हङकङले विमानभित्र पावर बैंक प्रयोग गर्न प्रतिबन्ध लगाउने..

आगलागीबाट ध्वस्त भएको दक्षिण कोरियाबाट हङकङ उड्न लागेको एयर बुसान विमान। पावर बैंक विस्फोट भएर आगलागी भएको अनुसन्धानले देखाएको थियो। फाइल फोटो

पशन तमू / एचकेनेपाल डट कम –
हङकङ, २४ मार्च। विमानभित्र आगलागीका घटनाहरु बढ्न थालेपछि हङकङको नागरिक उड्डयन विभाग (सीएडी) ले आगामी अप्रिल ७ देखि यात्रुहरूलाई उडानमा पोर्टेबल पावर बैंक प्रयोग गर्न वा चार्ज गर्न तथा ओभरहेड लगेज कम्पार्टमेन्टमा राख्न प्रतिबन्ध लगाउने भएको छ।

यो निर्णय यस वर्षको सुरुमा बुसान (दक्षिण कोरिया) बाट हङकङतर्फको उडानमा पावर बैंक विस्फोट भएर आगलागी भएको घटनालगायत विभिन्न सुरक्षा घटनाहरूपछि लिइएको हो।

गत महिना यात्रुहरूले विमानमा ल्याउन सक्ने वस्तुहरूको नियमन कडाइका साथ लागू गर्न हवाई उद्योगलाई सम्झाउने सूचना जारी गरेपछि, नागरिक उड्डयन विभागले गत शुक्रबार (२१) स्थानीय एयरलाइन्सका प्रतिनिधिहरूसँग बैठक गरी हवाई सुरक्षा थप बढाउन बाह्य चार्जर वा “पावर बैंक” को प्रयोगसम्बन्धी अपडेट गरिएका आवश्यकता र नियमहरू घोषणा गरेको छ।

नवीनतम आवश्यकताअनुसार, स्थानीय एयरलाइन्सहरूले यात्रुहरूले विमानमा ल्याउन सक्ने वस्तुहरूको सम्बन्धमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको नियमहरूको पालना गर्नुपर्नेछ। आगामी महिनाको ७ तारिखदेखि यात्रुहरूलाई उडानको क्रममा बाह्य चार्जरहरू प्रयोग गरेर अन्य पोर्टेबल इलेक्ट्रोनिक उपकरणहरू चार्ज गर्न वा बाह्य चार्जरहरू आफैं रिचार्ज गर्न अनुमति दिइने छैन, न त उनीहरूले बाह्य चार्जरहरू ओभरहेड कम्पार्टमेन्टहरूमा राख्न सक्नेछन्।

हाङ्जोउबाट हङकङतर्फ उड्दै गरेको विमानको ओभरहेड कम्पार्टमेन्टमा रहेको एक झोलामा भएको आगलागी।

हवाई यातायातमा लिथियम ब्याट्रीको जोखिमबारे विश्वव्यापी जाँच बढिरहेको बेला यो निर्णय आएको हो। गत बिहीबारको एक घटनामा हाङझाउबाट हङकङतर्फ आउंदै गरेको हङकङ एयरलाइन्सको A320 उडान ओभरहेड कम्पार्टमेन्टमा आगलागी भएपछि फुझाउमा डाइभर्ट गर्न बाध्य भएको थियो। जसको कारण यात्रुले बोकेको पावर बैंक भएको अनुमान गरिएको थियो।





Comments

comments

129962