कोलोराडोमा नेपाली सांस्कृतिक केन्द्र सञ्चालनका लागि सामुदायिक सहकार्य परिषद गठन

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। कोलोराडोवासी नेपालीभाषी सामाजिक संघ संस्थाहरूको आर्थिक र भौतिक योगदानबाट निर्माणाधीन नेपाली सांस्कृतिक केन्द्रलाई व्यवस्थित रूपमा सञ्चालन गर्न शुक्रवार सामुदायिक सहकार्य परिषद गठन गरिएको छ।

नेपालीभाषी समुदाय र सामाजिक संघ संस्थाबीच समन्वयका साथै कार्यगत एकताबाट निर्माण भइरहेको नेपाली सांस्कृतिक केन्द्र (नेपाली घर) लाई सामूहिक प्रयत्नबाट सञ्चालनका लागि सामुदायिक सहकार्य परिषद गठन गरिएको हो।

नेपालीभाषा संस्कृतिको जगेर्ना गर्दै पुस्तान्तरण गर्न, नेपाली समाजलाई अमेरिकी प्रणालीसँग परिचित गराउँदै मूल अमेरिकी समाजमा चिनाउन, विविध चाडपर्व कार्यक्रमहरू सञ्चालन गर्न स्थापित नेपाली सांस्कृतिक केन्द्र (नेपाली घर) सबैको साझा सम्पत्ति हो। यसप्रति नेपाली समुदायको अपनत्वको भावना जागृत गराउँदै वित्तीय रूपमा समेत दिगो तरिकाले सञ्चालन गर्नुपर्ने वास्तविकतालाई आत्मसात गर्दै नेपालीभाषी समुदायसँगको पटक-पटकको अन्तरक्रिया र सुझावलाई मनन गरी नेपाली घरको संशोधित विधानको दफा ८ बमोजिम सामुदायिक सहकार्य सल्लाहकार परिषद गठन गरिएको हो।

परिषदमा नेपाली सांस्कृतिक केन्द्र निर्माणका लागि आर्थिक सहयोग गरेका दाताहरू, विविध पेशा र व्यवसायमा संलग्न व्यक्तिहरू, स्थानीय विषय विज्ञ तथा बुद्धिजीवीहरू र औपचारिक एवं सक्रिय रूपमा कोलोराडोमा सेवारत गैरनाफामूलक सामाजिक संघसंस्थाहरूको सहभागिता रहने प्रावधान छ। सोही अनुसार व्यापक प्रतिनिधित्व हुनेगरी एकै पटकमा परिषद गठन गर्न व्यावहारिक र समयको कारणले कठिनाई परेकाले परिषद पूर्णताको कार्यलाई क्रमिक र चरणबद्ध रूपमा सम्पन्न गर्ने गरी प्रथम चरणमा समाजसेवी डा. विजयराज शर्माको संयोजकत्वमा कोर समूह गठन गरिएको हो।

यसरी गठित कोर समूहका अन्य सदस्यहरूमा सामाजिक अभियन्ताहरू रामप्रसाद श्रेष्ठ, नारायण श्रेष्ठ, नवीन दत्त, डा. संगीता श्रोत्रिय, पदम विश्वकर्मा, पुरुषोत्तम पाण्डे, मणी दहाल, रोहिणीकुमार शर्मा, टीका सिटौला, सुनिल पाठक, दिनेश भट्टराई, डा. आनन्द पौडेल, योगराज गौतम, लछुमन राना र जगदिशचन्द्र ढकाल सदस्य सचिव रहेको सामुदायिक सहकार्य परिषद कोर समूह गठन गरिएको नेपाली घरका निवर्तमान अध्यक्ष जगदिशचन्द्र ढकालले बताएका छन्।

परिषदलाई क्रमिक रूपमा विस्तार गर्दै सामुदायिक सहकार्य परिषद गठनलाई पूर्णता दिने सर्वाधिकार पनि कोर समूहमा रहेको छ। सोही मुताबिक सामुदायिक सहकार्य परिषद कोर समूहले कोलोराडोमा सक्रिय सामाजिक संघ संस्थाहरूलाई परिषदमा सहभागिताको लागि यही अगष्ट १७ तारिख आइतबार दिउँसो २ बजे नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा बृहत् बैठकको आयोजना गरेको निवर्तमान अध्यक्ष ढकालले बताएका छन्।





Comments

comments

132468