काठमाडौँ । परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल र चीनबीच सदियौँदेखि रहिआएको गहिरो मित्रवत् सम्बन्ध पछिल्लो समय जनस्तरमा समेत प्रगाढ हुँदै गएको बताएका छन्।
नीति अनुसन्धान प्रतिष्ठानद्वारा आज आयोजित ‘नेपाल–चीनबीचको सम्बन्ध र सम्भावनाको समीक्षा’ विषय गोष्ठीको उद्घाटन सत्रमा उनले चीन नेपालको विश्वासिलो र भरपर्दो छिमेकी मित्र भएको स्पष्ट पारे । उनले भने, “नेपाल–चीन आर्थिक, सामाजिक, सांस्कृतिक एवं परम्परागत सम्बन्ध रहिआएको घनिष्ट मित्रराष्ट्र हुन् । हामीले एक अर्काको चासो र सवेदनशीलतालाई बुझ्नुपर्छ, नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ, नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने नेपालको स्पष्ट नीति रहिआएको छ।”
नेपाल र चीनले एक अर्काका आकाङ्क्षालाई सम्मान गर्दै आएको स्मरण गर्दै उनले नेपालको सार्वभौमसत्ता र भौलोगिक अखण्डता एवं राजनीतिक स्वतन्त्रताप्रति चीनले लिँदै आएको नीतिप्रति आभार व्यक्त गरे।
सचिव राईले मित्रराष्ट्रको समृद्धिका लागि चीनका लागि राष्ट्रपति सी चिनफिङ्ले अगाडि बढाउनुभएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) मार्फत दुई देशबीचको सम्बन्ध बहुआयामिक तहमा विस्तार हुँदै गएको बताए।
नेपालस्थित चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सिनले विगत ७० वर्षदेखि नेपाल र चीनबीच रहिआएको कूटनीतिक सम्बन्ध जनतस्तरसम्म पुगेको र यसले दुवै देशको चासोलाई सम्बोधन गर्दै आएको बताए।
नेपालको पूर्वाधार, स्वच्छ ऊर्जा, पावर ग्रिडजस्ता आयोजनामा चीनले नेपाललाई सहयोग गर्दै आएको र बिआरआइमार्फत नयाँ आयोजना अगाडि बढेको उल्लेख गर्दै उनले आगामी दिनमा द्विपक्षीय सहयोग र सहकार्य थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । चीनले नेपाललाई सधैँ समान र सहअस्तित्वको भावनाबाट सम्मान गर्दै आएको स्पष्ट पार्दै उपप्रमुख वाङले एकअर्काको आपसी चासोलाई दुवै देशले अन्तरमनबाट सहयोग गरिरहेको बताए।