेको देखिन्छ, जहाँबाट धुवाँ निस्किरहेको थियो।

सामान राख्ने र्‍याकमा आगो लागेपछि क्याबिन क्रु र यात्रुहरूले आगो निभाए पनि पुन: सल्कन नदिन पानी र पेय पदार्थ खन्याइरहेका थिए। आगलागीका कारण र्‍याक पूर्णरूपमा कालो भएको छ।

एक यात्रुकी आमाले बताए अनुसार, र्‍याकबाट प्लेटको आकारको आगोको ज्वाला निस्केको देखिएको थियो। सुरुमा सबैजना स्तब्ध भए र दुईवटा सानो आगो निभाउने यन्त्र तत्कालै सकियो। सौभाग्यवश एक यात्रुले अन्य यात्रुहरूले दिएको बोतलको पानीले आगो नियन्त्रणमा लिन सफल भए। प्लास्टिक जलेको गन्ध क्याबिन भरि फैलिएको थियो।





Comments

comments

129895