हङकङको एमटीआरभित्र नक्कली बन्दुक बोकेर हिडेका पर्यटक पक्राउ

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २० मे । चीनबाट आएका एक पर्यटकलाई एमटीआर यात्राको क्रममा नक्कली राइफल र हातहतियार बोकेको आरोपमा पक्राउ गरिएको छ।

सोमबार बिहान करिब ६:४० बजे चिम शा चुई एमटीआर स्टेशनको प्लेटफर्ममा संदिग्ध हतियारसहित एक व्यक्ति देखिएकोबारे प्रहरीले रिपोर्ट प्राप्त गरेको थियो।

सीसीटीभी फुटेज हेरेपछि प्रहरीले जोर्डन स्टेशनबाट बाहिर निस्केर शंघाई स्ट्रीटतर्फ गएका संदिग्ध व्यक्तिलाई दिउँसो करिब २ बजे वुसुङ स्ट्रीटबाट नियन्त्रणमा लिएको छ। प्रहरीले उनको होटल कोठाबाट दुईवटा नक्कली हतियार, म्यागजिन, एयरसफ्ट कम्प्रेसर र एयरसफ्ट पेलेट्स बरामद गरेको छ।

३६ वर्षीय ती व्यक्तिलाई नक्कली हतियार राखेको आरोपमा पक्राउ गरिएको छ र थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

सूत्रका अनुसार पक्राउ परेका व्यक्तिले आफू बेरोजगार रहेको र आइतबार हङकङ आएको बताएका छन्। उनले कोउलुनको एक एयर गन पसलबाट नक्कली हतियार किनेको र प्रहरीले उनको उद्देश्यबारे अनुसन्धान गरिरहेको जनाइएको छ।

उक्त व्यक्ति कुनै संगठनमा संलग्न रहेको वा हतियार प्रयोग गरी आक्रमण गर्ने योजना बनाएको कुनै प्रमाण भेटिएको छैन। रिपोर्टमा संलग्न बन्दुक प्रयोग नगरिएको पनि उल्लेख गरिएको छ।

आग्नेयास्त्र तथा खरखजाना अध्यादेश अनुसार नक्कली हतियार राख्नेलाई दुई वर्षसम्म कैद हुन सक्ने प्रावधान रहेको छ।





Comments

comments

131249