हङकङमा नेपालको जितसंगै र दीपेन्द्रसिंह ऐरीको विश्व कीर्तिमान..

दीपेन्द्रसिंह ऐरी, तस्बिर : क्यान

एचकेनेपाल डट कम –
हङकङ, १० अप्रिल। नेपाली क्रिकेट टोलीले हङकङमा जारी चारदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार दोस्रो विजय हासिल गरेको छ । साथै, नेपाली स्टार खेलाडी दीपेन्द्रसिंह ऐरीले विश्व कीर्तिमान कायम गर्दै इतिहास रचेका छन्।

मङ ककस्थित मिसन रोड ग्राउन्डमा भएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गर्‍यो । कुशल भुर्तेल र आसिफ शेखको उत्कृष्ट ब्याटिङले नेपाललाई सहज जित दिलायो । भुर्तेलले ५० बलमा ८१ रनको विस्फोटक पारी खेले भने, शेखले ५३ रनको योगदान दिए।

ऐरीको विश्व कीर्तिमान
यस खेलसँगै दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ विश्व कीर्तिमान कायम गरे । उनी लगातार ६६ पारीसम्म डक आउट नहुने पहिलो ब्याट्सम्यान बने, जसले वेस्ट इन्डिजका मार्लोन सामुएल्सको ६५ पारीको रेकर्ड तोडे । कुवेतविरुद्धको खेलमा ऐरीले १२ बलमा ३१ रनको आक्रामक पारी खेल्दै टोलीको जितमा महत्वपूर्ण भूमिका निभाए।

नेपालले यसअघि कतारलाई पनि पराजित गरेको थियो । अब १२ अप्रिलमा घरेलु टोली हङकङविरुद्ध खेल्नेछ । लगातार दुई जितसँगै नेपालको सिरिज जित्ने सम्भावना बलियो बनेको छ।





Comments

comments

130410