सडेको अवस्थामा भेटियो पाकिस्तानी अभिनेत्रीको शव

कराँची । पाकिस्तानी मोडेल तथा अभिनेत्री हुमैरा असगर अली कराँची सहरस्थित आफ्नै फ्ल्याटमा मृत अवस्थामा फेला परेकी छिन्। प्रहरीका अनुसार अभिनेत्रीको शव ८ जुलाईमा सडेको अवस्थामा फेला परेको थियो। विशेषज्ञहरूले उनको मृत्यु लगभग छ महिना अघि नै भएको अनुमान गरेका छन्।

एसएसपी साउथ मेहरोज अलीका अनुसार हुमैरा अली लाहोरकी स्थायी बासिन्दा थिइन् र सन् २०१८ देखि कराँचीको इत्तेहाद कमर्सियल एरियास्थित चौथो तलाको फ्ल्याटमा एक्लै बस्दै आएकी थिइन्। उनी सन् २०२४ देखि फ्ल्याटको भाडा नतिरेको कारण घरधनीले अदालतमा मुद्दा दायर गरेका थिए।

छिमेकीहरूका अनुसार उनको अपार्टमेन्टबाट केही समयदेखि नराम्रो गन्ध आइरहेको थियो। साथै, उनी लामो समयदेखि बाहिर देखिएकी थिइनन्। अवस्था शंकास्पद लागेपछि छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए।

अदालतको आदेशमा मंगलबार राति घरधनी, प्रहरी र अदालतका बेलिफ (सामान जफत गर्ने अधिकारी) फ्ल्याटमा पुगेका थिए। ढोका भित्रबाट बन्द देखिएपछि फलाम र काठको ढोका तोडेर प्रवेश गर्दा हुमैरा अलीको शव भुइँमा लडिरहेको अवस्थामा फेला परेको थियो।

प्रहरीले उनको शव कराँचीस्थित जिन्नाह पोस्ट ग्राजुएट मेडिकल सेन्टरमा पठाएको छ। मेडिकल सेन्टरकी डाक्टर सुमैया सैयदका अनुसार शव नराम्ररी सडेकाले मृत्युको सही कारण पत्ता लगाउन समय लाग्न सक्ने बताएकी छन्। फोरेन्सिक टोलीले घटनास्थलको सूक्ष्म जाँच गरिरहेको छ।

आश्चर्यजनक रूपमा, अभिनेत्रीका परिवारजनले उनको शव लिन अस्वीकार गरेका छन्। यस घटनाले पाकिस्तानको मनोरञ्जन क्षेत्रमा एक पटक फेरि शोकको लहर फैलाएको छ।

करिब ३२-३५ वर्षीया हुमैरा असगर ‘एक था बादशाह’ र ‘जलेबी’ जस्ता लोकप्रिय पाकिस्तानी नाटकहरूमा अभिनय गरेकी थिइन्। कराँची प्रहरीले पोस्टमार्टम रिपोर्ट नआउन्जेल कुनै पनि प्रकारको हल्ला र अनुमानबाट बच्न जनता र सञ्चारमाध्यमलाई अपिल गरेको छ। (एजेन्सीहरुको सहयोगमा)





Comments

comments

131987