न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १४ मे । हङकङको व्यस्त व्यापारिक क्षेत्र चिम शा चुईमा एक महिलाले अर्को महिलालाई कैंचीले आक्रमण गरेको छ। आज दिउँसो करिब २:४३ बजे क्यान्टन रोड र पेकिङ रोडको चोकमा घटना भएको हो।
२० वर्षीया एक महिलाले अचानक आवेगमा आएर कैंचीले यात्रुहरूमाथि आक्रमण गर्दै हिडेकी थिइन्। एक महिला यात्रीको हात र मुखमा चोट लागेको छ। आरोपी महिला याउ मा तेई तर्फ भागेकी थिइन्।
प्रहरीले घटनास्थल वरिपरि खोजी गरी महिलालाई न्यु सन प्लाजा नजिकैबाट पक्राउ गरेको छ। घटनास्थलमा आरोपी महिलाको इको-ब्याग र अन्डरवियरको प्याकेट फेला परेको छ। घाइते महिलालाई उपचारका लागि क्वोङ वाह अस्पताल लगिएको छ।
पीडित महिला वोङले सौन्दर्य क्षेत्रमा काम गर्छिन् र उनले आरोपीलाई चिन्दैनन्। बिदाको दिन साथीसँग खाना खान चिम शा चुई गएकी थिइन्। साथीको प्रतीक्षा गर्दा आरोपी महिलाले उनलाई लात हानेकी थिइन्। जब वोङले किन आक्रमण गरेको भनी सोधेलगत्तै आरोपीले झोलाबाट कैंची निकालेर आक्रमण गरेकी थिइन्।